३ चैत्र २०८१ आइतबार
image/svg+xml १७:५७ अपराह्न
कला

व्याकरणमणि चूडामणि

‘ग्रामर गुरु’ भनेर चिनिने नेपाली भाषाविद् चूडामणि गौतमको ८२ वर्षको उमेरमा सोमबार मृत्यु भएसँगै नेपाली भाषाले ‘व्याकरणमणि’ गुमाएको छ। मृत्युसँगै उनको पार्थिव शरीर भूतकाल बन्यो। उनका कृतिहरू वर्तमानमा चम्कनेछन्। यी भविष्यत् कालमा पनि पढिनेछन्।

इङ्लिस ग्रामरसँगै नेपाली व्याकरणमा सुरिलो सास भर्ने यी अभियन्ता फोक्सोमा पानी जमेर दुई साताअघिदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतमको राजधानीमा मृत्यु भएसँगै सिंगो देश शोकमग्न छ। उनी नेपाली समाजलाई अंग्रेजीको स्वाद चखाउने र नेपाली भाषाको पाठ जगाउने गुरुका रूपमा चिनिन्छन्। ‘उनले २०३७ सालतिर प्रकाशित गरेको अंग्रेजी व्याकरणले त्यतिबेलाको अपरिचित भाषालाई बुझाउन निकै सहयोग पुर्‍यायो,’ भाषाविद् शरच्चन्द्र वस्ती भन्छन्, ‘पछिल्लो समय उनले भाषाको मूल मर्म जोगाउन गरेको प्रयासले सिंगो नेपालीलाई गौरान्वित बनाएको छ।’

एउटै व्यक्तिले अंग्रेजी र नेपाली भाषामा अतुलनीय योगदान गरेका कारण गौतम नेपाली समाजका लागि आदर्श बनेर रहेको वस्तीले बताए। ‘उनले नेपाली भाषाको पक्षमा गफ मात्र गरेनन्, कृति लेखेर आन्दोलन गरे,’ वस्ती भन्छन्, ‘उनको कृतिको डुंगामा नेपाली भाषा तैरिरहनेछ।’

उनी २०६७–६८ सालयता नेपाली भाषाको रक्षाका लागि निरन्तर लागिरहेको वस्ती सुनाउँछन्। ‘उनले नेपाली भाषाका लागि झन्डै चार वर्ष सबै काम छाडेर पुस्तक तयार गर्नुभयो,’ वस्तीले भने, ‘उनले लेखेको बृहत्तर नेपाली शब्दकोश नेपाली भाषाका लागि अमूल्य उपहार बनेको छ।’

गौतमले २०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए। उनको निधनमा उनका पाठकहरूले शोक व्यक्त गरेका छन्। ‘चूडामणि गुरुले लेख्नुभएको ग्रामर पढेर हुर्कियौं,’ सामाजिक सञ्जालमा पुष्पक थापा लेख्छन्, ‘जीवनभर सम्झनामा रहने चूडामणि इङ्लिस ग्रामरका सर्जक, नेपाली भाषाको व्याकरण, शब्दकोशका लेखक गुरु गौतमको मृत्युको खबरले स्तब्ध छौं।’

जोरपाटीका विनय घिमिरेले पनि गौतम ग्रामर पढेर अंग्र्रेजी सिकेको बताए। ‘त्यतिबेला धेरैको घरमा उनको ग्रामर किताब हुन्थ्यो,’ ५९ वर्षीय घिमिरेले भने । २०३७ सालपछि विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘गौतमको अंग्रेजी व्याकरण’को ख्यातिले चिनिएका चूडामणि गौतमले व्याकरण, हिज्जे, शब्दकोशसहित सयभन्दा बढी किताब लेखेका छन्। उनले गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश लेखे। त्यसैगरी नेपाली–इङ्लिस डिक्सनरी, राम्रो अंग्र्रेजी बोलचाल अभ्यास, नेपाली शब्दको दुर्दशा, फूलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोशलगायत भाषासम्बन्धी पुस्तक लेखेका छन्।

भाषामाथि विभिन्न बहानामा भएको खेलबाड उनको पुस्तकका कारण निस्तेज भएको थियो। ‘भाषाको वर्णविन्यास, लेखनशैली र व्याकरणमा परिवर्तन गर्ने दुष्कार्यले भाषाको विनाश गर्छ,’ २०८१ भदौ १५ गतेको नागरिक दैनिकमा उनले लेखेका थिए, ‘भाषालाई मनलाग्दी ढंगले चलाउन मिल्दैन।’

प्रकाशित: १४ फाल्गुन २०८१ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App