१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वविद्यालय खेलकुदमा टियुको दबदबा

क्याप्शन

पहिलो पटक सुरु भएको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (टियु) ले दबदबा बनाउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित सोमबारदेखि सुरु दुईदिने विश्वविद्यालय खेलकुदमा कुल चार खेल विधामा प्रतिस्पर्धा भएको छ। तीमध्ये एथलेटिक्स र टेबल टेनिसको प्रतिस्पर्धामा टियुले स्वर्ण पदकमा दबदबा बनाउँदा अन्य खेलमा पनि चुनौती प्रस्तुत गरेको छ।

हरि रोकायाको प्रशिक्षणमा रहेको एथलेटिक्समा टियुले पहिलो दिन नै पाँच स्वर्ण जित्दै वर्चस्व कायम राख्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एथलेटिक्सतर्फ पहिलो दिन ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भयो। जहाँ सुदूरपश्चिम विश्वविद्यालयले मात्र एक स्वर्ण आफ्नो बनाउन सफल भयो। एथलेटिक्सतर्फ पुरुष एक हजार पाँच सय मिटर दौडमा टियुका शेरबहादुर अधिकारीले स्वर्ण जिते।

उनले निर्धारित दूरी चार मिनेट ३०.१ सेकेन्डमा पूरा गरे। टियुकै विकेश घिमिरेले रजत तथा सुदूरपश्चिमका खेमराज जोशीले कांस्य पदक जिते। यसै स्पर्धाको महिलामा पनि टियुकै राज्यलक्ष्मी रावलले सफलता पाइन्। उनले निर्धारित दूरी पाँच मिनेट २५.५ सेकेन्डमा तय गरिन्।

काठमाडौं विश्वविद्यालयका आल्सा रेग्मीले रजत र लुनिया त्वायनाले कांस्य पदक जिते। पुरुष चार सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए। उनले निर्धारित दूरी तय गर्न ५६.३५ सेकेन्ड समय खर्चे। टियुका दिवस रेग्मीले रजत तथा गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते।

सो स्पर्धाको महिलामा टियुकी अनामिका देवकोटाले एक मिनेट १५.३५ सेकेन्ड समय निकाल्दै स्वर्ण जितिन्। सुदूरपश्चिमकी भावना पाण्डेले रजत र गण्डकीकी कृति गिरीले कांस्य पदक जितिन्। पुरुष लङजम्पमा पनि टियुका दिवस रेग्मीले स्वर्ण जिते। उनले ६.२७ मिटर जम्प गरे।

सुदूरपश्चिमाञ्चलका मुकेश विष्टले रजत र लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ताले कांस्य पदक जिते। सोही स्पर्धाको महिलामा टियुकी संचिता घिमिरेले स्वर्ण चुमिन्। संचिताले ४.२४ मिटर जम्प गरिन्। लुम्बिनीकी रमिता रावतले रजत र सुदूरपश्चिमकी भावना पाण्डेले कांस्य पदक जिते।

टेबल टेनिसमा पनि टियु सफल

टियुले एथलेटिक्ससँगै टेबल टेनिसमा पनि वर्चस्व कायम गरेको छ। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको टेबल टेनिसको पुरुष डबल्समा टियुका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले स्वर्ण जित्यो। यो जोडीले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३–० को सोझो सेटमा हरायो।

पोखरा विश्वविद्यालयका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकी विश्वविद्यालयका अनुष कुँवर र दीपेश रानाभाटको जोडीले संयुक्त रूपमा कांस्य पदक जित्यो। पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र टियुका रजोजमान ढकु स्वर्णनजिक पुगेका छन्।

गनन्जयले टियुका आदित्य धौनियालाई र टियुका रजोजमानले काठमाडौं विश्वविद्यालयका प्राञ्जयप्रकरण श्रेष्ठलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। महिला सिंगल्समा टियुकी लसता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३–० तथा पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले टियुकी गीताञ्जली गुरुङलाई ३–२ ले पन्छाउँदै फाइनलमा स्थान बनाए।

भलिबलमा पनि टियु सेमिफाइनलमा

टियुले जावलाखेलस्थित जावलाखेल खेलकुद प्रशिक्षण केन्द्रमा जारी पुरुष भलिबलमा सेमिफाइनलमा स्थान बनाएको छ।

भलिबलमा पनि सेमिफाइनल समीकरण पूरा भएको छ। कृषि तथा वन विश्वविद्यालयले टियु तथा पोखरा विश्विद्यालयले मध्यपश्चिम विश्वविद्यालयसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

सोमबार नै प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। सो अवसरमा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी, सदस्य पेमाडोल्मा लामा, बिना श्रेष्ठ र दीपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो। यस प्रतियोगितामा १० विश्वविद्यालयका २८० खेलाडीले कुल २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रकाशित: २३ माघ २०८० ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App