४ चैत्र २०८१ सोमबार
image/svg+xml १०:३५ पूर्वाह्न
समाज

हलेसी र दिक्तेलको कालिका भगवतीलाई धार्मिक पर्यटनमार्फत जोड्ने तयारी

<br>

किरात, हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको खोटाङको हलेसी र सदरमुकाम दिक्तेलस्थित कालिका भगवती मन्दिरलाई धार्मिक पर्यटनमार्फत जोड्ने तयारी थालिएको छ।

यसै सन्दर्भमा, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धार्मिक पर्यटकीय प्रवद्र्धनका लागि आपसी सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार भारतबाट हेलिकोप्टरमार्फत हलेसी आएका धर्मगुरु स्वामी १००८ कृष्णानन्द जी महाराज (कालिदास बाबा) को उपस्थितिमा दुवै नगरका प्रमुखहरूले यो घोषणा गरेका हुन्।

कालिदास बाबाले हलेसी दर्शनपछि दिक्तेलस्थित कालिका भगवती मन्दिर पुगेका थिए। त्यहाँ आयोजित कार्यक्रममा उनले हलेसी हिन्दू, किरात र बौद्ध धर्मावलम्बीहरूका लागि प्रख्यात तीर्थस्थल भए पनि कालिका भगवती मन्दिरको पर्याप्त प्रचारप्रसार हुन बाँकी रहेको बताए। उनले दुवै धार्मिक स्थललाई आपसमा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुझाव दिएका थिए।

स्वामी कालिदासका अनुसार पहिले हलेसी दर्शन गरेर, त्यसपछि कालिका भगवती मन्दिरको पूजा गरे मात्र पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। "हलेसी मात्र दर्शन गरेर वा कालिका भगवतीको पूजा गरेर मात्रै पुण्य प्राप्त हुँदैन। दुवै स्थानको दर्शन गरे मात्र मनोकामना पूरा हुन्छ," उनले भने।

धर्मगुरुको सुझावअनुसार हलेसी तुवाचुङ नगरप्रमुख विमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई ले दुवै धार्मिक स्थललाई पर्यटन प्रवद्र्धनमार्फत जोड्ने प्रतिबद्धता जनाएका छन्।

कालिदास बाबालाई सम्मान गर्दै मेयर भट्टराईले भने, "स्वामीजीको दर्शन प्राप्त गर्नु हाम्रो लागि सौभाग्य हो। उहाँको आशीर्वादले कालिका भगवती मन्दिरको प्रचारप्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ।"

किम्बदन्तीअनुसार विक्रम संवत १७५० मा स्थानीय रणवीर राई र विरञ्ची आचार्यले एकै रात एउटै सपना देखेका थिए, जसअनुसार पछ्याउँदै जाँदा मझुवामा कालिका भगवती मन्दिरको अवलोकन भएको थियो।

कालिका भगवती मन्दिर ऐतिहासिक स्थल मझुवागढीको नजिकै रहेको छ। यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ। हरेक वर्ष हजारौँ भक्तजन यहाँ बलिसहित पूजा गर्ने परम्परा रहिआएको छ।

कालिदास बाबाले हलेसी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आफूले सक्दो पहल गर्ने वचन दिएको हलेसी तुवाचुङ नगरप्रमुख विमला राईले जानकारी दिइन्।

प्रकाशित: ३ चैत्र २०८१ २१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App