१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

फोटोग्राफरले खिचेका तस्बिर कथा

जीवनका अनेक भोगाइ, देखाइ र बुझाइको अन्तरघुलनबाट कुनै स्रष्टाले एक बसाइमा पढिसकिने छोटो आख्यानात्मक रचनाको सिर्जना गर्छ भने त्यो कथा बन्छ। कथा वर्तमान साहित्यको अत्यन्तै लोकप्रिय विधा बनेको छ। व्यक्ति र समाजको आन्तरिक र बाह्य चरित्र प्रस्तुत गर्न, प्रकृतिलाई तस्बिरीकरण गर्न, समयको यथार्थलाई स्थापित गर्न सफल भएका कथाहरू नै उत्कृष्ट, लोकप्रिय र कालजयी बन्छन्। त्यस्ता कथाका कथाकार पनि सदासर्वदा बाँचिरहन्छन्।

‘खोक्पा’ भर्खरै प्रकाशित कथाकृति हो। कथाकार डिआर गीतकार हुन्, कवि हुन्, उपन्यासकार हुन्, नियात्राकार हुन्। उनी पछिल्लो कृति ‘खोक्पा’मार्फत कथाकार पनि भएका छन्। पेसाले फोटोग्राफर भएकै कारण डिआरका रचनामा फोटोकारिताको झलक आइरहन्छ। उनका रचनाका कहिले शब्दमार्फत, कहिले हरफमार्फत त कहिले अनुच्छेदमार्फत तस्बिरहरू प्रकट हुन्छन्।

‘खोक्पा’ कथासङ्ग्रह मानव जीवनका दुःखसुखसँग जोडिएका कथाहरूको सँगालो हो। यस कथासङ्ग्रहका कथामा नेपाली जनजीवनका विविध पाटा, घटना, कथानक र परिवेश बनेर आएका छन्। खोक्पाका कथामा गाउँले जनजीवनका तस्बिर खुला सङ्ग्रहालयमा झैं देखिन्छन्, सहरिया जनजीवनका रंगीन इन्द्रेणीहरू लर्किएका भेटिन्छन्। तिनै जनजीवनका उज्याला र अँध्यारा पक्षहरू उद्घाटित कथाहरूले कथाकार डिआरको मौलिकताको परिचय दिन्छन्। कथाहरूमा कहिले स्मरणका तरङ्गहरू झङ्कृत हुन्छन् भने कहिले वर्तमानका यथार्थहरू प्रदर्शित हुन्छन्। मस्तिष्क र मन दुवैसँग जोडिने कथाहरू पढ्दा पाठकलाई सरल र सहज पठनयात्रामा सहभागी भएको अनुभव हुन्छ।

खोक्पाका कथामा मानवता, राष्ट्रप्रेम जन्मस्थानप्रतिको आस्था र स्नेह, पर्यावरणीय समस्या, विदेश पलायन र त्यसबाट सिर्जित पीडा, युवा मनोविज्ञान, बुढ्यौली मनोविज्ञान, पशु मनोविज्ञान, पेसा र कर्मप्रतिको निष्ठता, प्रेम र सद्भावजस्ता विषय समेटिएका छन्। कथाहरू जनजीवनका समस्याहरू कोट्याउँदै जान्छन्, तिनलाई उदांगो पार्छन् र बिस्तारै समाधानको बाटो देखाउँछन्। कथाहरूमा एकातिर विघटित प्रेमले दुखाउँछ, विरह चल्छ, छाति पोल्छ, आँसु बग्छ, बिछोडको पीडाले सताउँछ, बुढ्यौलीले गलाउँछ, प्रकृति रुन्छ, मानवता विघटित हुन्छ, निराशाका नदीहरू बग्छन् भने अर्कातिर प्रेम फक्रन्छ, कर्मशीलता मुस्कुराउँछ, जीवनका नवीन रूप झल्कन्छन्, मानवता जागृत हुन्छ, पर्याप्रेम मौलाउँछ, राष्ट्रप्रेम जगमगाउँछ र आशाका दीपहरू झलमलाउँछन्।

खोक्पामा विविध स्वादका एघारवटा कथा समेटिएका छन्। खोक्पाको पहिलो कथा ‘बुढो रुख’मा मानव जीवन र प्रकृतिको सम्बन्ध एवं मानव जीवनका शाश्वत सत्यहरू मार्मिक ढङ्गबाट प्रकट भएका छन्। दोस्रो कथा ‘पुच्का’ले व्यावसायिक जीवनमा अठोट र लगनशीलताको नमुना प्रस्तुत गर्दै गरिखान बिदेसिनुपर्दैन, यही छ अवसर भन्ने सन्देश प्रवाह गरेको छ। कथा ‘परिवर्तन’ले देशलाई माया गर्नेहरूको योजना प्रस्तुत गर्छ भने चौथो कथा ‘परिणाम’ले पैसा र विलासिताले निम्त्याउने समस्या र पारिवारिक सम्बन्धको विघटन, कुलतको भयङ्कर डरलाग्दो संक्रमणलाई उद्घाटित गरेको छ। अर्को कथा ‘हराएको नाता’मा छोराछोरी विदेशमा भएका आमाबुबाको पीडा प्रकट भएको छ। ‘रवि’ कथामा प्रेम, बिछोड र मिलनको चक्र घुमेको छ। युवतीहरूले बेहोर्नुपरेको सामाजिक समस्या उद्घाटित छन्।

मार्मिक भाव सम्प्रेषण गर्ने कथा ‘नयाँ बाकस’मा वैदेशिक रोजगारी, पारिवारिक विघटन र रोजगारीका सिलसिलामा विदेशमा रहने युवाका मृत्युका कारणहरूको उत्खनन भएको छ भने अर्को कथा ‘गाडधन’ले गाउँघरको सामाजिक परिवेश, नफर्कने गरी बिदेसिएका सन्तान र घरजग्गा, धनसम्पत्तिको सदुपयोगलाई आफ्नो कथानक बनाएको छ। ‘लाहुरेको निसानी’ भूपू लाहुरेहरूको जीवन र लाहुरेहरूको देशप्रेम, विकास र निर्माणप्रेमको विषयवस्तु समेटिएको कथा हो। ‘मायाको चिनो’ प्रेम, विरह, जातीय विभेद, मिलन र खुसीको सेरोफेरोमा घुमेको कथा हो। त्यस्तै कथा संग्रहको अन्तिम कथा ‘लँगडो साथी’मा घोडा र घोडावालको बाध्यात्मक र मार्मिक दिनचर्या प्रस्तुत भएको छ।

पूर्वेली मिथक बोल्ने शब्द ‘खोक्पा’ शीर्षक बनेको यस सङ्ग्रहका कथामा पूर्वेली बोलीचालीको भाषाले नौलो र मिठो स्वाद प्रदान गरेको छ। कथाहरूका विषयवस्तु, परिवेश र घटनाहरूले अधिकांश साधारण जनजीवनका पात्रहरूको चरित्र प्रस्तुत गरेका छन्।

कथामा चयन भएका समस्या र समाधानका उपायहरू एकै प्रकारले निर्मित भएजस्ता लाग्छन्। कथाको भाषालाई अझ छरितो बनाउन सकिने ठाउँ देखिन्छ। समाधानहरू जादुमयीजस्ता लाग्छन्, अलिक अस्वाभाविकजस्ता देखिन्छन्। सङ्ग्रहमा यस्ता केही कथानकीय सीमासमेत छन्।

प्रकाशित: १५ वैशाख २०८१ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App