गएका १५ वर्षको अवधिमा किशोर किशोरीमा ५० प्रतिशतले मोटोपन बढेको एउटा अध्ययनले देखाएको छ। यसको अर्थ, बाँकी आधा किशोर किशोरी पनि चाँडै नै मोटोपनको शिकार हुने बाटोमा रहेको अध्येताहरूले चेताएका छन्।
यो अध्ययन आउँदो महिना युरोपेली कंग्रेसमा पेश गरिने भएको छ। ब्रिस्टोल रोयल हस्पिटल फर चिल्ड्रेनका चिकित्सक दिनेश गिरिको अगुवाईमा यो अध्ययन भएको अब्जर्भर अखबारले जनाएको छ।
बेलायतमा सन् २००८ देखि २०२३ को अवधिमा गरिएको अध्ययनमा किशोर किशोरीमा पर्याप्त मोटोपन बढेको निष्कर्ष निकालिएको हो। यस्तो हुनुमा अति तारेको भुटेको खानाहरू खानु, खेलकूदका गतिविधि कम हुनु, बढीजसो स्क्रिनमा टाँस्सिनु, पर्याप्त निद्रा नपुग्नु तथा मानसिक स्वास्थ्यको चुनौती थपिनुजस्ता कारण रहेको अध्येताहरूको निष्कर्ष छ। त्यसैले अस्वस्थकर जीवनशैली त्याग्नुपर्ने सुझाव पनि उनीहरूको छ।
शोधकर्ताहरूले विभिन्न क्लिनिक तथा अस्पतालहरूबाट तथ्यांकहरू संकलन गरेका थिए। क्लिनिक तथा अस्पतालहरूमा आएका किशोर किशोरीहरूमध्ये बढ्ता मोटोपन, कम वजन भएका किशोरकिशोरी तथा स्वस्थ मोटोपन गरी तीन भागमा बाँडिएको थियो।
यसका लागि शोधकर्ताहरूले एक लाख ३९ हजार दुई सय ५८ मोटोपनको शिकार भएका पाएका थिए भने एक लाख ४० हजार नौ सय ९० जना मोटोपनतर्फ अग्रसर किशोरकिशोरी पाएका थिए भने पाँच लाख ६० हजार सात सय ८९ किशोरकिशोरीहरू भने स्वस्थ वजनयुक्त पाएका थिए।
शोधकर्ताहरूका अनुसार, जो गरीब क्षेत्रमा बसोबास गर्छ, उनीहरूको वजन स्वस्थकर पाइएको छ। जो धनी इलाकामा बसोबास गर्छन् र सम्पन्न छन्, उनीहरूमा मोटोपन बढी देखिएको समेत अध्येताहरूले बताएका छन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: १ वैशाख २०८२ ०७:२९ सोमबार