२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रविको दुखेसो- शुभचिन्तक बाटो कुरिरहेछन्, म भने तारिख धाउँदै छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्वाचनमय बनेको बेला आफू भने अदालतको चक्कर काट्नुपरेको भन्दै दुखेसो पोखेका छन्।

मंगलबार देशभर उम्मेदवारी मनोनयनको रौनक चलिरहँदा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफूमाथि पाप र अत्याचार भएको टिप्पणी गरेका हुन्।

उनले एकै दिन देशका तीन जिल्लाका अदालतमा आफ्नो मुद्दाको सुनुवाइ परेकाले चुनावी उत्साहमा सहभागी हुन नसकेको बताए।

पर्सा जिल्ला अदालतबाट निस्किएलगत्तै उनले लेखेका छन्, ‘बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन। किनकी आजै देशका तीनवटा पर्सा, काठमाण्डौ र रूपन्देही अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ।’

चितवन क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिने तयारीमा रहेका लामिछानेले आफू समयमै पुग्न नसके वारेस मार्फत मनोनयन दर्ता गराउने जानकारी दिएका छन्।

‘चितवन-२ मा मेरा शुभचिन्तक बाटो कुरिरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफैं उपस्थित हुने प्रयासमा छु,’ उनले भनेका छन्, ‘नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ।’

लामिछानेले आफूमाथि लगाइएका मुद्दाहरूलाई प्रतिशोधपूर्ण कदम भएको बताए। सहकारीको बाटो नै नहिँडेको व्यक्तिलाई गनिसाध्य मुद्दा लगाइएको भन्दै उनले आक्रोश पोखे।

‘नभएको प्रमाण छ भन्ने पापी हौ तिमीहरू,’ उनले भनेका छन्, ‘सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौं।’

आफूलाई महाभारतको पात्र अभिमन्युसँग तुलना गर्दै उनले विरोधीहरूलाई सबै अपराधी एक ठाउँमा जम्मा भएर आफूमाथि प्रहार गरे पनि आफू चक्रव्यूह तोडेर निस्कने संकेत गर्दै उनले भने, ‘फेरि पनि भन्छु, म अभिमन्यु होइन।’

उनले आफूलाई जिउँदो छोडेर विरोधीले गुण लगाएको भन्दै सो गुण चाँडै र बिना प्रतिशोध तिर्ने चेतावनी समेत दिएका छन्।

साथै, उनले आगामी फागुन २१ गतेको निर्वाचनमा जनताले घण्टी बजाएर आफूमाथि भएको अन्यायको हिसाबकिताब गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ६ माघ २०८२ १७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App