नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधानले केन्द्रीय समितिबाहेक अरूले गरेको कार्यक्रमलाई महाधिवेशन भनेर नचिन्ने बताएका छन्।
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि कांग्रेसभित्र आधिकारिकताको विवादमा चुलिएको छ। आज बिहानै संस्थापन पक्ष निर्वाचन आयोग पुगेको छ। सोही क्रममा कार्यवाहक सभापति खड्कासहितका नेताहरूले आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीहरूसँग कांग्रेसको विधानले केन्द्रीय समितिबाहेक अरूले गरेको कार्यक्रमलाई महाधिवेशन भनेर नचिन्ने बताएका हुन्। उनले भने, 'कांग्रेसको विधानले केन्द्रीय समितिबाहेक अरूले गरेको कार्यक्रमलाई महाधिवेशन भनेर चिन्दैन।'
'नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नै समिति बाहेक कुनै पनि निकाय वा व्यक्तिले पार्टीको सभापति कार्यवाहक सभापति पदाधिकारी सदस्य व्यक्तिले वा कुनै समूहले कांग्रेसको कुनै पनि तहको कुनै पनि प्रकृतिको अधिवेशन गर्ने अध्याय राख्दैन,' उनले भने।
भर्खरै सम्पन्न भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको बताए।
उनले उक्त जानकारी आयोगमा गारइसकेको जिकिर गरे। 'गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिसकेको र त्यसको जानकारी आयोगलाई पठाइसकिएको छ,' उनले छलफलका क्रममा भने।
प्रकाशित: २ माघ २०८२ ११:०४ शुक्रबार





-600x400.jpg)