एपिएफका भोजबहादुर गुरुङ र देविनगरका सक्षम ढकालले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा सुखद सुरुआत गरेका छन्।
नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको पुरुष एकलको अन्तिम ३२ को खेलमा एपिएफका भोजबहादुरले आर्मीका सुप्रिम पन्थलाई २१–१७ र २२–२० तथा देविनगरका सक्षमले आर्मीका पबिन लिङ्थेपलाई २१–१७ र २१–१८ ले हराए। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। सो अवसरमा राष्ट्रिय महिला फुटबल टोलीकी प्रीति राईलाई आयोजकले नगद २५ हजारसहित सम्मान गरेको थियो।
ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसापत्र र नगद प्रदान गरी सम्मान गरे। सोही अवसरमा नेपाल लोकतान्त्रिक खेल संघ, ललितपुरका अध्यक्ष पुनीत गुरुङ, बुद्ध एयरका क्याप्टेन शैलेश लिम्बू, ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जन, शोभा चोक टोल सुधार समितिका अध्यक्ष पुरन राई, सिजन श्रेष्ठ, गम्भीर महतलगायतले पनि प्रोत्साहनस्वरूप व्यक्तिगत रूपमा प्रीतिलाई नगद पुरस्कार प्रदान गरेका थिए।
आयोजक क्लबको कभर्डहलमा चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा ६ स्पर्धामा १ सय ३१ खेलाडी सहभागी छन्। सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ८५ हजार रूपैयाँ रहेको छ।
पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय/७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्। पुरुष सिंगल्समा शीर्ष ८ वरीयताबाहेकका खेलाडी सहभागी छन्। यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५/५ हजार नगद पुरस्कार हात पार्नेछन्।
शीर्ष २० वरीयता बाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १०/१० हजार नगद पुरस्कार जित्नेछन्। मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले सात हजार ५ सय/७ हजार ५ सय नगद पुरस्कार पाउनेछन्। भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०/१० नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: २ चैत्र २०८१ ०८:४१ शनिबार