२७ चैत्र २०८१ बुधबार
image/svg+xml ४:२७ पूर्वाह्न
कला

राहदानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार!

मुक्तक

१) मुक्तक

राहदानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार,

राष्ट्रियता मार्छ र सत्ता बचाउँछ मेरो सरकार।

पावरफुल पनि कति हो कति हेर न,

पत्रकार, न्यायलय औंलामा नचाउँछ मेरो सरकार।

२) मुक्तक

मुटुमा पीडाको पहाड लुकाउनु आइमाई हुनु हो,

वेदना कहीं कतै नफुकाउनु आइमाई हुनु हो।

हिउँको थुप्रो उधिनेर आगो ओकेल्नु अनि,

नयनमा सागर सुकाउनु आइमाई हुनु हो।

३) मुक्तक

लङ्गडो लाटो र कानो छ मेरो सरकार,

कुरा नयाँ व्यवहारमा पुरानो छ मेरो सरकार।

संविधान दिवसको दुहाई दिएर ज्यानमारा छुटाउँछ,

हेर न पानीमाथि कति ओभानो छ मेरो सरकार।

४) मुक्तक

भाव होइन शब्दमा आगो ओकल्नु छ,

चौतर्फी व्यवधानका काँडा झेल्नु छ।

हृदयमा करुणाको महासागर छचल्काउँदै,

पाइलैपिच्छे गोलाबारुदसँग खेल्नु छ।

५) मुक्तक

हाम्रै पसिना बिछ्याएर घुरिरहेछन् मालिकहरू,

आमा बेच्ने महोत्सव कुरिरहेछन् मालिकहरू।

घुसखोरी र दलाल सबलाई शिखर चढाएर,

भुइँमान्छेको भविष्य पुरिरहेछन् मालिकहरू।

६) मुक्तक

सरकारको शब्दकोशमा लाज हुन्छ कि हुँदैन,

वर्गविहीन सुनौला समाज हुन्छ कि हुँदैन?

साम, दाम, दण्ड भेद लादेर कुर्सी जोगाउनु,

सत्ताको यो बाहेक अरू काज कि हुँदैन?

७) मुक्तक

ऐंचोपैंचो अर्मपर्म छुट्यो गाउँतिरै,

सरसयोग असल कर्म छुट्यो, गाउँतिरै।

शहर त मन्दिरमा नि खल्ती छाम्छ, जोख्छ,

परोपकार मानव धर्म छुट्यो गाउँतिरै।

८) मुक्तक

तिमी सजिलै बुझ पचाउन सक्छौ, थाहा छ,

म जस्तालाई औलामा नचाउन सक्छौ, थाहा छ।

लुछेर मातृभूमिको हाड छाला मासु र अस्मिता,

आफ्ना आसेपासेलाई हसाउँन सक्छौ थाहा छ।

९) मुक्तक

सियोझैं पस्यौ र फाली बन्यौ म के गरूँ?

हाम्रो ईश्वरलाई पत्थरमा गन्यौ म के गरूँ?

सुन्छु पश्चातापको अग्निमा तड्पिंदै छौ रे,

उबेला  पैसो नै प्राण हो भन्यौ म के गरूँ?

१०) मुक्तक

तिम्रो शहरमा डढेलो लगाउने मन छ

निदाएझैं गर्नेलाई जगाउने मन  छ

एकएक गनेर जुका र ब्वाँसालाई

चार पाटा मुडी नेटो कटाउने मन छ।

प्रकाशित: २७ माघ २०८१ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App