२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

काभ्रेमा मतगणनाको तयारी

काभ्रेपलाञ्चोकमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ६०.४२ प्रतिशत मत खसेको छ।

जिल्लाको कुल मतदातामध्ये एक लाख ९७ हजार ३४१ मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कुल मतदाता तीन लाख २६ हजार ६११ मध्ये एक लाख चार हजार ५१२ पुरुष र ९२ हजार ८२९ महिलाको मत खसेको हो। एक लाख २९ हजार २७० मतदाता मतदानमा सहभागी नभएको कार्यालयको तथ्याङ्कले देखाएको जनाइएको छ।

यसैबीच, मतदानस्थलबाट आइपुगेका मतपेटिका रुजु गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत पे्रमप्रसाद न्यौपानेले बताए।

उनका अनुसार प्रतिनिधिसभा क्षेत्र नं-१ को महाभारत, खानीखोला, तेमाल र चौँरीदेउरालीको मतपेटिका ल्याइँदै गरिएको छ भने प्रतिनिधि क्षेत्र नं-२ को भुम्लु र बेथानचोक गाउँपालिकाको मतपेटिका ल्याउने काम भइरहेको छ।

दुवै क्षेत्रका सम्पूर्ण मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेपछि आजैदेखि मतगणना सुरु गरिने न्यौपानेले जानकारी दिए।

उनका अनुसार जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४०० मतदान केन्द्र र एक सय ८९ मतदानस्थल कायम गरिएका थिए।

कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको क्षेत्र नं-१ मा १८ र क्षेत्र नं-२ मा २४ ले उम्मेदवारी दर्ता भएको थियो। यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App