१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनको रास इसा बन्दरगाहमा अमेरिकी आक्रमण : ७४ को मृत्यु, १२५ घाइते

अमेरिकी सेनाले हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार यमनको रास इसा इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा ७४ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ। आक्रमणमा १२५ जना घाइते भएका छन्। प्रारम्भिक जानकारीमा बन्दरगाह ध्वस्त भएको र २० जनाको मृत्यु भएको उल्लेख थियो।  

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीको इन्धन र कोषको स्रोत बन्द गर्नु रहेको बताएको छ। सेन्टकमको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सेनाले इरान समर्थित हुथी आतङ्ककारीका लागि इन्धनको यो स्रोत समाप्त गर्न र उनीहरूलाई अवैध राजस्वबाट वञ्चित गर्न कदम चालेको छ। दश वर्षभन्दा बढी समयदेखि जहाजहरूलाई आतङ्कित पार्ने हुथी प्रयासलाई आर्थिक सहयोग गरेको छ।’ 

विज्ञप्तिमा थपिएको छ, ‘यी आक्रमणको उद्देश्य हुथीको शक्तिको आर्थिक स्रोत कमजोर पार्नु हो। हुथीले यमनी नागरिकलाई शोषण र पीडा दिइरहेका छन्।’

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले पाँच प्यारामेडिकसहित २० जनाको मृत्यु पुष्टि भएको तर मृतक सङ्ख्या धेरै भएको बताए। उनले सामाजिक सञ्जाल एक्समा लेखे, ‘अमेरिकी आक्रमणपछि रास इसा तेल बन्दरगाहमा कम्तीमा ५० जना कामदार र कर्मचारी घाइते भएका छन्। केही मृत शरीरका अङ्गको पहिचान हुन बाँकी छ। मृतकको सङ्ख्या अझै बढ्न सक्छ।’  

वासिङ्टनले मार्च १५ देखि रेड सी र एडेनको खाडीमा असैन्य र सैन्य जहाजमाथिको हुथी आक्रमण रोक्न दैनिकजसो हवाई आक्रमण गरिरहेको छ। हुथीले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाउँदै यस्ता आक्रमण सुरु गरेका थिए। इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आएको क्षेप्यास्त्र रोकेको जनाएको छ।  

वासिङ्टनले यस वर्ष हुथीलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरे पनि अमेरिकी लगानीका जहाजले रास इसा बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेका छन्। एएफपी

प्रकाशित: ५ वैशाख २०८२ २१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App