५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम छ: प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन्।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानकाे ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्।

प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैंमा एउटा कठिन परिश्रम भएको एवं ज्ञान र क्षमताको साथै धैर्यको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरीप्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइ चिर्न यस कृति प्रशंसनीय रहेको बताए।

अहिलेको परिवेशमा प्रहरीको कार्य क्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयमिक प्रतिभा समेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रष्फुटित गरेको उनले उल्लेख गरेका थिए।

प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परासम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ता बीचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवं राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मनमस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताए।

साथै उनले प्रहरी उपरीक्षक नवीन किशोर प्रधानलाई बधाई दिंदै आगामी दिनमा अझ नवीन र सिर्जनशील रहँदै साहित्यिक क्षेत्रमा थप अग्रसर भई ख्यातिप्राप्त गर्न सफल हुन शुभकामना समेत व्यक्त गरेका थिए।

उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कथासङ्ग्रह र नाटक लोकार्पण गरेका थिए। साथै प्रहरी महानिरीक्षक कुँवरले कृति प्रकाशनमा संलग्न महानुभावहरूलाई कदरपत्र समेत प्रदान गरेका थिए।

उक्त अवसरमा प्राज्ञ डा. मधुसूदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवं लेखकको लेखन कौशलबारे चर्चा गरेका थिए।

डा. छायादत्त न्यौपाने ‘बगर’ ले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा लाेकार्पित कृतिका सर्जक प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले कृतिसम्बन्धी आफ्नो धारणा सहितको मन्तव्य व्यक्त गरेका थिए।

अक्षरधाम प्रकाशनका प्रबन्धक निर्देशक देवराज सिंखडाको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, अवकाश प्राप्त एवं बहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ श्रावण २०८१ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App