५ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:४१ पूर्वाह्न
कला

कवि देविका सुब्बा खवासकाे 'समयका कणिका र रङ्ग' पढेपछि

पुस्तक

"उफ्! त्यो पीडा! आफ्ना  प्रिय मान्छेदेखि छुट्टिनुको वेदना! आज पनि आलै छ छातीभित्र! - (दुई शब्द,पृ.१४) श्रीमती देविका सुब्बा खवासको जन्म ११ नोभेम्बर १९६१ को दिन तकदाह केन्टोमेन ,लोवर होम बस्ती, दार्जिलिङमा भएको हो।

उनका पिता मोहनसिंह सुब्बा र माता दिलमाया सुब्बा हुन्। साहित्यिक परिवेशमा हुर्किएकी देविका सुब्बा खवासले आफ्नो साहित्यिक यात्रा निरन्तर अघि बढाइन्। उनका श्रीमान् मणि खवास स्वयं प्रख्यात कवि तथा स्थापित सर्जक थिए। यही वातावरणले उनको सिर्जनशीलतालाई थप गहिराइ दियो।

नेपाली मात्र नभई हिन्दी भाषामा पनि उनको सशक्त दखल छ। उनका कविता, बालकविता तथा विविध लेख विभिन्न नेपाली पत्रपत्रिकामा प्रकाशित भइरहेका छन्। साथै हिन्दी भाषाका प्रतिष्ठित पत्रपत्रिकाहरूमा पनि उनका रचनाहरू निरन्तर प्रकाशित छन्।

दीर्घकालसम्म शिक्षण पेशामा संलग्न रहेपछि सेवाबाट अवकाश लिए पनि उनको सिर्जनशीलता अझै अबाधित छ। शिक्षिका रहँदा बालमस्तिष्कलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएकी हुनाले उनकाे साहित्यमा बालबालिकाप्रति विशेष झुकाव देखिन्छ।

यही कारणले उनले बालसाहित्यमा समेत उत्कृष्ट योगदान दिएकी छिन्। उनको बालकवितासङ्ग्रह 'लालाबाला' सन् २०२४ मा प्रकाशित भएको थियो। उनको कलम सबै साहित्यिक विधामा समान रूपमा प्रवाहित भएको देखिन्छ।

दोस्रो कृति 'लोकगायक इन्द्र थपलिया: व्यक्ति र व्यक्तित्व' तथा कवितासङ्ग्रह 'समयका कणिका र रङ्ग' पनि सन् २०२४ मै प्रकाशित भइसकेका छन्। सिर्जनात्मक योगदानका साथै देविका–मणि प्रकाशनकी अध्यक्षको रूपमा उनले 'मणि खवास स्मृति ग्रन्थ' समेत प्रकाशित गरेकी छिन्।

यसबाहेक कदमतला र सिलगडीका विभिन्न संघसंस्थासँग उनको सक्रिय संलग्नता छ। 'समयका कणिका र रङ्ग' बारे केही अनुभूति यस लेख मार्फत निफननाफन गर्ने प्रयास गरेको छु।

कृतिभित्र कविले आफ्ना भावहरू यसरी व्यक्त गरेकी छिन्, "मेरा श्रीमान् पनि कवि नै भएकाले उहाँकै कविताहरू पढ्ने, सुन्ने अनि कहिलेकाहीं सुझाव दिन्थें। श्रीमानको निधनपछि लगत्तै अवकाश प्राप्तिले जीवन झन् नैराश्यपूर्ण बन्यो। आफ्ना प्रिय मान्छेको अभावले घर शून्य लाग्थ्यो। धुमधुम्ती एकान्तमा बस्न मन लाग्थ्यो। उफ! त्यो पीडा! आफ्ना प्रिय मान्छेदेखि छुट्टिनुको वेदना! आज पनि आलै छ छातीभित्र!" (पृ. १४)

कविभित्र कवित्व त पहिले नै थियो तर त्यो सुषुप्त थियो। पति वियोगको पीडा र वेदनाले उनको कवित्वले कलमी रूप लियो र यसैको प्रतिफलस्वरूप 'समयका कणिका र रङ्ग' जन्मियो। कृतिभित्र कतै कवि रोएकी छिन्, कतै पति वियोगको वेदना बिर्सिएर रमाएकी पनि छिन्। समयको अन्तरालसँगै उनका वियोगका घाउहरू पुरिँदै गएका जस्ता लाग्छन्, जब उनका कविताहरूलाई पढिन्छ। 

मन त बरु ढुङ्गाको

 हुनु नि! न दु:ख्छ न पीर व्यथामा मर्का पर्छ न घात सहन्छ न मात लाग्छ हो, मन त बरु ढुङ्गाको हुनु नि!" (पृ. २६) सायद पति वियोगमा कवि धेरै दुखेकी छन्, रोएकी छन्, अनि आफूलाई सम्हाल्ने प्रयास गरेकी छन्। त्यसैले भन्छिन्, "मन त बरु ढुङ्गाको हुनु नि!" 

जिन्दगी न हो भङ्गालिन सक्छ

 सम्हाल यसलाई जिन्दगी न हो कतै टुट्न सक्छ जोड यसलाई" (जिन्दगी, पृ. ४४) यस कविता मार्फत कविले आफूलाई ढाडस दिएकी छन्। मनलाई बाँध्ने प्रयास गरेकी छन् र सबैलाई सुकर्म गर्न, जीवनलाई एक सुनौलो अवसर मानेर सदुपयोग गर्न सन्देश दिएकी छन्। 

म, गुरू, विद्यार्थीहरूका

 मैले धेरै वर्ष विद्यार्थीहरूसँग बिताएको छु। नानीहरू गीला माटोझैँ हुन्छन्, गुरूहरूले नै उनीहरूलाई सही आकार दिन्छन्।" (मेरा विद्यार्थी, पृ. ४०) यस कवितामा कवि आफ्नो शिक्षिका जीवनका दिनहरूसँग घोत्लिएकी छन्। बालबालिकालाई सही मार्गदर्शन गर्न सकेँ वा सकिनँ भन्ने प्रश्नमा उनले आत्ममन्थन गरेकी छन्। साथै, आफ्ना विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना पनि व्यक्त गरेकी छन्। 

मैले जीवनमा धेरै समय जितेकी छु र

 मेरो अनुहारमा जुन धर्सा देख्दैछौ तिमी, यो त समयले दिएको पुरस्कार हो, सम्मान हो।" (म बुढी भएकी छैन, पृ. २२)  निधारमा धर्साहरू देखिन थालेपछि आफूभन्दा अनुजहरूले भन्ने गर्छन् , ए! तिमी त बुढाे भएछौ। तिमी त  बुढी देखिन्छ्यौ। कविले पनि यस्तै शब्दवाणको प्रहार भेटिन् सायद उनी यसै  भन्छिन्।

मेरा अनुहारका धर्साहरूमा  समयसँग जुझेका कथाहरू छ। यी धर्साहरू नै भावी  पिँढीहरूलाई बाटो देखाउने, समाजलाई अघि लाने, इतिहास चिनाउने, देशलाई  नेतृत्व दिने अनि यो क्रम दोहोरिरहने आभास गराउँदै उनी बडो गर्वसाथ भन्छिन् ,"म बुढी भएकी छुइनँ ।"

ढोके, पाले हाम्रो परिचय होइन। कसैलाई ढाट्ने छल्ने हाम्रो आदत छैन आफ्नै पौरख र हिम्मत छ हामीमा अब नयाँ परिचय दिऔं गोर्खाको संसारमा। (नयाँ बाटो,पृ.२२) 

नयाँ  पुस्ता, युवा जमात, देशका सचेत इमान्दार नागरिकहरू गाउँबाट पलायन भएर देशविदेश पुगेर ढोके, पाले तथा दु:ख सास्ती खप्दै इमानदार बनेर अर्काको मुलुकमा  पसिना बगाएको देखेर कविले उनीहरूलाई  सीप सिक्ने, बुद्वि विवेक लगाउँने, अर्काको तिरस्कार नसहने आफ्नै  गाउँठाउँमा फर्केर आउने  अनि आफ्नै जन्मभूमिमा उद्याेगमा लाग्ने आव्हान गरेकी छन्। 

हजुर बाबु मलाई राम्रै  छ यहाँ

मलाई सुविस्ता आराम  मिलेकै  छ यहाँ तिमीले घर बनाइसक्यौ होला अलिक छिट्टै आउ ल छोरा ( वृद्वाश्रमबाट आमाको गन्थन छोराप्रति, पृ.५४)  कविको मन उडेर वृद्धाश्रम पुगेको छ यतिखेर। आफूझैं धेरै दु:खी आमाहरू भेटेकी छन्  त्यहाँ। आश्रमको  दैनिकी वर्णन गरेकी छन्। संसारका  धेरै आमा परिवारिक सदस्यद्वारा अपहेलित बनेर आश्रम  पुगेका दृष्यहरू पाठकको आँखामा झल्झली आइरहन्छ यो कविता पढिरहँदा।

एउटी आमा जसलाई छोराले माया मारे ता पनि एकदिन छोरा उनलाई  लिन आश्रममा आउनेछ भन्ने  आशावादी बन्दै छोरालाई फोन गरेकी छन्। यो कविता मार्मिक बनेको  छ।यो कविता मार्फत कविले आधुनिक सभ्य समाजको यथार्थ उजागर गरेकी छन्।

'समयका कणिका र रङ्ग ' यसभित्र सप्तरङ्गी इन्द्रेणी झैं ४५ रंङ्गीविरङ्गी कविता समावेश छन्। कृतिका सबै कवितालाई यो छोटो लेख मार्फत  पाठकसम्म पुरयाउन सकिएन। कविताहरूको रसास्वादन गर्न  पाठकहरूले यो कृति पढ्नै पर्ने हुन्छ।

कविता भनेका कविका  मनका  भावहरू  हुन्।  विचारहरू हुन्। प्रत्येक पाठकको बुझाइ फरक  हुन सक्छ। यसर्थ कुनै पनि  कविता पढे र पाठकले त्यो  कवितालाई आआफ्नै सोच र बुझाइ अनुसार अर्थ्याउँछन्। मेरो बुझाइमा कविले आफ्ना भावनाहरू सटीक ढङ्गमा  सजाउन  सफल भएकी छन्। उनकाे कृति 'समयका कणिका र रङ्ग' समयका कणिकाहरूलाई सुन्दर रङ्गहरू प्रदान गर्ने अमूल्य माध्यम बनेको छ। उनका कृति वा  साहित्यले समाजलाई उज्यालो दिने विश्वासका साथ उनको सिर्जनशील यात्राले अझ उचाइ प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

-अर्जुन शर्मा

प्रकाशित: ९ फाल्गुन २०८१ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App