१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?

चीनले सन् २०२५ मा महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसमध्ये ‘तियानवेन–२’ क्षुद्रग्रह अन्वेषण मिसन प्रमुख छ। 

यो मिसनले पृथ्वीनजिकको क्षुद्रग्रह ‘कामोआलेवा’ मा पुगेर अध्ययन र नमुना सङ्कलन गर्नेछ। नमुना सन् २०२७ मा पृथ्वीमा फर्काइने र त्यसपछि यानले मुख्य बेल्टको धूमकेतु ३११पी/प्यानस्टार्सको अध्ययनका लागि यात्रा गर्नेछ।  

क्षुद्रग्रह अन्वेषण मिसनले सौरमण्डलका साना ग्रहजस्ता वस्तुहरूको बनावट, उत्पत्ति, सतह र गति अध्ययन गर्छ। यस्ता मिसनले सौरमण्डलको इतिहास बुझ्न र पृथ्वीलाई खतरनाक क्षुद्रग्रहबाट जोगाउने उपाय पहिल्याउन सहयोग गर्छ।  

चीनले ‘शेञ्चौ–२०’ र ‘शेञ्चौ–२१’ मानवसहितका यान पनि सन् २०२५ मा प्रक्षेपण गर्नेछ। यी यानहरूले अन्तरिक्ष अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्नेछन्।  

अन्तरराष्ट्रिय सहकार्यमा, चीन र युरोपले सूर्यको हावाले पृथ्वीको चुम्बकीय क्षेत्रमा पार्ने प्रभाव अध्ययन गर्ने ‘स्माइल’ मिसन सञ्चालन गर्नेछन्। यस्तै, चीन र इटालीले भूकम्प पूर्वानुमानका लागि विद्युतचुम्बकीय निगरानी उपग्रह निर्माण गरिरहेका छन्।  

चीनले बेल्ट एन्ड रोड, ब्रिक्स र युरोपेली साझेदारहरूसँग चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना, संयुक्त अध्ययन र प्रविधि आदानप्रदानको योजना अघि बढाएको छ। साथै, उपग्रह सेवामार्फत कृषि, विपद् व्यवस्थापन र स्मार्ट सहर निर्माणमा अन्य देशलाई सहयोग गर्नेछ।  

चीनले अप्रिल २४ मा ‘चीन अन्तरिक्ष दिवस’ मनाउनेछ। शाङ्घाइमा उद्घाटन समारोह, अन्तरिक्ष प्रदर्शनी, सांस्कृतिक गोष्ठी र शैक्षिक सम्मेलन आयोजना हुनेछन्। देशभर ६५० सार्वजनिक कार्यक्रम, विद्यालय खुला, वैज्ञानिक कक्षा, प्रदर्शनी, प्रतियोगिता र कार्यशाला सञ्चालन हुनेछन्।  

थाइल्याण्डलाई यस वर्षको विशेष अतिथि राष्ट्र बनाइएको छ। चीन र थाइल्याण्डले चन्द्र–अभियान, संयुक्त उपग्रह निर्माण र पृथ्वी अवलोकनमा सहकार्य विस्तार गर्नेछन्।  

चीनले सन् १९७० मा पहिलो उपग्रह ‘तुङफाङहोङ–१’ प्रक्षेपण गरेको सम्झनामा सन् २०१६ देखि अप्रिल २४ लाई ‘चीन अन्तरिक्ष दिवस’ का रूपमा मनाउँदै आएको छ। सिन्ह्वा

प्रकाशित: ५ वैशाख २०८२ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App