सफलता हामी सबैको सपना हो। हामी सबै यसलाई प्राप्त गर्न चाहन्छौं। हामीमध्ये धेरै कम मान्छे मात्र सफल हुन्छौं। धेरै मान्छे योजना मात्र बनाउँछन् र कार्य गर्दैनन्। यसकारण सफल हुँदैनन्। धेरै मान्छे योजना बनाउँदैनन्, काम गर्छन्। यसकारण सफल हुँदैनन्। धेरै मान्छे योजना पनि बनाउँछन् र काम पनि गर्छन् तर एक दुई पटक असफल हुँदा पनि निराश भइहाल्छन्। जसले गर्दा यिनीहरू पनि सफल हुँदैनन्।
सफलताका तीनवटा महत्त्वपूर्ण सिद्धान्त छन्: कठोर परिश्रम, कठोर परिश्रमको निरन्तरता र इमानदारीपूर्वक पालना।
सफलताको खास सूत्र वा नियम छैन। सूत्र भयो भने सबै सफल हुन्थे तर पनि सफलतामा दुई कुरा अस्त्र बन्न सक्छन्। पहिलो, सफलताको कुनै पैतृक र खानदानसित सम्बन्ध छैन। दोस्रो, जसले पनि सफलता प्राप्त गर्न सक्छ।
सफलता के हो ? सामान्य रूपमा मान्छे भौतिक समृद्धिलाई सफलता भन्छ। तर विशेष रूपमा सफलता चार प्रकारका हुन्छन्: आर्थिक समृद्धि, राम्रो स्वास्थ्य, मधुर सम्बन्ध र आध्यात्मिक ज्ञान। यी चार क्षेत्रमा सफलता प्राप्त गरेपछि मात्र खास अर्थमा सफल भन्न सकिन्छ।
सफलताका लागि ध्यान दिनुपर्ने केही कारक तत्त्व छन्:
सन्तुलित विचार
हाम्रो मन कहिले विषयको पक्षमा रहन्छ, कहिले विपक्षमा। पक्ष र विपक्षको चक्करमा फसेकाले मनमा कहिल्यै पनि शान्ति हुँदैन। हाम्रो मनले सानो सानो कुरामा पनि पक्ष–विपक्षको खेल खेल्न थाल्छ। जुन कुरामा हाम्रो कुनै सम्बन्ध हुँदैन, त्यस्तो कुरामा पनि हामी आफ्नो भावना जोडेर तर्क–कुतर्क गर्न थाल्छ। यसकारण हाम्रो मन पक्ष वा विपक्षमा नभई बीचमा रहनुपर्छ।
महात्मा बुद्ध भन्नुहुन्थ्यिो, ‘गोल्डेन मीन’। मध्यम मार्ग भन्नाले बीचको बाटो। जुन कुराबारे हामीलाई थाहा छैन, सम्बन्ध पनि छैन तर पनि पक्ष वा विपक्षमा गएर विवाद गर्छौं। सम्बन्ध बिगार्छौं। यसो गर्नु शान्ति मार्ग होइन। गीतामा पनि भगवान् कृष्ण भन्नुहुन्छ: अनाशक्त भावले काम गर्नुहोस्। तिम्रो कर्ममाथि अधिकार छ, फलमाथि होइन। यसकारण यसको चिन्ता नगर। दैनिक कार्य गर्दा तथा आफ्नो सम्बन्धमा पनि मध्यम मार्गको कुरालाई याद राख्नुहोला।
सर्वकल्याण भाव
आफ्नो काम, सम्बन्ध वा व्यापार यात्रामा जुन मान्छेले आफ्नो कल्याणको भाव राख्छ, त्यसको सफलता अपूर्ण हुन्छ, सन्तुष्टि हुँदैन र शान्ति पनि हुँदैन। उसको पारिवारिक समृद्धि हुँदैन। यसका लाखौं उदाहरण पाइन्छन्।
जसले अर्काको कल्याण भाव राखेर कार्य गर्छ वा व्यापार गर्छ, त्यसको मन शान्त हुन्छ। जसले सबैको कल्याणको भाव राखेर कार्य गर्छ, त्यो उच्च स्थानमा पुग्छ। उसलाई आन्तरिक आनन्द पनि प्राप्त हुन्छ। आधुनिक व्यवस्थापनमा यसलाई ‘थ्रिडब्लु’का नामले चिनिन्छ। थ्रिडब्लु अर्थात् तीनवटा पक्ष: पहिलो पक्ष, दोस्रो पक्ष र तेस्रो पक्ष।
सबैको जितको र कल्याणको भाव राख्नु। हिन्दु सनातन दर्शन विज्ञान सर्वकल्याणको भावमा नै आधारित छ। सर्वकल्याण भाव राखेर गरेको कार्यले शान्ति, सम्मान र सन्तुष्टि दिन्छ।
सन्तुलनको विज्ञान
यो सृष्टिको आधार नै सन्तुलन हो। आयुर्वेदमा भनिएको छ, ‘विष पनि सन्तुलित रूपमा उपयोग गरे औषधि बन्छ र अमृत पनि असन्तुलित रूपमा उपयोग गरे विष बन्छ।’
यसकारण सम्बन्ध, स्वास्थ्य, व्यापार र दैनिक कर्ममा निश्चित रूपमा सन्तुलन राख्नुपर्छ। सन्तुलन शान्ति हो, सन्तुलन शक्ति हो, सन्तुलन बुझाइ हो र सन्तुलन ज्ञानको आधार पनि हो। जसरी काम गर्न जरुरी छ, स्वास्थ्यमाथि ध्यान दिन त्यति नै जरुरी छ। यसका साथ साथ व्यक्तिगत सम्बन्धको मूल्य सम्झेर त्यसलाई समय दिनुपर्छ।
स्वीकारको नियम
जीवनमा सबै कुरा प्राप्त गर्नु भयो तर मनमा शान्ति र आनन्द छैन भने त्यो सफलता अर्थहीन हुन्छ। सबै कुरा हाम्रो सोचअनुरूप हुँदैन। एउटा भनाइ छ ‘जे सोच्छु त्यो हुँदैन, जे हुन्छ त्यसबारे सोचेको हुँदैन।’
अस्वीकार दुःख हो, असन्तुष्टि हो र तनाव हो। स्वीकार सुख हो, शान्ति हो, सफलता हो र आनन्द हो। स्वीकार भावले कार्य गर्यौं भने दैनिक शक्ति र मनमा उमंगको स्थिति बनिरहन्छ। त्यस अवस्थामा जुन काम गर्छौं, आनन्द आउँछ। यही बुझाइ नभएकाले हामी सानो ‘सानो कुरामा पनि दुःखी, व्यथित र तनावग्रस्त हुन्छौं। स्वीकार भाव जीवनको आधार हो। भगवान् बुद्ध पनि सधैं स्वीकारोक्तिकै भाव व्यक्त गर्नुहुन्थ्यो।
उच्च बुझाइ विज्ञान
भनाइ छ– जीवनमा दुईवटा उद्देश्य हुन्छन्, सफलता प्राप्त गर्नु र प्राप्त सफलतामार्फत मजा लिनु। धेरै मान्छे सफलता प्राप्त गर्दागर्दै स्वास्थ्य बिगारिसक्छन्, सम्बन्ध बिगार्छन्। अन्त्यमा दुःखी र निराश हुन्छन्। जीवन वर्तमान हो, भविष्य वा अतीत होइन। जुन मान्छे जीवनको तयारी मात्र गर्छ, त्यसले जीवनको मजा लिँदैन। त्यो सांसारिक बन्छ। जुन मान्छे आध्यात्मिक बन्छ, त्यसले जीवनको मजा लिन्छ। उच्च बुझाइको ज्ञानअनुसार वर्तमान नै असली पुँजी हो, वर्तमान नै आनन्दको आधार हो। अतीत वा भविष्य उल्झन र अशान्तिको आधार हो। यो बुझाइ नै अध्यात्म हो।
अपेक्षाको विज्ञान
मानव मनको स्वभाव हो-अपेक्षा राख्नु। यही अपेक्षाले मोह, द्वेष र लोभलाई जन्माउँछ। विवाद र दुस्मनी यहींबाट उत्पन्न हुन्छ। अधिक अपेक्षा दुःख र असफलताका लागि जिम्मेवार हुन्छ। अपेक्षा पूरा भएन भने रिस उठ्छ। रिससँगै अहंकार र अशान्ति बढ्छ। यसकारण हामीले कुनै पनि कर्म गर्दा धेरै अपेक्षा राख्नु हुँदैन।
हामीले सन्तुलित भएर अपेक्षा राख्न सक्नुहुन्छ र पूरा भएन भने उदास हुनुहुँदैन। सद्गुरु ओशो भन्नुहुन्थ्यो-कसैको अपेक्षा पूरा गर्नका लागि कोही जन्मेको होइन। सबै आफ्नो व्यक्तिगत इच्छा पूरा गर्नका लागि जन्मेका हुन्।
स्वयंको नियम
नियम छैन भने जीवन पनि छैन। हामी सबैले देशको संविधानजस्तै आफ्ना लागि केही नियम बनाउनुपर्छ अनि त्यसैअनुरूप जीवन यात्रा गर्नुपर्छ। जुन मान्छेले आफ्नो नियम वा सिद्धान्त बनाउँदैन, ऊ अर्काको नियमबाट चल्छ, चल्नैपर्छ। आफ्नो नियममा स्वतन्त्रता छ, आनन्द छ। अर्काको नियममा बन्धन छ, अपमान छ।
प्रकाशित: १९ जेष्ठ २०८१ ११:०७ शनिबार