क्षेत्रीय कार्यालय अन्तर्गत ११ जिल्लाका १२ वटा स्टेशनमा मापन गरिएका न्यूनतम र अधिकतम तापक्रम तथा वर्षाको विवरणको भ्वाइस रेकर्ड फोनमै सुन्न सकिन्छ।
फोन गरेर बिहान र बेलुकाको मौसम सम्बन्धी जानकारी लिन सक्ने यो सेवालाई नेपाल टेलिकमले ‘नोटिस बोर्ड' नाम दिएको छ। टेलिकमको १६१८०६१४६५२९९ नम्बरमा डायल गरेपछि यस क्षेत्रको मौसम सम्बन्धी जानकारी पाउन सकिन्छ। उक्त नम्बरमा डायल गरी मौसमको जानकारी लिंदा प्रति मिनेट एक कल बराबरको शुल्क लाग्छ। दैनिक दुईपटक (बिहान र साँझ) मौसम सम्बन्धी जानकारी एउटै नम्बरमा फोन गरेर एकैपटक सयौंले सुन्न सकिन्छ।
कार्यालय प्रमुख सुदिप कायस्थले पोखरा सरुवा भई आए लगत्तै सन् २०१२ मे महिनाबाट यो सेवा सुरु गरेका हुन्। उनकाअनुसार नेपालमै पहिलोपटक पोखराबाट थालिएको हो। पोखरालाई पछ्याउँदै सुर्खेत कार्यालयले पनि नोटिस बोर्ड सेवा सुरु गरिसकेको छ। जल तथा मौसम विज्ञान विभागले समेत अनुकरणीय मानेको यो सेवा छिटै धरानमा सुरु हुने क्रममा छ। राजधानीस्थित केन्द्रमा पनि यसको तयारी थालिएको कायस्थले जानकारी दिए।
उनकाअनुसार पोखरास्थित कार्यालयले मातहतका रुपन्देही, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, पर्वत, बाग्लुङ र मुस्ताङ जिल्लाको दैनिक बिहान र बेलुकाको मौसमी विवरण उक्त नम्बरमा डायल गरेपछि सुन्न सकिने गरी उपलब्ध गराउँदै आएको छ। आफुले पासवर्डका आधारमा फोनमार्फत् नै टेलिकमको सिस्टममा सन्देश रेकर्ड गराएपछि अरुले फोन डायल गरी उक्त सन्देश सुन्न सक्ने यसको विशेषता हो।
‘मौसमको अपडेट जानकारी बिहान र बेलुक साढे ६ बजेपछि जोकोहीले सुन्न सक्छन्' कायस्थले नागरिकसँग भने,‘हामीले बिहान र बेलुका ६ बजेसम्मको मौसमी विवरण लिएर टेलिकमको सिस्टममा आफैं रेकर्ड गराउँछौं।'
यसअघि मौसम सम्बन्धी जानकारी लिन इन्टरनेट खोल्नुपर्ने वा सम्बन्धित कार्यालयमा फोन गरेर माग्नुपर्ने अवस्था थियो। अन्यत्रका मौसम सम्बन्धी कार्यालयमा अहिले पनि त्यही शैली अपनाउनु पर्छ। इन्टरनेट नहुँदा र कार्यालय बन्द भएपछि फोन उठाउने व्यक्ति नहुँदा मौसमको जानकारी पाइन्नथ्यो।
अहिले न्यूनतम र अधिकतम तापक्रम तथा वर्षाको विवरण मात्र दिंदै आए पनि छिटै मौसमको भविष्यवाणी दिने सन्देश पनि समावेश गर्ने सोचाई रहेको कायस्थले जानकारी दिए।
टेलिकम पोखराका सेल्स प्रमुख राजेश रेग्मीले हावापानी कार्यालयको इच्छा र आफ्नो पहलमा सुरु गरिएको मौसम सम्बन्धी ‘नोटिस बोर्ड' सेवाबाट एकैपटक धेरै क्षेत्रका व्यवसायी र व्यक्तिले लाभ लिने गरेको बताए। उनकाअनुसार धेरै एयरलाइन्स कम्पनीदेखि हवाई यात्रु र घुमफिरमा निस्कनेले मौसमको जानकारी लिन नोटिस बोर्ड सुन्ने गरेका छन्।
सेवा प्रदायक कम्पनीले टेलिकमबाट पाउने पासवर्डका आधारमा जहाँसुकैबाट आफ्नो सन्देश रेकर्ड गराउन, अपडेट गर्न र परिवर्तन गराउन सक्छन्। यस्तो सेवाका लागि तोकिएको नम्बरमा डायल गर्दा प्राप्त हुने एक-एक कल बराबरको आम्दानी भने पूर्णरुपमा टेलिकमको हुन्छ। हावापानी कार्यालयले डायल संख्याका आधारमा निश्चित रोयल्टी टेलिकमसँग पाए सेवा सञ्चालन खर्च जुटाउन सकिने उल्लेख गरेको छ। नयाँ काम भएकाले कार्यालय प्रमुख र उनका एक सहकर्मी अतिरिक्त पारिश्रमिक नलिई यसमा खटेका छन्। कायस्थकाअनुसार सार्वजनिक बिदा वा अन्य कुनै दिन यो सेवा नियमित गर्नुपर्ने भएकाले यसमा दैनिक खटिने कर्मचारीका लागि कार्यालयसँग कुनै बजेट छैन।
प्रकाशित: २८ पुस २०६९ २२:१६ शनिबार





