सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि भिडन्त हुँदै छ।
यस एनपिएलमा सुदूरपश्चिम सबैभन्दा बढी (सात) खेल जित्ने टोली हो भने जनकपुरले कुल तीन हार सामना गर्नुपरेको छ। तीनमध्ये दुई हार जनकपुरले सुदूरपश्चिमसँग नै सामना गरेको हो। जुन प्रतिद्वन्द्वीसँग जनकपुर शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्दै छ। खेल मध्याह्न १२ः१५ बजे सुरु हुनेछ। यसै संस्करणमा तेस्रोपल्ट यी दुई आमनेसामने हुँदा क्रिकेटप्रेमी लागि बहुप्रतेक्षित खेल पनि बनेको छ। दुई दिनअगाडि नै फाइनलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
त्यसैले उद्घाटनमा जस्तै फाइनलमा पनि दर्शकको बाक्लो उपस्थिति हुनेमा दुई मत छैन। यसअघि यी दुईबीचको नतिजा हेर्ने हो भने सुदूरपश्चिम हाबी हुन सक्छ। तर, फाइनल खेल भएकाले दुवै दबाबमा पनि रहनेछन्। त्यसकारण फाइनल प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। एनपिएलको आधा खेल सकिँदा नै सुदूरपश्चिम र जनकपुरलाई स्वाभाविक रूपमा उपाधि दाबेदारका रूपमा हेरिएको थियो। सोहीअनुरूप प्रदर्शन हुँदा अनुमानअनुरूप नै सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त तय भयो। फाइनलमा जनकपुरले अली बढी दबाबमा महसुस गर्नेछ।
जनकपुरका कप्तान तथा ब्याटर अनिल साह चोटका कारण बाहिर छन्। यस्तोमा जनकपुरको ब्याटिङले पनि संघर्ष गर्दै आएको थियो। सुदूरपश्चिम, चितवन र कर्णालीसँग जनकपुरको ब्याटिङ कमजोर देखिएको थियो। दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध ब्याटर चल्न नसक्दा झन्डै जनकपुरको यात्रा फाइनल अगाडि नै समाप्त हुने अवस्था आएको थियो। तर, न्युजिल्यान्डका अलराउन्डर जिमी निसम चम्किँएपछि जनकपुर फाइनलमा पुग्न सफल भएको हो। उपाधिभिडन्त अगाडि नै सुदूरपश्चिमसँग जनकपुरले दुईपल्ट प्रतिस्पर्धा गरेको थियो।
दुवै खेल सुदूरपश्चिमले सहजै जित्दा जनकपुरले कमजोर ब्याटिङ गरेको थियो। जनकपुर लिगमा सुदूरपश्चिमसँग ७२ रनले नतिजा सुम्पिन बाध्य भयो। जतिबेला जनकपुर ५१ रनमा अलआउट भएको थियो। जुन एनपिएलमा अहिलेसम्मकै कम योगफल पनि हो। पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेटको फराकिलो निकाल्दा जनकपुरको ब्याटिङ राम्रोसँग चल्न सकेन। तर, जनकपुरका कप्तान आसिफ शेखले ब्याटिङमा यसपल्ट सुधार गर्ने विश्वास व्यक्त गरेका छन्।
‘यसअघि राम्रो ब्याटिङ नहुँदा दुई खेल गुमाएका हौं। त्यतिबेला सुरुआत राम्रो हुन सकेन र ब्याटिङ चल्न नसक्दा हार बेहोर्नुपर्यो,’ ओपनर तथा कप्तान आसिफले भने, ‘यसपल्ट पावरप्लेमा राम्रो रन जोड्नेछौं। त्यसपछि आउने ब्याटरलाई सहज हुनेछ। अन्तिम चार ओभरमा पनि राम्रो बटुल्ने योजना छ।’ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र जनकपुरलाई सहज प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारेका छन्। ‘जनकपुरसँग यसअघि कस्तो नतिजा आयो ध्यान दिने छैनौं। किनकि जनकपुर बलियो टोली हो। नयाँ योजनाका साथ खेल्नेछौं,’ दीपेन्द्रले भनेका छन्। पिचको अवस्था अनुरूप ब्याटिङ गर्ने दीपेन्द्र बताउँछन्।
जनकपुरका कप्तान आसिफले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने बताएका छन्। ‘बदलाभन्दा पनि उत्कृष्ट क्रिकेट खेल्न चाहन्छौं। ट्वान्टी–२० मा एक बल र एक विकेटले नतिजा के हुन्छ भन्ने सकिँदैन,’ उनले भने, ‘त्यसैले हरेक बलमा ध्यान दिएर खेल्छौं।’ मैदानमा जसले कम गल्ती गर्छ त्यसको जित सम्भव हुने उल्लेख गर्दै आसिफले फाइनलमा यस अघिका गल्ती कम गर्ने बताएका छन्। जनकपुरको सबैभन्दा कमजोर पक्ष शीर्ष क्रमका ब्याटरले राम्रो सुरुआत दिन नसक्नु हो। दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पनि शीर्ष ब्याटर चल्न नसक्दा जनकपुर हारको संघारमा पुगेको थियो।
अन्य ब्याटर लयमा नहुँदा जिमीले भने निडरपूर्वक ब्याटिङ गर्दै आएका छन्। बलिङमा भने जनकपुर बलियो छ। स्पिनर ललित राजवंशी र किशोर महतो उत्कृष्ट लयमा छन्। ललित १६ विकेटसहित शीर्ष विकेटकर्ता हुन्। जुन सुदूरपश्चिमका लागि चुनौती बन्नेछ। सुदूरपश्चिमको भने अहिलेसम्म ब्याटिङ र बलिङमा सन्तुलित नै देखिएको छ। स्कट कुग्गेलिन र हरमित सिंह सुदूरपश्चिको बलिङ हतियार हुन्। स्कट पनि १६ विकेटसहित शीर्षमा नै छन्। सुदूरपश्चिमको ब्याटिङमा तल्लो क्रमसम्म खेल्न सक्ने क्षमता पनि छन्। कप्तान दीपेन्द्र, ओपनरद्वय विनोद भण्डारी र सैफ जैब र ब्रान्डन म्याकमुलन राम्रो लयमा देखिएका छन्।
त्यसैले जनकपुरका लागि पनि उपाधि प्रतिद्वन्द्वी सहज हुने छैन। उसले यसअघि दिएको प्रदर्शनभन्दा उत्कृष्ट गर्नु पर्ने नै छ। यस्तो हुँदा पहिलो संस्करणको उपाधि भिडन्त रोचक बन्न सक्छ।
प्रकाशित: ६ पुस २०८१ ०८:२२ शनिबार