भरतपुर महानगरपालिका स्थित विस्तारित पुलचोक–गोन्द्राङ सडक खण्डको उद्घाटन भोलि (शुक्रबार) हुने भएको छ। चार वर्ष लगाएर निर्माण गरिएको ६ लेन सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका हुन्।
सडक डिभिजन कार्यालय चितवनका अनुसार २०८१ सालको पुस मसान्तमा निर्माणसम्पन्न भएपनि औपचारिक रुपमा भोली उद्घाटन गर्न लागिएको हो।
विसं २०७७ असोज २६ गते ठेक्का सम्झौता भएको नारायणगढको पुलचोकदेखि पूर्वतर्फ गोन्द्राङसम्मको यो सडक एसियन मापदण्डमा निर्माण पूरा भएको सडक डिभिजन कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ इन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिए।

दुई वर्ष चार महिनामा निर्माण सम्पन्न गर्नेगरी सगुन कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। तर, सडक विस्तारका क्रममा सडकमा बनाइएका भौतिक पूर्वाधारका कारण विभिन्न झन्झट झेल्नुपरेको थियो। दुई पटक म्याद थप गरेपछि सडक विस्तारको काम सम्पन्न भएको वरिष्ठ इन्जिनियर लामिछानेले सुनाए।
फुटपाथ सहित ५० मिटर चौडाइको सडक निर्माण भएको छ। जसमा दुई सहायक लेन सहित ६ लेनको सडक बनेको उनले बताए।
यस सडकमा ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीको तार भूमिगत गरिएको छ। चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी लायन्सचोकको खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ढल निर्माण गरिएको छ।
निर्माण सकिए पनि पाँच वर्षसम्म सडक बिग्रिएमा मर्मतको काम ठेकेदारले नै गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।
सडकको बिचमा दुबो लगाउने र आकर्षक फूलका बिरुवा रोप्ने काम भएको छ। सडकमा ट्राफिक चिह्न राख्ने, जेब्रा क्रस लगायत लाइनिङका कामले सडक आकर्षक देखिएको छ।

स्थानीय रुटमा चल्ने सवारीलाई सर्भिस लेनबाट चलाउनुपर्नेमा मुख्य सडक क्षेत्रमा नै अटो, म्याजिक तथा स्थानीय रुटका सवारी गुडिरहेका छन्।
विसं २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। सङ्घीय सरकारको बजेटमा निर्माण भएको सडकलाई महानगरपालिकाले आफ्नो गौरवको योजना भएको बताएको छ।
विशेषगरी नेकपा (माओवादी केन्द्र) ले यस सडकलाई रेनु दाहालको प्रयासमा बनेको बताएको छ। तर, अन्य राजनीतिक दलले यसको खण्डन गर्दै आएका छन्।
विशेष गरी नेपाली कांग्रेस र नेकपा (एमाले) ले सङ्घीय सरकारको बजेटमा बनेको सडकलाई भरतपुर महानगरपालिकाले गरेको भनेर प्रचार गरेको दाबी गरेका छन्।
सडकको शिलान्यास गर्दा अनुपस्थित रहेकी महानगरपालिका प्रमुख दाहालले प्रधानमन्त्री सडकको उद्घाटन गर्न आउनु महानगरका लागि गौरवको विषय भएको बताएकी छन्।
‘विषम परिस्थितिमा पनि सम्माननीय प्रधानमन्त्रीले समय छुट्टाएर सडक उद्घाटन गर्न आउन लाग्नुभएको छ, हाम्रा लागि पनि खुसीको कुरा हो र गौरवको कुरा पनि हो’,उनले भनिन्।
उनले भरतपुर महानगरपालिकाको सक्रियतामा सडक बनेको भन्दै प्रधानमन्त्रीलाई महानगरमा स्वागत र धन्यवाद दिने समेत बताइन्।
छ लेन सडक निर्माणमा धेरै पहल गरेकै कारण अहिले यो सम्भव भएको भरतपुर महानरपालिका प्रमुख रेनु दाहालको दाबी छ। नेकपा एमाले निकट युवा संगठनले सडक उद्घाटन पूर्व र्याली समेत निकालेको छ।
प्रकाशित: ४ वैशाख २०८२ १९:१३ बिहीबार