२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

दुई मोबाइल कम्पनीलाई एउटै फ्रिक्वेन्सी दिएपछि विवाद

रामचन्द्र भट्ट, काठमाडौं, साउन १६ - दुई मोबाइल टेलिफोन सेवा दिने कम्पनीलाई दूरसञ्चार प्राधिकरणले एउटै फ्रिक्वेन्सी दिएपछि विवाद सुरु भएको छ। एउटै फ्रिक्वेन्सीमा दुई सेवा प्रदायकलाई मोबाइल चलाउन दिएको विरोधमा टेलिकमले स्मार्टको मोबाइललाई 'इन्टरकनेक्सन' दिएको छैन।

  प्राधिकरणले नेपाल टेलिकम र भरखरै मात्र जिएसएम मोबाइएल सुरु गरेको स्मार्ट टेलिकमलाई एउटै फ्रिक्वेन्सी दिएको छ। जिएसएम ९०० मेगाहर्ज व्याण्डमा प्राधिकरणले स्मार्टलाई २ दशमलव ४ मेगाहर्ज फ्रिक्वेन्सी दिएको छ। यो फ्रिक्वेन्सी नेपाल टेलिकमसँग खोसेर दिइएको हो।

'हाम्रो मोबाइललाई अहिलेसम्म टेलिकमले इन्टरकनेक्सन दिएको छैन, छलफल भैरहेको छ,' स्मार्टका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्यले भने। स्मार्टले एक महिना अघिदेखि मोबाइल टेलिफोन चलाउन सुरु गरेको हो।

टेलिकमले स्मार्टलाई इन्टरकनेक्सन नदिएपछि उसको विस्तारमा समस्या परेको छ। 'हामी भरखरै सेवा सुरु गरेको कम्पनी भएकोले इन्टरकनेक्सन नहुँदा ग्राहक बढ्न सकेका छैनन्,' बज्राचार्यले भने। स्मार्टको ९६१ नम्बरबाट सुरु हुने मोबाइल नम्बरमा टेलिकमको मोबाइल, साधारण फोनबाट कुराकानी गर्न सकिदैन।

एनसेल र युटिएलले भने स्मार्टसँग इन्टरकनेक्सन गरिसकेका छन्। आफ्नो फ्रिक्वेन्सी खोसेर स्मार्टलाई दिएपछि टेलिकमले इन्टरकनेक्सन नदिएको हो। इन्टरकनेक्सन नभएसम्म टेलिकमको उपभोक्ताले स्मार्ट र स्मार्टका उपभोक्ताले टेलिकमको मोबाइलमा कुराकानी गर्न सक्दैनन्।

'स्मार्टले मागेको इन्टरकनेक्सनको विषयमा हामी अध्ययन गर्दैछौं,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। टेलिकमले अध्ययन गरिरहेको भनेपनि आफ्नो फ्रिक्वेन्सी खोसेर स्मार्टलाई दिएको भन्दै प्राधिकरणका अधिकारीहरुसँग धेरै पटक आपत्ति जनाइसकेको छ। केही दिन पहिले टेलिकमका उच्च अधिकारीहरुले प्राधिकरणमा गएर फ्रिक्वेन्सी खोसेको विषयमा आपत्ति जनाएका थिए।

टेलिकमले स्मार्टलाई इन्टरकनेक्सन नदिनुको अर्को कारण ग्रामीण क्षेत्रको लागि लाइसेन्स पाएका कम्पनीलाई धमाधम मोबाइल चलाउन पाउने प्रावधान थपिदिनु हो। 'स्मार्ट, नेपाल स्याटेलाइटलाई मोबाइल चलाउन लाइसेन्स दिएको विषयमा टेलिकमले धेरै बैठकमा आपत्ति जनाइसकेको छ,' प्राधिकरणका एक अधिकारीले बताए।

प्राधिकरणले एक महिना अघि टेलिकमले प्रयोग गरिरहेको अस्थायी फ्रिक्वेन्सी खोसेर स्मार्टलाई दिने निर्णय गरेको थियो। टेलिकमलाई ९०० मेगाहर्जमा ४ दशमलव ८ मेगाहर्ज व्याण्डविथ अस्थायी रुपमा दिएको थियो।

मोबाइलको फ्रिक्वेन्सी फिर्ता लिएकै कराणले गर्दा टावर बढाउनुपर्ने र त्यसको निम्ति थप करोडौं रुपैयाँ खर्च गर्नुपर्ने दावी टेलिकमका अधिकारीहरुले गरिरहेका छन्। यही असन्तुष्टी अहिले स्मार्टलाई इन्टरकनेक्सन नदिनुमा देखिएको छ।

अरु कम्पनीले लिएको अस्थायी फ्रिक्वेन्सी फिर्ता नगरेर टेलिकमकै फिर्ता गरेकोमा यसले धेरै आपत्ति जनाएको छ। 'अरुले पनि अस्थायी लिएका छन्, तर हामीलाई पहिलेनै हमला गरियो, यसप्रति हाम्रो आपत्ति छ,' टेलिकमका अर्का एक उच्च अधिकारीले नागरिकसँग भने।

मोबाइल टेलिफोनको प्रविधिमा जति धेरै फ्रिक्वेन्सी लियो टावर थोरै राखे हुन्छ। फ्रिक्वेन्सी कम हुँदा टावर धेरै बढाउनुपर्ने हुन्छ।

टेलिकलाई दिएको अस्थायी ४ दशमलव ८ मध्य २ दशमलव ४ मेगाहर्ज व्याण्डविथ फिर्ता लिने निर्णय भएको हो। यसमध्य २ दशमलव ४ मेगाहर्ज स्मार्टलाई दिइएको छ।

एउटै फ्रिक्वेन्सी दुई कम्पनीले प्रयोग गर्दा तत्कालको लागि कुनै समस्या नभएपनि केही महिनाभित्र समस्या आउनसक्ने प्राविधिकहरु बताउँछन्। 'इन्टरकनेक्सन नदिनु प्रतिस्पर्धा नीति विपरित काम हो,' दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने।

प्राधिकरणले गरेको निर्णय चित्त नबुझे प्रतिवाद गर्नुपर्ने अन्यथा प्राधिकरणको निर्देशन पालना गर्नुपर्ने समेत उनले बताए। एउटै फ्रिक्वेन्सी दुई मोबाइल सेवा प्रदायक कम्पनीले प्रयोग गर्दा फ्रिक्वेन्सी जुधेर दुबै कम्पनीका उपभोक्ताले सेवा नपाउने अवस्था आउनसक्छ। 

प्रकाशित: १५ श्रावण २०६७ २३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App