१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।

यसै वर्ष फ्रान्समा हुने पेरिस पारालिम्पिकका लागि आइतबार छनोट भएसँगै पलेशाले यो सफलता पाएकी हुन्। पारातर्फ भने छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्।

छिमेकी राष्ट्र चीन उनको सफलताको यात्रामा विशेष बनेको छ। गत अक्टोबरमा मात्र उनले चीनमा सम्पन्न चौथो पारा एसियन गेम्समा कांस्य पदक जितेकी थिइन्। यो नेपाली पारा खेलकुदका लागि पहिलो सफलता थियो। आइतबार चीनकै ताइयाङमा सम्पन्न एसियाली छनोट प्रतियोगिताबाट पनि पलेशाले ऐतिहासिक सफलता दोहोर्‍याइन्।

उनको दुवै ऐतिहासिक सफलता कविराज नेगी लामाको प्रशिक्षणमा प्राप्त भएको हो। के–४४ क्याटागोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जितिन् र पेरिस पारालिम्पिक यात्रा तय गरिन्। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तीनवटै खेलाडी तेक्वान्दोका हुन्। यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक र दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए। जुन सफलताको यात्रामा तेक्वान्दोकै खेलाडी जोडिएकी छन्। संगीना र दीपक दुवैले आइतबार सामाजिक सन्जालमार्फत पलेशाले बधाईसमेत दिए।

विश्वको ११औं वरीयता प्राप्त पलेशाले आइतबार फाइनलमा १४औं वरीयता प्राप्त इरानकी लेइला मिर्जाइलाई ५–४ ले हराउँदै स्वर्ण चुमेकी हुन्। त्यसअघि पलेशाले सेमिफाइनलमा उज्बेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन्।

 पारा छनोटको प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारा ओलम्पिकलाई छनोट हुने प्रावधान छ र पलेशाले पनि स्वर्ण नै जितिन्। पलेशा गत टोकियो पारालिम्पिक २०२० मा कांस्य पदकनजिक पुगेर चुक्दा ओलम्पिकमा पदक जित्ने सपना अधुरै रहेको थियो।

यस पटक त्यो अधुरो सपना पूरा गर्ने लक्ष्यमा पेरिसको तयारी गर्ने प्रशिक्षक कविराज नेगी लामाले बताएका छन्। ‘यो सफलताका लागि पलेशाले धेरै मिहिनेत गरेकी छन्। पलेशाको प्रशिक्षक हुँ भन्दा गर्वको महसुस भएको छ। त्यसैले उनलाई धन्यवादसँगै बधाई दिन चाहन्छु। यो समग्र देशकै सफलता हो,’ उनका प्रशिक्षक कविराजले भने, ‘टोकियो पारालिम्पिकमा पदक नजिक पुगेर चुकेका थियौं। आगामी पारालिम्पिकमा त्यो अधुरो सपना पूरा गर्न कडा मिहिनेत गर्नेछौं।’

चीनकै सांघाईस्थित तोङ्जी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेकी पलेशाले पनि आगामी पेरिस २०२४ मा स्वर्ण पदक ल्याउने आशा व्यक्त गरेकी छन्। ‘देशका लागि यो सुखद क्षण हो। मेरो यात्रामा साथ दिने घरपरिवार, प्रशिक्षक र संघलाई धन्यवाद दिन चाहन्छु। म चीनमा नै अध्ययन गरिरहेकाले यो प्रतियोगिताको तयारी गर्न निकै सघंर्ष गर्नुपरेको थियो। यद्यपि, स्वर्ण जित्न सफल भएँ,’ पलेशाले भनिन्, ‘आशा छ, आगामी पेरिस २०२४ पनि यसरी स्वर्ण पदक जित्न सकुँ।’

यो प्रतियोगिताका लागि पलेशा नेपालमा नै छनोट प्रतियोगिता खेलेर चीनको सांघाई गएकी थिइन्।

सांघाईबाटै उनी छनोट खेल्न ताइयान पुगेकी थिइन्। यो छनोटमा नेपालबाट पलेशासहित तीन खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। तर, पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमिर ब्लोन भने पदकविहीन भए। भरतले एक ‘बाउट’ जितेका थिए। तर, दोस्रो खेलमा भने उनी इन्डोनेसियाका खेलाडीसँग स्तब्ध बन्न पुगे। 

प्रकाशित: ५ चैत्र २०८० ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App