४ चैत्र २०८१ सोमबार
image/svg+xml ७:५३ पूर्वाह्न
कला

नेवार भोजमा शाकाहारी ब्राह्मण

निबन्ध

भोज भन्नासाथ मनमा आइहाल्छ गाउँको भतेर। कसैको विवाह हुँदैछ भने दुईचार दिनअगाडिदेखि विवाह घरमा चहलपहल हुन्छन्। मामा–माइजू, भान्जा–भान्जी, ज्वाइँचेला, छिमेकी, इष्टमित्र सबै जम्मा हुन्छन्। विवाहको अघिल्लो दिन आमा–दिदीबहिनीहरू कसार बटार्न र सेलरोटी पकाउन व्यस्त हुन्छन् भने बुबा–दाजुभाइहरू भोलिको भतेर बनाउने कामको बाँडफाँडमा लाग्छन्। सबैभन्दा पहिला आएर चिया पकाउने, खसी काट्ने, दाल, भात, तरकारी, अचार बनाउने, पस्केर खान दिने, जन्ती स्वागत गर्नेजस्ता काम ककसले गर्ने भन्ने पूर्ण तयारी अघिल्लो दिन नै गरिन्छ।

हामी स्कुल जानुभन्दा अगाडि नै भतेर तयार हुन्थ्यो। कीर्तन टोलीको थालमा दाल, भात, तरकारी, मासु एकै ठाउँमा हाली बारीको डिलमा बसेर मजासँग खाइन्थ्यो। मासु नखाएको लगभग ६ महिनाजति भएको हुन्थ्यो। मासुको झोलसित यति मिठेरी भतेर खाइन्थ्यो, आज सम्झँदा पनि उतिबेलाको भतेरको बासना हरर आएजस्तो लाग्छ। आज सहरका तारे होटलमा खाइने महँगा भोजभन्दा कैयौं गुणा मिठो हुन्थ्यो हातबाट तुरुरु झोल चुहाउँदै खाएको त्यो भतेर।

गाउँको त्यो भतेरलाई खानाको स्वादले मात्र मिठो बनाएको होइन, भोक, कामको अनुशासन, खानाप्रतिको सम्मान अनि परम्परागत संस्कार–संस्कृतिले मिठो बनाएको हो।

केही दिनअघि सहकर्मी नेवार मित्रको विवाह भोजमा सामेल भएको थिएँ। म ब्राह्मण समुदायको मान्छे। सँगै काम गर्ने मगर साथी र म गएका थियौं। भोजमा जाँदैगर्दा एउटै मोटरसाइकलमा बसेका मगर साथीले भन्दै थिए– ‘मलाई भोज पूरै म्याच गर्छ। तपाईंलाई भने यो भोज कत्ति म्याच गर्दैन है।’

भोजमा सगुनस्वरूप प्रदान गरिने मादकीय झोल पदार्थ नखाने अनि शाकाहारी उन्मुख हुँदै गरेको ब्राह्मण म। यही कारण होला भोज मलाई म्याच नगर्ने भन्ने लाग्यो। ‘मांस र मादकीय सगुनबाहेकका चिजबिज त सबै मिल्छन् नि। बकुल्लाको बिचमा कागजस्तो त पक्कै भइँदैन होला’ छोटो उत्तर दिएँ।

संस्कार अनुशासन हो, रुढ परम्परा होइन। जीवनकालमा आवश्यक पर्ने जन्मदेखि मृत्युसम्मका विविध संस्कार अनुशासित भएर निर्वाह गर्नुपर्छ। त्यही अनुशासनले नै संस्कार–संस्कृतिलाई जीवन्त बनाउने हो, मर्यादित र शालीन बनाउने हो। संस्कार भुल्यौं भने हामी स्वतः अमर्यादित बन्न थाल्छौं। संस्कार धर्मसँग होइन, जीवनसँग जोडिने विषय हो।

हिन्दु धर्म अवलम्बन गर्ने छेत्री र गिरीको मृत्युसंस्कारमा धेरै भिन्नता पाइन्छ। बौद्ध धर्म नै अवलम्बन गर्ने गुरुङ, तामाङ, शेर्पा आदि समुदायको पनि मृत्युसंस्कारमा अनेक विविधता पाइन्छ। त्यसकारण हामीले आफ्नो संस्कारलाई जीवन्त बनाउनुपर्छ। नेवार समुदायको बलियो पक्ष भनेकै परम्परागत संस्कारको जीवन्तता हो भन्ने महसुस त्यस विवाह भोजमा भइरह्यो।

खानपानमा लाग्नेहरूको एक डफ्फा उठिसकेपछि दास्रो चरणमा हामी बस्यौं। त्यहाँ झन्डै एक दर्जन सहकर्मी जम्मा भएका रहेछौं। सँगै बस्यौं। अरू कुर्चीमा क्रमशः मान्छेहरू बस्दै गए। डेढ–दुई सय जनाजति बसिसकेपछि सबैलाई एकैचोटि खाना दिइयो। मन लागेका बेला खान बस्ने अनि खाएर सक्नासाथ उठिहाल्न नमिल्ने रहेछ। खाना वितरण, खानाको क्रम र मिश्रण अनि परिकारमा परम्परागत अनुशासन थियो।

खानाको परिकार र निर्मितिमा कुनै कृत्रिमता थिएन। भोजमा खुवाउने परिकार क्रमशः विभिन्न चरणमा पस्कँदै जाने चलन रहेछ। खाइने परिकारको क्रमले नै भोज सुरु भएको, मध्य भागमा पुगेको र सकिन लागेको सङ्केत दिँदै थियो। भोजमा पस्कने अनेक प्रवृत्तिका परिकारले नै नेवारी भोज लोकप्रिय भएको रहेछ भन्ने सङ्केत मिल्दै थियो।

हात धोइसकेपछि सालको पातको टपरी सबैका अगाडि टेबुलमा राखियो। सुरुमा चिउरा, लसुन, अचार, हरियो साग, तखाला, सन्याखुना राखियो। मैले मासुको परिकारबाहेक अरू सबै स्वीकार गरेँ। यी परिकार खाइसकेपछि सबैलाई एकैपटक मुलाको अचार, गोलभेँडाको अचार, केराउ, सिमी, आलुकाउली, रक्सी, छ्याङ राखियो।

रक्सीजन्य र मासुजन्य पदार्थबाहेक सबै मैले स्वीकार गरेँ। त्यसपछि तकूला, मेथी, भुटन र अमिलोको झोल राखियो। अन्तिममा दही, रसवरी, सलाद राखेपछि परिकार थप्ने क्रम सकियो। त्यसपछि बेहुलाले लाखामरि सगुन दिँदै सबैलाई बिदाइ गरे।

दर्जनौं व्यञ्जनयुक्त भोज वैज्ञानिक र स्वास्थ्यका दृष्टिले पनि उपयुक्त थियो। प्रोटिनका लागि मासु, गेडागुडी, कार्बोहाइड्रेडका लागि चिउरा, आलु, भिटामिनका लागि हरियो साग, काउली, दही, एसिडिटीका लागि लसुन, कफका लागि अल्कोहल, रक्तचापका लागि मेथी, पाचनका लागि अमिलो झोल थियो। भोजमा भात थिएन। चिल्लोचाप्लो थिएन, गेडागुडीको मात्रा धेरै थियो। समयको अन्तरालसँगै कुन खाना अगाडि, कुन खाना पछाडि खाने भन्ने परम्परागत प्रचलनअनुरूप भोजन वितरण गरिएको थियो।

स्वास्थ्य दृष्टिकोणले समेत उपयुक्त यस्ता भोज विस्थापित भएर अहिले होटल, पार्टीप्यालेसमा आधुनिक भोज स्थापित हुँदै छन्। विवाहादि सांस्कृतिक कार्यक्रममा नेवार समुदायले नै आधुनिक भोज ग्रहण गर्नेक्रम बढ्दो छ।

केही दिन पहिला विवाह भोजकै सिलसिलामा एउटा तारे होटलमा पुग्ने चाँजो मिलेको थियो। धनीमानीले गर्ने आधुनिक भोजको परिदृश्य नै बेग्लै देखिने। त्यहाँ पुग्दा ठुलो आवाजमा ‘दुस्मन हेरेको हे¥यै’ गीत घन्किरहेको थियो। नाच्नेको ठुलो भिड थियो। लाग्थ्यो, उपस्थितिको झन्डै एक चौथाइजति विभिन्न ठाउँमा छरिएर नाचिरहेका थिए। टेबलकुर्चीमा आनन्दले पिइरहेका देखिन्थे विदेशी मातजल। उता खाना खानेको लाइन पनि सुरु भइसकेको थियो।

एकैछिनपछि अर्को गीत बज्न थाल्यो ‘म त ढलेँ ढलेँ’। यो गीतमा मातजल नपिई नाच्दा त झन्डै गर्धन पछाडितिर छुनेगरी छाल्छन् युवायुवती, त्यहाँ त मातजल चढाएपछि ‘ढलेँ ढलेँ...’ घन्किएको थियो। भुइँमै सुतिरहेका थिए अभिनयसहित ढलेर नाच्नेहरू। कसैलाई थाहा थिएन गीतमा पल्लारे साइलाले आमालाई ढलाएको हो कि आफैंलाई ढलाएको हो भन्ने। सबै गीत नबुझी ढलिरहेका थिए। गीत छाडा हो कि मान्छे छाडा हुन्, थाहा भएन तर माहोल भने यो गीतले निकै तताएको थियो छाडाशैलीमै।

पहिरनमा भने गजबको समानता थियो। झन्डै सबै पुरुषले कोटपाइन्ट लगाएका थिए भने अधिकांश महिला गरगहनासहित सारीमा सजिएका थिए। पहिरनले सङ्केत गर्दै थियो– विवाहमा सहभागी हुन आएका आगन्तुकले पनि निकै खर्च गर्नु परिरहेको थियो। विवाह आयोजकले कति खर्च गरे होलान्?

खाना खानुभन्दा पहिला ‘स्न्याक्स’ भन्दै थालीमा तारेका अनेक मासुजन्य परिकार आउँदै थिए। सिन्काले कोपेर रक्सीसँग खाइरहेका थिए स्न्याक्स। खाना खानुभन्दा पहिला प्रायः सबैको पेट ‘स्न्याक्स’ले भरिइसकेको थियो। अधिकांशका आँखा रमरम देखिन्थे। केके रहेछ खानामा भन्ने जिज्ञासा जाग्यो। गएर हेरेँ। पुलाउ, तरकारी, दाल, झोलिलो गेडागुडी, तीनचार थरी अचार, साग, तीनचार थरी मासु, सलाद, पापड, रोटी आदि।

बिसौं परिकार थिए होलान् त्यहाँ। धेरैले सुरुबाट क्रमशः थोरै थोरै परिकार हाल्दै थिए थालीमा। थोरै थोरै राख्दै जाँदा पनि अन्तिममा पुग्दा थाली भरिइसक्थ्यो। अन्तिममा मासु राख्ने ठाउँ नै देखिँदैनथ्यो। परिकारको उरुङमाथि मासुको टोपी लगाएर निस्कँदै थिए प्रायः सबै।

एक युवाको खाना राख्ने तरिका भने अजिब लाग्यो। उनले सुरुमा पुलाउ राखे थालीमा। अनि, बिचका कुनै परिकार नराखी सिधै अन्तिममा गए। अन्तिममा मासु थियो। मासुले प्लेट भरे र खान बसे। सायद उनी मासुभोगी थिए। बिचका परिकार राख्दा थाली भरिन्छ अनि धेरै मासु खान पाइँदैन भन्ने उनलाई राम्रो थाहा थियो। यस्तै थियो त्यहाँको परिवेश। उत्साह उम्लिराखेको महसुस हुन्थ्यो। खाना, माद, गीत, नृत्य सबैमा गज्जबको उत्साह थियो। शरीरका अंग प्रत्यङ्गले भन्दै थिए– खास मनोरञ्जन त यही पो हो त।

जति खर्च गरे पनि, जति महँगा लुगा र गहना लगाएर चर्को गीतमा नाचे पनि मैले भने किन किन उही गाउँले भतेरका जस्तो स्वाद तारे होटलका पार्टीमा पाउँदिनथेँ। ड्याम्मको थालमा दाल, भात, तरकारी, अचार र मासु एकैचोटि राखेर सर्‍यापसर्‍याप खाँदाको मजा साँघुरो प्लेटमा टुकुटुकु चम्चाले खाँदा कत्ति पनि आउँदैनथ्यो। गाउँमा भान्सेले कपडा खोलेर पकाउँथे भतेर। पकाउने ठाउँमा जोकोहीलाई अनुमति दिइँदैनथ्यो। भान्से बिहानै नुहाइधुवाइ गरेर भतेर पकाउन आइपुग्थे र मिहिनेतसाथ मजाले पकाउँथे। खानामा स्वादभन्दा धेरै माया हाल्थे। गाउँमा भान्से बन्न पाउने व्यक्ति सीमित हुन्थे। जोकोही भान्से हुन पाउँदैनथे। अहिले लाग्दैछ, तारे होटलका सेफभन्दा दक्ष्य रहेछन् ती भान्से।

मेरो मानसपटलमा तीन प्रकारका भोजका स्मृति आइरहेका छन्। गाउँले भतेर, नेवार भोज र आधुनिक तारे पार्टी। यी तीन प्रकारका भोजलाई तीन पुस्ताका मान्छेसँग तुलना गर्न सकिन्छ: ७० वर्षे हजुरबुबापुस्ता, ४५/५० वर्षे बुबापुस्ता र २० वर्षे छोरापुस्ता। गाउँको भतेर हजुरबुबापुस्ताको भोज हो। हजुरबुबाको चाहनाअनुरूप अहिले धेरै ठाउँमा विवाह भोज खुवाउन छोडिसकिएको छ।

अब अधिकांश गाउँमा क्याटरिङ बोलाएर खानपान गराउने प्रचलन बढिसकेको छ। नेवार भोज बुबापुस्ताको भोजसँग तुलनीय छ। ४५/५० वर्षका पौढहरू हजुरबुबाका पालाको भोजबाट अलग्गिँदै छन् भने आधुनिक तारे पार्टी पनि उनीहरूलाई अस्वाभाविक आडम्बरी लाग्छ। उनीहरूका लागि ‘....एउटा नेवार बोलको गीत राख्ने’ बोलका गीतको धुनमा अनेक व्यञ्जनसहित पलेँटी कसेर भोज खान मन पर्छ, नेवार भोजजस्तै।

छोरापुस्ता आधुनिक तारे पार्टीमा रमाउन थालेको छ। यो पुस्ता परम्परागत संस्कार–संस्कृति, गीतसङ्गीत र खानाको स्वादप्रति विमुख हुँदैछ। यो पुस्ता आधुनिकताभन्दा माथि उठिसकेको देखिन्छ, उत्तरआधुनिक चरणमा प्रवेश गर्ने तरखरमा छ। यो पुस्ताले आधुनिक गीत पनि मन पराउन छोडिसक्यो। यो पुस्ता लोकगीत, आधुनिक गीत, गजल आदिलाई विकृत बनाएर प्रस्तुत गरिएका गीतसङ्गीत मन पराउँछ।

हजुरबुबा–बुबापुस्ता अस्ताइसकेपछि परम्परागत संस्कार–संस्कृति छोरानातिपुस्ताबाट संरक्षण होलाजस्तो देखिँदैन। यो पुस्ता उत्तरआधुनिक चरणमा प्रवेश गर्छ। त्यतिबेला वास्तविक लोकगीत, खास आधुनिक तथा शास्त्रीय गीतहरू सङ्कटमा प्रवेश गर्ने सम्भावना बलियो बन्दै छ। त्यसैले यस्ता भोजमा संस्कार मार्नुहुँदैन। संस्कारको जगमा टेकेर व्रतबन्ध, विवाह, मृत्युसंस्कार आदि कर्म सम्पन्न गर्नुपर्छ। संस्कार–संस्कृति आउँदै गरेको नयाँ पुस्तामा सकुशल हस्तान्तरण गर्नुपर्छ।

भोज सुखद उपलब्धी साट्न छरछिमेकी तथा इष्टमित्र मिलेर खाइने विशेष भोजन हो। भोजमा सामूहिकता हुन्छ, परस्परको आत्मीयता हुन्छ। भोजका भन्दा बढी खाद्यपरिकार त अहिले काठमाडौंका केही थकाली भोजनालयले पनि दिने गर्छन्। त्यस्ता भोजनालयमा गएर पैसा तिरेर खाइने खाना भोज होइन। पिकनिक भन्दै जंगलमा गएर खाइने सामूहिक भोजनमा पनि झन्डै विवाहकै जति खानाका परिकार हुन्छन्। त्यो पनि होइन सांस्कृतिक भोज। घरमा छोरी ज्वाइँ आउँदा खुवाउने चौरासी व्यञ्जन पनि भोज होइन।

यहाँ आएको सन्दर्भ नेवार भोजले हालसम्म नभुलेको गरिमा उल्लेख गर्ने क्रममा आएको हो। खानुभन्दा पहिला परिकार सजाउने कला, सामूहिक रूपमा खान बस्ने प्रचलन तथा स्थानीय सामग्रीको प्रयोगजस्ता विशिष्टताले सांस्कृतिक भोजको विरासत यो जातिमा जोगिएको छ।

 यस्ता समारोहमा जाँदा नेवारी संस्कृतिलाई ज्युँदो बनाइराख्नमा गुठी संस्कृतिको ठुलो योगदान छ। नत्र त्यति धेरै परिकार बनाउने र सयौं अतिथिलाई परम्परागत अनुशासनमा बाड्ने जाँगर गुठी परम्पराबिना एउटा परिवार र केही आफन्तजनबाट सम्भव हुँदैनथ्यो। गुठी परम्पराले स्थापित गरेको सामूहिकताको अभ्यास नेवार समुदायमा जीवित छ। यस्तै परम्पराले नै काठमाडौं खाल्डोलाई भोजन कलाको स्थापित थलो बनाएको हो।

शाब्दिक अर्थमा भोजन र भोज उही हो तर सामाजिक तथा सांस्कृतिक जनजीवनमा भोजले दिने अर्थ भोजनले दिँदैन। भोज शब्दमा भोजन मात्रै नभएर संस्कृतिको एउटा गरिमा निहित हुन्छ। भोजको अर्थ खानपान वा भोजन मात्रै होइन। सांस्कृतिक अर्थबोध नगर्ने हो भने भोज पनि भोजन मात्रै हुन जान्छ। खाना उही, परिकार उही भए पनि भोज भावनासँग जोडिएको हुन्छ, स्वाद पनि बेग्लै हुन्छ।

सांस्कृतिक र भावनात्मक सम्मिलन नभएर होला, विवाह व्रतबन्ध आदि अवसरमा तारे होटलमा आयोजना गरिने आधुनिक भोज खानपानको तारतम्य मात्र जस्तो लाग्छ। त्यहाँ न संस्कार छ, न सामाजिक सद्भाव। त्यस्ता भोजमा आत्मीयता र स्वादभन्दा बढी भेटिन्छन्– होटल वा क्याटरिङ मालिकको हिसाबकिताब, खाना पकाउने तथा पु¥याउने मजदुरको मजदुरी, भोजन मेनु, बेहुला–बेहुलीले पहिरिएका खादाको चाङ, कोटको ‘क्वालिटी’ र सुनको ‘क्यारेट’ हेर्ने आँखा अनि गगनभेदी साङ्गीतिक क्रन्दन।

खानासँगै माया पस्केर उत्साहसाथ बारीका कान्लामा समूहमा बसेर सालको टपरीमा खाइने दाल, भात, तरकारी अचार मात्र पनि भोज हुन सक्छ। अधिकांश गाउँले नेपाली यस्तै भोज खाएर विवाह रमाउने वर्गका छन्। मैले पनि बारीका कान्लामा बसेर कैयौंपटक भोज खाएको छु। अलि पहिलासम्म त भोजमा मासु काट्ने चलन पनि थिएन। मासुबिनाको भोज मुख मिठ्याएर कैयौंपटक खाएको सम्झना ताजै छ। भोजमा मासु र रक्सी नै चाहिन्छ भन्ने हुँदैन। मासुबिनाका परिकार भए झन् खुसी हुने शाकाहारीउन्मुख भोगीको विचार हो है यो।  

प्रकाशित: १० फाल्गुन २०८१ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App