मानिसको पहिलो परिचय भनेकै उसको नाम हो। उसलाई नामबाटै बोलाइन्छ, नामबाटै चिनिन्छ। हरेक व्यक्तिका लागि आफ्नो नाम प्यारो हुन्छ। हाम्रो जीवनमा अन्य कुरा पटक पटक परिवर्तन गरिएला तर एकपटक राखिएको नाम जीवनभर एउटै हुन्छ। जीवनभर मात्र होइन, मृत्युपछि पनि हामी नामबाटै परिचित हुन्छौं। यसरी मानिसका लागि नाम ज्यादै महŒवपूर्ण छ भन्ने कुरा स्पष्ट छ।
नाम व्यक्तित्वको भावनात्मक पहिचान पनि हो। सबैले आफ्नो नाम राम्रो राख्न चाहन्छन्। जसरी आकर्षक पोसाकले व्यक्तिको व्यक्तित्वमा प्रभावशाली भूमिका निर्वाह गर्छ, त्यसरी नै सार्थक नामले व्यक्तिको मानसिकतासित गहिरो सम्बन्ध राख्छ। शिव, राम, सीता, कृष्ण, लक्ष्मी, सरस्वती, गोविन्द, महेश, दिनेशजस्ता नाम आनन्ददायी लाग्छन्। रावण, शकुनि, यमराज, मन्थरा, कीचकजस्ता नाम पनि आखिर नामै हुन्। तर त्यस्ता नाम किताबमा पढ्नबाहेक राखिएको चाहिँ हामीले खासै सुन्न पाउँदैनौं।
आफ्नै भाषा, धर्म, संस्कारअनुसारका सहज र सार्थक नेपाली नामभन्दा पनि आजकल आधुनिक र सभ्य बन्ने नाममा असहज र निरर्थक नाम राख्ने गरिएको छ। यस क्रममा हाम्रा मौलिक, जातीय र सांस्कारिक नामको सट्टा अल्बर्ट, युसुफ, जिसस, माइकल, क्रिस्टिना, एन्जेलिना, एलिजा, याकुब, न्युटन, निक्सन, ह्यारिस, टोम, थोमस, रोबर्ट, ज्याक्सन, जोलिया, क्याथरिन, मेरी, सोनिया, रोनिक, एरिका, सोफिया इत्यादि राख्न थालिएका छन्।
‘मातृभाषा अंग्रेजी भएका बेलायती भूतपूर्व प्रधानमन्त्रीको नाम ऋषि सुनक छ, नेपालीले चाहिँ के यस्तो नाम राखेका होलान् !’ भनेर हामी कसैले गुनासो/असन्तुष्टि जाहेर गर्नु पनि भएन किनभने आफ्नो नाम के राख्ने भन्ने विषयमा सबै स्वतन्त्र छन्। ‘अत्याधुनिकता’ र ‘अतिसभ्यता’ का नाममा राखिएका त्यस्ता नामलाई हामीले ‘सुपर’ मानिदिनै पर्यो। कतिपयका नाम भने नियतवश अपमानपूर्ण पनि राखिएका छन्। तर कसैको स्वाभाविक नाम नै अशुद्ध देख्दा भने अप्ठ्यारो लाग्दो रहेछ। सायद शिक्षक भएकाले पनि यस्तो भावना आएको हो कि !
हामीले यसो सम्झिहेर्यौं भने यहाँ अशुद्ध नाम हुनेहरूको सङ्ख्या धेरै पाउँछ। कतिपय व्यक्ति त्यस्तै नामबाटै बितिसके। कोही त्यस्तै नामबाटै बुढा भइसके। कतिपयचाहिँ बालककालदेखि नै अशुद्ध नामबाट आफ्नो जीवन सुरु गर्दैछन्। यो नामको संसार पनि गज्जबकै छ।
हाम्रा गाउँमा एकजना काकाको नाम ‘नारायणबहादुर’ थियो। (थर नभनू्ँ। केही गरी यो लेख पढ्न पाए भने ‘यसले मलाई नै भनेछ’ भन्ठानेर दुःख मान्लान्।) तर जनतालाई सुविधा दिन गाउँमै आएको ‘नागरिकता टोली’ले उहाँको नाम ‘नार्रानबहादुर’ बनाइदिएछ। त्यसैले कुनै बैठक/भेला हुँदा उपस्थितिमा उहाँलाई आफ्नो नाम कसैले जान्ने भएर ‘नारायणबहादुर’ लेखिदेला भन्ने खुब पिर हुन्थ्यो। नभन्दै कसैले त्यहाँ शुद्ध रूपमा ‘नारायणबहादुर’ लेखिदिएको रहेछ भने त्यसलाई बिगारिकन ‘नार्रानबहादुर’ बनाउन लगाएर मात्रै उपस्थिति सही जनाउनुहुन्थ्यो उहाँ। सम्झन थाल्ने हो भने ‘नार्रानबहादुर’ काकाजस्ताका नाम जति पनि भेटाउँछौं हामी। चलनचल्तीका र स्वाभाविक नाम लेखाइमा पनि ‘नार्रानबहादुर’ काकाको जस्तो समस्या हाम्रा विद्यालय र विद्यार्थीमा पनि देखिन्छ।
वागीश्वरीको अर्थ ‘वाणीकी देवी’, ‘सरस्वती’ हो भन्ने कुरा धेरैलाई थाहै छ। त्यही भएर धेरै विद्यालयको नाम ‘वागीश्वरी’ राखिएको पाइन्छ। तर यति सामान्य र सार्थक कुरो पनि नबुझेरै त होला, कतिपय विद्यालयले ‘वागेश्वरी’ लेख्ने गरेको पनि पाइयो। विद्यालयकै नाम र त्यहाँ टाँसिने सूचनापाटीमा उल्लिखित कुरा नै अशुद्ध हुने हो भने शुद्धचाहिँ कहाँ पढ्न पाइने होला।
कुरो अलि पहिलेकै हो। मेरै बहिनीकी एक जना साथीको नाम सुशीला थियो। तर उनको एसएलसीको परीक्षा आवेदन फाराम भर्दा विद्यालयले नेपालीमा ‘शुसीला’ र अङ्ग्रेजीमा पनि त्यसैअनुसार मिलाएर लेखिदिएको हुँदा उनको ‘मार्क सिट’मा त्यही भएर आएछ।
‘सुशीलाजस्तो राम्रो र सार्थक नाम भएर पनि, विद्यालयले गल्ती गरिदिएका कारण त्यसको सजाय मैले जीवनभरि नै ‘शुसीला’जस्तो नराम्रो र निरर्थक नाम बोकेर भोग्नुपर्ने भइरहेछ !’, उनी गुनासो गर्दै थिइन्। ‘सुशीला’को सट्टा ‘सुशिला’लेख्ने पनि कोही हुँदा हुन्।
कक्षा ८ मा पढ्ने एकजना छात्राको नाम ‘श्रद्धा’ रहेछ। तर उनले आफ्नो गृहकार्य पुस्तिकामा ‘श्रद्र्धा’ लेखेको देखेपछि नेपाली शिक्षकको हैसियतले मैले उनले आफ्नो नाम शुद्धसँग लेख्नै पो नजानेकी हुन् कि भन्ठानेर ‘तिम्रो नाम त्यस्तो ‘श्रद्र्धा’ होइन, यस्तो ‘श्रद्धा’ हुन्छ’ भनेर उनको कापीमै लेखेर देखाइदिएँ। तर उनले मैले लेखिदिए जस्तो लेख्न मानिनन्।
वास्तविकता के रहेछ भने उनको जन्मदर्तामै ‘श्रद्र्धा’ रहेछ। त्यसैले शुद्ध ‘श्रद्धा’ लेख्दा आफ्नो नाम बिग्रिन्छ भन्ने डरले उनी प्रत्येक पटक जताततै जन्मदर्ताबमोजिम अशुद्ध ‘श्रद्र्धा’ नै लेख्दिरहिछिन्! छोरीको त्यस्तो अशुद्ध नाम सच्याउने विषयमा मैले उनका बुबालाई पनि फोन गरेँ। तर उहाँले चासो दिनु भएन। मैले हेर्दाहेर्दै उनले आफूले लेख्ने गरेकै नाममा कक्षा ८ को परीक्षा आवेदन फाराम भरिन्, रजिस्ट्रेसन आवेदन फाराम भरिन् र एसइईको परीक्षासमेत यसै नामबाट दिएर पास भई अहिले कलेज पढ्दै छिन्।
त्यस्तै ‘मनिसा’ को नामलाई लिएर, ‘मनीषा’को अर्थ ‘मन वा मस्तिष्कको विशिष्ट शक्तिका रूपमा विकसित बुद्धि’ हो भनी बताइदिएँ। एउटी प्रसिद्ध नेपाली नायिका पनि आफ्नो नाम ‘मनीषा’ लेख्छिन् भनेँ। तर उनको पनि जन्मदर्तामा ‘मनिसा’ नै रहेछ! मेरो सुझावको कुनै अर्थ रहेन। ‘प्रस्ना’लाई ‘प्रश्ना’ लेख्नुपर्छ भनेँ। ‘शैलेजा’लाई ‘शैलजा’ लेख्दा मात्रै सार्थक हुन्छ भनेँ। ‘निष्था’लाई ‘निष्ठा’ बनाउन आग्रह गरेँ। ‘दिप्सिका’लाई ‘दीपशिखा’ भयो भने मात्र तिम्रो नाम जीवनभरि उज्यालो देखिन्छ भनेँ।
‘सीतल’ले शीतल बुझाउँदैन भनेँ। ‘चाँन्दनी’लाई बिचको /न्/ नचाहिँदो भयो भनेँ। ‘अविसेक’लाई तिमी ‘अभिषेक’ हौ भनेँ। ‘सुवेच्छा’लाई ‘शुभेच्छा’ लेख्नु उत्तम हो भनेँ। त्यस्तै ‘तपस्विया’ लाई पनि ‘तपस्या’ वा ‘तपस्विता’ लेख्नु राम्रो हुन्छ भनी सम्झाएँ। तर उनीहरू सबैको नाम जन्मदर्तामै त्यसरी अशुद्ध भएर दर्ता भएको रहेछ। त्यसैले चाहेर पनि उनीहरूले मैले भनेबमोजिम आफ्नो नाम सच्याएर लेख्न सक्ने भएनन्। अहिले त उनीहरूलाई आफ्नो नाम जे छ त्यही नै शुद्ध हो भन्ने भ्रम छ तर जुन दिन वास्तविकता थाहा पाउँछन्, त्यो दिन उनीहरूलाई कस्तो अनुभव हुँदो होला ! मलाई पो त्यसैत्यसै तनाव भइरहन्छ।
एसइई वा ‘प्लस टु’ को परीक्षा दिँदासम्म नागरिकता बनाउने उमेर पनि भइसक्छ। नागरिकता शैक्षिक प्रमाणपत्रकै आधारमा बनाउनुपर्यो। शैक्षिक प्रमाणपत्रमा फरक परेको नाम पछि सच्याउन सकिने व्यवस्था पनि छ। (उता नागरिकता सच्याउन गाह्रो छ।) यो कुरा कतिलाई थाहा नहुन पनि सक्छ। थाहा हुँदा पनि यसका लागि अनेक दुःख र झन्झट व्यहोर्नुपर्ने हुन्छ। कसैगरी सच्याउन सके राम्रो हो। नत्र जीवनभरि नै अशुद्ध नाम लेखेर त्यसबाटै दुनियाँसामु परिचित हुनुपर्दा कस्तो नमजा !
थोरै सच्याउँदा सार्थक र आकर्षक देखिने कतिपय नाम, स्थानीय पञ्जिकाधिकारीको अज्ञानताका कारण असुहाउँदिला र सार्थकताविहीन रहिरहने भए। नाम मात्र होइन, थर बिग्रनेहरू पनि धेरै छन्। नेपाली नामको अंग्रेजी हिज्जे बिग्रने पनि उत्तिकै छन्।
यस्ता समस्याको निराकरण गर्न जन्मदर्ता गर्दादेखि नै हाम्रा बालबालिकाको नाम शुद्ध हुनुपर्यो। कतिपय आमाबाबु शुद्ध/अशुद्ध थाहा नपाउने भएकाले लोक सेवा आयोगमा खरो उत्रेर आएका हाम्रा स्थानीय तहका स्थानीय पञ्जिकाधिकारीहरू कम्तीमा नेपाली/अङ्ग्रेजी हिज्जेमा शुद्ध नाम लेख्न सक्ने क्षमताका हुनुपर्यो।
केही गरी स्थानीय पञ्जिकाधिकारीले बालबालिकाको नाम अशुद्ध लेखेर जन्मदर्ता बनाइदिएका भए सो जन्मदर्ता प्रमाणपत्र लिएर विद्यालयमा भर्ना गराउन जाँदा विद्यालयको सिफारिसमा सुधार गरिदिनुपुर्ने व्यवस्था हुनुपर्छ।
त्यति मात्र होइन, भुलवश पहिला अशुद्ध लेखिएको आफ्नो नाम शुद्ध र सार्थक बनाउन कसैले चाहन्छ भने उसको त्यो चाहना आवश्यक प्रक्रियासहित जहिले पनि पूरा गरिदिने व्यवस्था पनि हुनुपर्छ। आजको कम्प्युटरको युगमा पनि ‘नाम सच्याउन मिल्दैन’ भनेर नागरिकलाई तनाव दिनुहुँदैन। आफ्नो नाम शुद्ध लेख्न पाउनु हामी सबैको मौलिक अधिकार हो। यसका लागि अभियानै चलाउनु आवश्यक छ।
प्रकाशित: १० फाल्गुन २०८१ ०९:०९ शनिबार