२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप वुमेन्सः पहिलो खेलमै नेपालसँग इतिहास रच्ने अवसर

नेपाली महिला क्रिकेट अहिले राम्रो स्थितिमा छ। अन्तर्राष्ट्रिय शृंखलाहरू कम भए पनि नेपालमा पर्याप्त घरेलु क्रिकेट प्रतियोगिता हुन थालेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले पनि कुनै प्रतियोगिता खेल्न जानुअघि राम्रै लगानी गर्न थालेको छ। लामै समय बन्द प्रशिक्षण पनि राखेको छ। त्यसैले श्रीलंकास्थित रंगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबारदेखि सुरु हुने महिला एसिया कपले नेपाली क्रिकेट टोली अब कहाँ पुग्न सक्छ भन्ने विश्लेषण गर्न मद्दत मिल्नेछ।

यो प्रतियोगितामा नेपालले एक खेल मात्रै जिते ऐतिहासिक बन्नेछ। होइन भने यो प्रतियोगितामा भारत र पाकिस्तानजस्ता दुई ठूला टेस्ट राष्ट्रबाट प्राप्त गर्ने बहुमूल्य अनुभव त आफ्नो ठाउँमा छँदै छ। नेपाली राष्ट्रिय टोलीका निवर्तमान कप्तान रुबिना क्षेत्री यस्तै भन्छिन्। ‘टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाएका छौं। मैले र सीता (रानामगर)ले यी राष्ट्रका खेलाडीसँग खेलेका पनि छौं। त्यसैले अलिकति सहज हुन सक्छ। जे होस् यी राष्ट्रसँग खेल्दा ठूलो प्रतियोगितामा सहभागिता जनाउन तयारी हुनेछ,’ उनी भन्छन्।

जुलाई २००७ मा मलेसियामा भएको एसिसी महिला प्रतियोगिताबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको यो टोलीले दुईपल्ट (सन् २०१२ मा चीन र २०१६ मा थाइल्यान्डमा) एसिया कपमा स्थान बनाइसकेको छ। जहाँ श्रीलंका, भारत, चीन, बंगलादेश, थाइल्यान्डजस्ता टोलीसँग खेलेको नेपालको प्रदर्शन सम्झनलायक छैन। यस्तोमा तेस्रोपल्ट सहभागी नेपाललाई प्रतियोगिताको पहिलो खेलमा युएईको सामना गर्दा त्यो तीतो इतिहास बदल्ने अवसर छ।

‘पहिलो टार्गेट भनेकै युएई हो। हामीले पछिल्लो दुई वर्षदेखि यो टोलीसँग खेल्ने मौका पाएका छैनौं। युएईसँग राम्रो खेलेर कुनै टेस्ट राष्ट्रलाई पराजित ग¥यौं भने सेमिफाइनल पुग्न सक्छौं,’ उनले भनिन्। रुबिनाले जस्तो लक्ष्य राखेकी छन्, त्यस्तो गर्न पक्कै सहज भने हुने छैन। युएई र नेपालबीच अहिलेसम्म चार खेलमा भेट भएको छ। जसमा युएई एक र नेपाल दुई खेलमा विजयी छन्। दुई खेल भने नतिजाविहीन छ। तर, इशा रोहित ओजाको कप्तानी रहेको युएई पछिल्लो समय एसोसिएट राष्ट्रकै बलियो टोली हो। यो टोलीले गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपको फाइनलमा घरेलु टोलीलाई ३७ रनले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। नेपाल भने हङकङ, भुटान, माल्दिभ्सलाई समूहचरण र क्वार्टरफाइनलमा कुवेतजस्तो कमजोर राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्म पुगेको थियो। तर, मलेसियासँग चार विकेटले पराजित भएसँगै नेपाल एसिया कपमा स्थान बनाउन असफल भयो। पछि एसियन क्रिकेट परिषद् (एसिसी) ले प्रतियोगितामा आठ टोलीलाई समेट्ने निर्णय गरेसँगै नेपालले पनि एसिया कप खेल्ने मौका पाएको हो।

दुई वर्षअघि नेपाल र युएईको भेट भएको थियो, एसिसी ट्वान्टी–२० महिला च्याम्पियनसिपको सेमिफाइनलमा। तर, खेल वर्षाका कारण नतिजाविहीन भयो। त्यसैले समूहचरणमा निकालेको नतिजाको आधारमा नेपाललाई पछि पार्दै युएई फाइनलमा पुग्यो। जहाँ मलेसियालाई पाँच विकेटले पराजित गर्दै युएईले एसिया कपमा डेब्यु गर्‍यो। एक वर्षअघि आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा पनि नेपाल र युएईबीच समूहचरणमै भेट भयो। तर, उक्त खेल वर्षाका कारण नतिजाविहीन भयो। दुवै टोली अपराजित रहे पनि नेट रनरेटको आधारमा युएई समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो भने नेपाल दोस्रो स्थानमा रहेर। सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएर नेपाल बाहिरियो। हङकङलाई हराउँदै फाइनल पुगेको युएईले भने थाइल्यान्डमाथि ६ रनको रोमाञ्चक जित हासिल गर्दै ग्लोबल क्वालिफायर (आइसिसी महिला टी–२० विश्वकप क्वालिफायर २०२४) मा स्थान बनायो।

युएईले ट्वान्टी–२० विश्वकप क्वालिफायरमा पनि सानदार प्रदर्शन गरेको थियो। नेदरल्यान्ड्स र भानुआतुलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको यो टोली श्रीलंकासँग १५ रनले पराजित हुन पुग्यो। गत मे अन्त्यमा श्रीलंकासँग प्रतिस्पर्धात्मक क्रिकेट खेलेको युएई एसिया कप खेल्न उसैको भूमिमा पुगेको छ। नेपाल भने पाँच महिनादेखि अन्तर्राष्ट्रिय क्रिकेटविहीन छ। तर, यो प्रतियोगितामा सहभागिता जनाउनुअघि उसले श्रीलंका क्रिकेट बोर्डको डेभलपमेन्ट महिला टोलीसँग अभ्यास खेल खेल्ने अवसर पाएको छ। पहिलो र दोस्रोमा पराजित भएको नेपालले अन्तिम खेलमा भने दुई रनको रोमाञ्चक जित हासिल गर्न सफल भएको थियो। त्यो जितले नेपालको हौसला बढेको छ।

सबै क्षेत्रमा सुधार

नेपाली महिला टोली पछिल्लो समय फिल्डिङ, ब्याटिङ र फिटनेसमा कमजोर देखिएको छ। यसै कारण नेपालले पाएको धेरै मौका गुमाएको छ। तर, यसपल्ट करिब दुई महिना बन्द प्रशिक्षणमा बसेको टोलीले यी क्षेत्रमा सुधार गरेको कप्तान इन्दु बर्मा बताउँछिन्। ‘हामीले केमा काम गर्नुपर्छ भनेर छलफल गरेर सुधार गरेका छौं। त्यसैले यसपल्ट हामीले एसिया कपमा राम्रो प्रदर्शन गर्छौं भन्ने आशा छ,’ उनले सुनाइन्। यसपल्ट पूर्वकप्तान तथा राष्ट्रिय ‘ए’ टोलीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि प्रशिक्षण दिएका थिए। उनी टोलीमा जोडिँदा फिल्डिङ र ब्याटिङमा सुधार भएको उनको भनाइ छ। त्यस्तै, फिटनेसमा पुरुष टोलीका ‘ट्रेनर’ अब्दुल सत्तारले पनि महिला टोलीलाई सहयोग गरेका छन्। त्यसले गर्दा प्रदर्शनमा सहयोग हुने इन्दु बताउँछिन्। उनी भन्छिन्, ‘अब हामी गिभ अप गर्दैनौं, लड्छौं।’

नेपालले युएईसँग शुक्रबार खेलेपछि आइतबार पाकिस्तान र मंगलबार समूहचणको अन्तिम खेलमा भारतको सामना गर्नेछ। पाकिस्तान सन् २०१२ र २०१६ को उपविजेता टोली हो। भारतले भने २०१८ को संस्करणबाहेक अन्य सबैमा उपाधि (सातपल्ट) जितेको छ। उक्त संस्करणमा भने बंगलादेशसँग भारत तीन विकेटले पराजित भएको थियो। मुख्य प्रशिक्षक कटवाल सबै क्षेत्रमा सुधार भएका कारण भारत र पाकिस्तानजस्ता बलिया टोलीलाई पनि नेपाल चुनौती दिन सक्षम रहेको दाबी गर्छन्। यसका लागि उनी यी दुई टोलीलाई १०० रनमै रोक्नुपर्ने बताउँछन्। ‘हामीले धेरै कुरामा सुधार गरेका छौं। यो ट्वान्टी–२० क्रिकेट हो।

१०० रनमै यी दुई टोलीलाई समेट्न सक्यौं भने जित हासिल गर्न सक्छौ,’ उनले सुनाए।

नेपाल समूहचरणमा उत्कृष्ट दुईमा रहे सेमिफाइनलमा पुग्नेछ। सेमिफाइनलमा पुग्न सके नेपालले अन्य एक खेलमा आफ्नो अनुभव बटुल्ने मौका पाउनेछ। जुन नेपालको लक्ष्य हो।

प्रकाशित: ४ श्रावण २०८१ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App