२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिहारमा नीतीश युगको अन्त्य: दुई दशकपछि सत्ताबाट बाहिरिए

बिहारका मुख्यमन्त्री नीतीश कुमारले आफ्नो राजनीतिक भविष्यलाई लिएर चलिरहेका अड्कलबाजी अन्त्य गर्दै राज्यसभा सदस्यका लागि मनोनयन पुष्टि गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएसँगै दुई दशकदेखि बिहारको सत्तामा कायम उनको दबदबा अन्त्य हुने निश्चित भएको छ। नीतीशले लेखेका छन्, ‘दुई दशकभन्दा बढी समयदेखि, तपाईंले ममाथि निरन्तर आफ्नो विश्वास र समर्थन कायम राख्नुभएको छ, र त्यसैको बलमा हामीले पूर्ण वफादारीका साथ बिहार र तपाईंहरू सबैको सेवा गरेका छौं।’ 

उनले अगाडि थपेका छन्, ‘मैले मेरो संसदीय जीवन सुरु गरेदेखि नै मलाई बिहार विधान सभाको दुवै सदनका साथै संसदको दुवै सदनको सदस्य बन्ने इच्छा थियो। यसै क्रममा, म यस चुनावमा राज्यसभाको सदस्य बन्न चाहन्छु।’

नीतीशले नयाँ बन्ने सरकारलाई आफ्नो पूर्ण समर्थन र मार्गदर्शन रहने समेत बताए। सन् २००५ देखि बिहारको सत्तामा निर्णायक शक्तिको रूपमा रहेका नीतीश सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने व्यक्ति हुन्।

यो घोषणापछि विभिन्न प्रतिक्रिया आएका छन्। भाजपा नेता एवं उपमुख्यमन्त्री सम्राट चौधरी र लोजपा (आर) का नेता चिराग पासवानले उनलाई बधाई दिएका छन्। केन्द्रीय मन्त्री गिरिराज सिंहले नीतीश आफ्नै इच्छाले राज्यसभा जान लागेको बताए।

यता विपक्षी दलहरूले भने यसलाई कटाक्ष गरेका छन्। कांग्रेसले यसलाई जनताप्रतिको ‘विश्वासघात’ भनेको छ। आरजेडी नेता मृत्युंजय तिवारीले यसलाई ‘राजनीतिक अपहरण’ को संज्ञा दिँदै भाजपाले जेडीयूलाई ध्वस्त पारेको आरोप लगाए। आरजेडी सांसद मनोज झाले नीतीशको पोस्ट दिल्लीबाट आएको दाबी गरे भने जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले चुनावको तीन महिनामै नीतीशको यो निर्णय हुनु उल्लेखनीय भएको बताए।

बिहीबार बिहान जेडीयूका कार्यकर्ताले नीतीशलाई नै मुख्यमन्त्री कायम राख्नुपर्ने माग गर्दै उनको निवास बाहिर प्रदर्शन समेत गरेका छन्। 

प्रकाशित: २१ फाल्गुन २०८२ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App