१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अपराध

गाजामा बमबारीको छायाँमा खुम्चिएको क्रिसमस, लेबनानमा ड्रोन आक्रमण

इजरायली बमबारी र ड्रोनको निरन्तर आवाजबीच गाजाको ख्रीष्टियन समुदायले यस वर्षको क्रिसमस अत्यन्त शान्त र भयाक्रान्त वातावरणमा मनाएको छ। गाजामा रहेको अल जजिराको टोलीका अनुसार एन्क्लेभको पूर्वी भागबाट रातभरि सुन्निएको बम विस्फोट र ड्रोनको गुञ्जन बिहानसम्मै जारी रह्यो।

युद्धको त्रासका कारण गाजाका धेरैजसो चर्चहरूले क्रिसमससम्बन्धी सार्वजनिक कार्यक्रमहरू घटाएका वा पूर्ण रूपमा रद्द गरेका छन्। उत्सवको साटो चर्चभित्र सानो घेरामा प्रार्थना र निजी भेटघाटमा सीमित हुनुपरेको अल जजिराका संवाददाता हानी महमूदले जनाएका छन्। उनका अनुसार “यसपटक क्रिसमसमा उत्सवको वास्तविक अनुभूति नै थिएन।”

यसैबीच, लेबनानको पूर्वी बेकाआ उपत्यकामा इजरायली ड्रोन आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा इरानी कुद्स फोर्सका एक सदस्य मारिएको इजरायलले दाबी गरेको छ।

गाजामा इजरायलले थालेको युद्ध सन् २०२३ अक्टोबरदेखि अहिलेसम्म भीषण मानवीय संकटमा परिणत भएको छ। उपलब्ध तथ्यांकअनुसार, गाजामा कम्तीमा ७० हजार ९४२ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १ लाख ७१ हजार १९५ जना घाइते भएका छन्। उता, सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा १ हजार १३९ जनाको ज्यान गएको थियो भने करिब २०० जना बन्धक बनाइएका थिए।

निरन्तर हिंसा र असुरक्षाबीच गाजाका अल्पसंख्यक ख्रीष्टियन समुदाय मात्र होइन, सम्पूर्ण सर्वसाधारणको दैनिक जीवन गहिरो पीडामा डुबेको छ।

 

प्रकाशित: १० पुस २०८२ २०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App