नेपालमै यस्ता संस्था खुलेकाले जागिर खोज्नेलाई मात्र होइन आफ्नो कम्पनीमा दक्ष जनशक्ति चाहनेलाई पनि सजिलो भएको छ। बेरोजगारको संख्या वृद्धि भइरहेकाले यस्ता साइटमा आफ्नो विवरण राख्नेहरू पनि बढिरहेका छन्। ‘अहिलेका युवा पुस्ता जागिर खोज्न अफिसअफिस धाउन चाहँदैनन्,' डेढ वर्षअघि देखि सञ्चालन भएको मेरो जब डट कमकी रिकुटमेन्ट संयोजक सविना गुरुङ पोखरेलले भनिन्, ‘सूचना प्रविधिको पहुँचमा हुनेहरु अनलाइनबाटै रोजगारको खोजि गर्छन्।'
केही वर्षअघिदेखि सञ्चालनमा आएका रिकुटमेन्ट एजेन्सीका साइटमा व्यक्तिगत विवरण राख्नेहरुको संख्या बढ्नुले पनि अनलाइनमार्फत जागिर खोज्नेको वृद्धिलाई दर्शाउँछ। ‘अनलाइनबाट जागिर खोज्न सजिलो हुने रहेछ,' मेरो जब डट कममार्फत जनता बैंकमा जागिर पाएकी पञ्चलक्ष्मी श्रेष्ठले भनिन्, ‘अनलाइनमा विवरण नराखेको भए मैले यति चाँडै जागिर पाउने थिइनँ होला।' उनले एमबिएस पास गरेपछि साथीको इमेलबाट आएको लिंकलाई आधार मानी ‘मेरो जब'मा विवरण राखेको बताइन्। ‘विवरण राखेपछि उतैबाट फोन आयो,' श्रेष्ठले भनिन्, ‘अन्तरवार्ता दिएपछि जागिर पक्का भयो।'
पञ्चलक्ष्मी जस्तै धेरैले यस्ता संस्थामार्फत रोजगारीको बाटो पहिल्याएका छन्। ‘हाम्रोमा अहिले ३० हजारभन्दा बढीको यस्तो विवरण छ,' मेरो जबका ग्राहक सम्बन्ध एक्जुकेटिभ विष्णु कार्कीले भने। उनले दैनिक २० देखि २५ हजारले आफ्नो वेबसाइट हेर्ने गरेको बताए। मेरो जबमा दैनिक ५० देखि एक सय जना जतिले आफ्नो विवरण राख्ने गर्छन्।
रियल सोलुसन्सले सञ्चालन गरेको मेरो जब नेपाली रिकुटमेन्ट साइटहरुमा सबैभन्दा बढी चलेको दाबी सञ्चालकको छ। एलेक्सा डट कमले गरेको मूल्याङ्कनमा यो साइट नेपाली साइटमध्ये १६औं र रिकुटमेन्ट साइटमा पहिलो नम्बरमा पर्छ।
संसारमै सबैभन्दा चलेको नोकरी डट कम जस्तै गरी नेपालमा पनि रिकुटमेन्ट एजेन्सी चलाउने दौडमा सञ्चालकहरू लागेका छन्। नेपालमा हाल रियल सोलुसन्स, ग्रोथ सेलर, जब डाइनामिक्स, मिडिया गुरुलगायत संस्थाहरू रिकुटमेन्ट एजेन्सीको दौडमा देखिएका छन्। जब्सनेपाल डट कम, बिएमजब्स् डटकम, जेनेपाल डट कम, जबसिकारी डट कमलगयत वेब पोर्टलले पनि रोजगारी खोजिदिने गरेका छन्।
यस्ता कम्पनीले दक्ष जनशक्ति खोज्ने कम्पनीका विज्ञापनहरु आफ्नो वेबसाइटमा राखिदिने, जागिर खोज्नेको विवरण संकलन गर्ने, उनीहरुको अन्तर्वार्ता लिने, उपयुक्त जागिर खोजिदिने, कम्पनीलाई दक्ष जनशक्ति सिफारिस गरिदिनेलगायतका काम गर्छन्।
कसैले जागिर खोज्नेसँग शुल्क लिएर कुनै कम्पनीमा जागिर लगाइदिन्छन् भने कसैले दक्ष जनशक्तिको खोजिमा रहेकाहरुसँग शुल्क लिएर उपयुक्त व्यक्ति छनोट गरिदिन्छन्। ‘जागिर खोज्नेसँग पैसा लिने वा पहिलो महिनाको तलब शुल्क बापत लिने कम्पनी पनि छन्,' विएम जब्स डट कम डट एनपीकी प्लेसमेन्ट अफिसर सविता कार्कीले भनिन्, ‘हामी मान्छे खोज्ने कम्पनीसँगै शुल्क लिन्छौं।'
सन् २००३ बाट सुरु भएको विएम जब्समा हालसम्म ६० हजारले आफ्नो विवरण राखिसकेको कार्कीले बताइन्। उनले आफ्नो कम्पनीले मासिकरुपमा १५ देखि २० जनालाई विभिन्न कम्पनीमा जागिर दिलाउने गरेको जानकारी दिइन्। ‘जागिर खोज्ने त धेरै हुन्छन् तर दक्ष जनशक्ति कम हुँदा कम्पनीहरुले पनि अनलाइन मार्फत नै विज्ञापन गर्न रुचाउन थालेका छन्।'
मानव संसाधनसम्बन्धी काम गर्दै आएको ग्रोथ सेलरले पनि अहिले छुट्ट रिकुटमेन्ट वेब पोर्टल चलाएको छ। ग्रोथजब्स अनलाइन डट कम सञ्चालनमा ल्याएको उसले विभिन्न कम्पनीले गरेका विज्ञापनलाई निःशुल्क वेवसाइटमा राखिदिनुका साथै शुल्क लिएर उपयुक्त व्यक्ति छनोटसमेत गरिदिन्छ। तीन महिनाअघिदेखि सञ्चालन गरिएको यो वेबसाइटमा हाल १० हजारभन्दा बढीले आफ्नो विवरण राखिसकेका छन्।
‘यति छोटो अवधिमा हाम्रोमा धेरैले विवरण राखिसकेको छन्,' ग्रोथ सेलरका प्रबन्ध निर्देशक मोहन ओझाले भने, ‘कर्पोरेट हाउसहरु पनि अनलाइनमार्फत नै दक्ष जनशक्ति लिन उत्सुक छन्।' उनले कतिपय संस्थाले आफ्नो नामसहित विज्ञापन गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले अनलाइन विज्ञापन गर्न समस्या हुने गरेको बताए।
ओझाले नेपालमा आधा दर्जनभन्दा बढी रिकुटमेन्ट एजेन्सीले जागिर खोजिदिने काम गरिरहेको जानकारी दिए। रिकुटमेन्ट एजेन्सी मात्र होइन केही अनलाइन पोर्टलले कम्पनीको विज्ञापन छापेबापत उपयुक्त जनशक्तिलाई र कम्पनीबीच मध्यस्तकर्ताको काम समेतगर्ने थालेका छन्। वैदेशिक रोजगार डट कम सञ्चालन गर्ने मिडिया गुरुले यस्तै मध्यस्तकर्ताको काम गरिरहेको प्रमुख कार्यकारी अधिकृत ब्रजेश नेपालले बताए।
‘हामी रिकुटमेन्ट एजेन्सी होइनौं,' नेपालले भने, ‘तर हाम्रोमा आएका विज्ञापनमा आवेदन दिने व्यवस्था गरेर सम्बन्धी मेनपावरलाई उपयुक्त जनशक्तिको विवरण पठाइदिन्छौं।' आफ्नो साइटमा दैनिक १० देखि १५ जनाले यस्तो आवेदन दिने गरेको उनले बताए।
बैंक, फाइनान्स, बिमा कम्पनी, कर्पोरेट हाउसहरु, एनजिओ, आइएनजिओलगायतलाई आफ्नो वेवसाइटमार्फत विज्ञापन गराउने दौडमा पनि यस्ता कम्पनी लागेका छन्। अधिकांश रिकुटमेन्ट एजेन्सीले अहिले पत्रपत्रिकामा प्रकाशित यस्ता कम्पनीका विज्ञापन निःशुल्क राखिदिने गरेका छन्। ‘अहिले कम्पनीहरु पनि अरु धेरै झन्झट उठाउनु भन्दा अनलाइनबाटै जनशक्ति खोजीमा लाग्न थालेका छन्,' ओझाले भने।
यस्ता कम्पनीहरुले आवेदकलाई विभिन्न किसिमका तालिम पनि दिने गरेका छन्। उनीहरुले सामान्य निवेदन लेख्ने तरिकादेखि मानव संसाधनका विविध पक्षको तालिम दिएर उपयुक्त जागिर मिलेपछि आवेदकलाई खबर गरिदिने गरेका छन्।
प्रकाशित: १६ श्रावण २०६७ १६:५० आइतबार





