मिसन २०२६ को तयारीमा रहेको नेपाली पुरुष कबड्डी टोलीले बाङ्लादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ।
आगामी फागुन १० गतेदेखि १६ गतेसम्म बाङ्लादेशको ढाकामा नेपालले घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन् २०२६ मा हुने २०औं एसियन गेम्सको तयारीका लागि सुरु गरेको मिसन–२०२६ मा नेपाली पुरुष कबड्डी टोली पनि समावेश छ।
सोही मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बाङ्लादेशसँग अभ्यास खेल्दै छ। राखेपका सदस्यसचिव टंकलाल घिसिङले मंगलबार आयोजित कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेका थिए।
उक्त कार्यक्रममा अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव अरविन्द झा र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टलगायत थिए। घनश्याम रोकामगरको कप्तानीमा १४ सदस्यीय नेपाली टोली छन्।
अन्य सदस्यमा प्रमोदकुमार श्रेष्ठ, सुशील चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिषकुमार कुर्मी, सुरोज बोहोरा, सोहिल इस्लाम, सबिन बुहाजु, रामु टमटा, गणेश पार्की र भुवन बोहरा छन्। टोलीको प्रशिक्षणमा लोकबहादुर विष्ट र म्यानेजरमा खेमराज चम्लगाईं छन्।
संघका सदस्य निराजन श्रेष्ठ र नवराज श्रेष्ठ पनि बिहीबार बाङ्लादेश जानेछन्। नेपालले पहिलो खेल फागुन १० र दोस्रो खेल ११ गते खेल्नेछ। त्यसपछि तेस्रो खेल फागुन १३ र चौथो खेल फागुुन १५ गते खेल्ने तालिका छ।
नेपालले निर्णायक तथा पाँचौं खेल भने फागुन १६ गते खेल्दै बाङ्लादेश भ्रमण टुङ्गाउनेछ। बिदाइको अवसरमा राखेप सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल राख्न संघलाई सुझाव दिए।
घिसिङले जसरी पनि २०२६ को एसियन गेम्स पदक ल्याउन यो अभ्यास खेल महत्त्वपूर्ण पाइला रहेको उल्लेख गरे। नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधार मिसन २०२६ मा समावेश भएको उनको भनाइ छ। राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले एसियन गेम्समा महिला कबड्डी टोलीले पदक ल्याएपछि पुरुष टोलीलाई पनि आगामी संस्करणमा पदक जित्न चुनौती रहेको धारणा राखे।
प्रकाशित: ७ फाल्गुन २०८१ ०९:०३ बुधबार