४ चैत्र २०८१ सोमबार
image/svg+xml ७:५३ पूर्वाह्न
कला

मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ!

मुक्तक

१) मुक्तक

प्रेमले जति मन अरू कुनै कुराले छुनै सक्दैन

मायाले जति हृदय कुनै साबुनले धुनै सक्दैन

प्रेम शाश्वत हो सत्यम शिवम सुन्दरम यो

प्रेमभन्दा पवित्र मन्दिर कहीं कतै हुनै सक्दैन।

२) मुक्तक

कहिले भाषा दुखायो कहिले भेष दुखायो रोयो

छातीभरि संस्कृति दुखायो घरदेश दुखायो रोयो

रुनुको विकल्प रहेन हजुर यो मुगलानेलाई अब

आँखाभरि भग्नावशेष देशको अवशेष दुखायो रोयो।

३) मुक्तक

लाग्थ्यो प्रेम भनेको बिनाशर्त गरिने स्वअर्पण रहेछ

दुई थुँगा रँगिन गुलावहरूको रुमानी समर्पण रहेछ

तर जसरी हेरूँ म त तिमीमा ईश्वर नै देख्छु, अहो

आत्मासँग आत्माको प्रेम त ईश्वरीय दर्पण रहेछ।

४) मुक्तक

सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ

चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ

मात्र एक महिना सिनामंगलमा रोक्न सके

सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।

५) मुक्तक

शिरपोश बनाऊ या पाऊपोश तिमीसँगै चल्न सकूँ

यो देह केवल तिम्रै नासो हो तिमीसँगै गल्न सकूँ

यदि ममा कुरूप काँडै काँडा मात्र देख्छौ भने प्रियतम

तिम्रै गमलामा ड्र्यागनफ्रुट भै बाह्रैमास फल्न सकूँ।

६) मुक्तक

निर्बाध उडान भर्न सक्ने चरा हुनु पो जिन्दगी

स्वाभिमानमा अटल पहरा हुनु पो जिन्दगी

शिखर चढ्दा ताली बज्नु नौलो के नै भो र

झर्दा पनि गाउँदै झर्ने छहरा हुनु पो जिन्दगी।

७) मुक्तक

बेरोजगारले धन गाड्ने, रोजगारले खान नपाउने देश हो यो

कोही शहरैभरि महल ठड्याउने देख्नेले गन्न नपाउने देश हो यो

जहाँ पाप त्यहीं फलिफाप छ, गजब छ, गणतन्त्रको यो फल

गर्नेले जे गर्न पनि पाउने, तर देख्नेले भन्न नपाउने देश हो यो।

८) मुक्तक

चल्न त चल्छ कोमामै हुँदा पनि विश्वासको धड्कन चल्छ

सुकेको थांक्रामा भीरको तान्द्रामा पनि आशा फुल्छ फल्छ

विचरा यो जिन्दगी पनि झुन्डेको कांक्रा जस्तै त रहेछ हजुर

थाहा छैन आफ्नैले कतिबेला छुरा धसेर नुन खुर्सानी दल्छ।

९) मुक्तक

आज पनि कति सिताहरू मन्दोदरीहरू हरणमा परेको छ

साँच्चै यो समय हो कि कुसमयले हो गर्नु नगर्नु गरेको छ

कान्तिपुरी नगरी नै स्वर्णपुरी बनेपछि यस्तो लाग्दैछ कि

आजकल रावणको लंका मेरै देश नेपालमा सरेको छ।

१०) मुक्तक

थाहा छ यो अप्ठ्यारो बाटो हो यही रोज्दैछु म

तिमी नै यात्रा र मंजिल हौ मेरो यही सोंच्दैछु म

यो मायाको भवसागरमा फेरि डुब्न नपरोस् भनी

तिमीलाई अनन्त प्रेम गरेर यहीं मोक्ष खोज्दैछु म।

प्रकाशित: १० फाल्गुन २०८१ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App