उत्कृृष्ट सुरुआत गरेका तोरणविक्रम शाहीले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा बुधबार पनि अग्रता कायमै राखेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ को पाँचौं प्रतिस्पर्धा एनपिजिए टुरको दोस्रो दिन बुधबार पनि तोरणविक्रमले अग्रता कायमै राखेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणविक्रमले चार अन्डर ६८ प्रदर्शन गर्दै दोस्रो दिनको खेल पूरा गरे।
समग्रमा उनी ११ अन्डर १३३ मा छन्। यससँगै उनले आफ्ना निकट प्रतिद्वन्द्वी नीरज तामाङलाई तीन स्ट्रोकले पछि पारे। धरानका प्रोफेसनल गल्फर नीरजले दिनकै उत्कृष्ट प्रदर्शन गरेता पनि तोरणविक्रमलाई भेट्टाउन सकेनन्। उनले पाँच अन्डर ६७ को प्रदर्शन गरेका थिए। जुन दिनको उत्कृष्ट प्रदर्शन हो।
समग्रमा भने उनी आठ अन्डर १३६ को स्कोर कार्डमा छन्। तोरणविक्रमले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे। उनले तीन अन्डर ३३ सहित फ्रन्ट नाइनको खेल पूरा गरे। यस क्रममा उनले बोगी खेप्दै खेलको सुरुआत गरे। तर, दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै तोरणविक्रमले खेल लयमा ल्याए।
ब्याक नाइनमा भने तोरणविक्रमको एक अन्डर ३५ को प्रदर्शन रह्यो। यस क्रममा उनले १०औं र १२औं होलमा बोगी खेप्दा राम्रो सुरुआत हुन सकेन। यद्यपि, उनले कम ब्याक गरे र १३औं, १७औं र १८औं होलमा समान एक सट बचाए। तोरणविक्रमलाई पछ्याएका नीरजले दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा बोगीरहित खेले।
यस क्रममा नीरजले फ्रन्ट नाइन चार अन्डर ३२ र ब्याक नाइन एक अन्डर ३५ मा सकाए। यो क्रममा उनले तेस्रो होलमा एक सट बचाए। त्यसपछि उनले पाँचौंदेखि सातौं होलमा लगातार तीन बर्डी प्रहार गरे।
१२औं होलमा पनि नीरजले बर्डी प्रहार गर्दै शीर्षता कायम गरेका तोरणविक्रमलाई दबाब दिएका छन्। टंकबहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए। यी दुई समग्रमा दुई अन्डर १४२ को स्कोर कार्डमा छन्। दुवैले समान इभन पार ७२ मा दोस्रो दिनको खेल पूरा गरे।
नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जयराम श्रेष्ठले पाँचौं स्थान ओगटे।
तीनै समग्रमा एक अन्डर १४३ सहित संयुक्त रूपमा पाँचौं स्थानमा रहे। भुवनले दुई अन्डर ७०, रमेशले एक अन्डर ७१ र जयरामले एक ओभर ७३ को स्कोर प्रदर्शन गरे। एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्य इभन–पार १४४ सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
बुधबार राहुलले तीन अन्डर ६९ को प्रदर्शन गरे। यस क्रममा उनको दोस्रो, तेस्रो र सातौं होलमा बर्डी रह्यो। तर, आठौं होलमा भने उनी बोगी खेप्न पुगे। यससँगै फ्रन्ट नाइन दुई अन्डर ३४ मा पूरा गरे। यसपछि ११औं र १२औं होलमा एक सट बचाए।
राहुलले पार–४ को १४औं होलमा इगलको सफलता प्राप्त गरे। तर, १३औं, १६औं र १७औं होलको बोगी खेपेपछि राहुल ब्याक नाइन एक अन्डर २५ मा पूरा गर्न बाध्य भए। सद्भावले भने इभन–पार ७२ को स्कोर गरे। ३६ होलको समाप्तिमा २२ प्रो र चार एमेच्योर गरी कुल २६ गल्फरले कट (१३ ओभर १५७ स्कोर गरेका) पार गरेका छन्। प्रोतर्फ भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, सुनील केसी, दीपक मगर, भूबहादुर गुरुङ, बलभद्र राई, धनबहादुर थापा, रवि खड्का, सुरेश तामाङ, शिवराम पौडेल, भीमसेन चौलागाई र राजेन्द्र श्रेष्ठ प्रधानले कट बनाए। एमेच्योरतर्फ राहुल र सद्भावसँगै बाबु पौडेल र कवि थापाले कट पार गरेका छन्।
प्रकाशित: १५ फाल्गुन २०८१ १०:०६ बिहीबार