३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एशियाड तयारीमा रहेका भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण

चीनको हाङझावमा हुने १९ औं एशियाड सुरु हुन अब दुईमहिना मात्रै बाँकी छ। दुईमहिना बाँकी हुँदा छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन्। केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ।   

गत शनिबार मात्रै भारोत्तोलनका खेलाडीहरु पोखरा आईपुगेका छन्। उनीहरुलाई मंगलबार विहान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा कास्की जिल्ला भारोत्तोलन संघका कार्यबाहक अध्यक्ष उमेश सिकेले स्वागत गरे। स्वागतसँगै कार्यालय प्रमुख योगीले पोखरामा प्रशिक्षणको क्रममा कुनै अप्ठ्यारो तथा समस्या नहुने स्पष्ट पारे। उनले राष्ट्रिय खेलकुद परिषदले नै खेलाडीको प्रशिक्षण, आवास तथा खानपिनको अनुगमन गर्न निर्देशन गरेको बताए। 

एशियाडमा भारोत्तोलनका ४ खेलाडीले विभिन्न तौलमा प्रतिस्पर्धा गर्ने छन्। ५५ केजी तौलमा टिकामाया गुरुङ, ६४ केजी तौलमा सारदा चौधरी, ८१ केजी तौलमा विकास भट्ट र हेभीवेट ९६ केजीमा विशाल विष्ट रहेका छन्।  उनीहरुसँगै भारोत्तोलनबाट ओलम्पिक तयारीमा रहेको सागर भण्डारी समेत प्रशिक्षणमा संलग्न छन्। भण्डारीले १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन्। 

उनीहरुलाई प्रशिक्षक जीवन गौतमले प्रशिक्षण दिईरहेका छन। ‘एशियाड अब दुईमहिना मात्रै बाँकी छ। दुई महिना नै पोखरामा प्रशिक्षण गर्ने योजना हो’ प्रशिक्षक गौतमले भने–‘बीचमा परिषदले बोलाायो भने फर्किन्छौं। थोरैमा पनि एकमहिना पोखरामै प्रशिक्षण गर्छौ।’ उनले पोखरामा प्रशिक्षण गराउँदा नयाँ उत्साह थपिने स्पष्ट पारे।

‘सधै एकै ठाँउमा(काठमाडौंमा) प्रशिक्षण गराउँदा समस्या। त्यसमा पनि एशियाड खेल्ने र अन्य खेलाडी एकैठाँउमा प्रशिक्षण गराउन कठिनाई हुदैं आएकोले पनि नयाँ ठाँउमा(पोखरा) आयौं,’ उनले भने, ‘शान्त बातावरणमा प्रशिक्षण गराउँदा खेलाडीमा पनि उर्जा मिल्छ, उत्साह थपिन्छ।’ प्रशिक्षण गौतमले पोखरामा प्रशिक्षण गराउन आवश्यक भारोत्तोलनका सबै सामान भएकोले पनि सहज भएको जिकिर गरे। 

उनका अनुसार परिषदले असार मसान्तसम्म ९ सय रुपैयाँ दैनिक भत्ता दिने गरेको थियो। दैनिक भत्ताले काठमाडौंमा प्रशिक्षण गराउन समेत कठिनाई थियो। पोखरा आईसकेपछि दैनिक भत्ता परिषदले बढाईदिएको छ। खेलाडीलाई प्रशिक्षणसँगै आवश्यक खानपिनमा विशेष ध्यान दिइएको प्रशिक्षक गौतमले जानकारी दिए। 

पोखरामा केहीदिन अघि मात्रै महिला ह्याण्डबल टोली प्रशिक्षणको लागि आईपुगेको थियो। झण्डै दुईसातादेखि रग्बीको महिला तथा पुरुष एवं यु–२० टोली समेत पोखरामा प्रशिक्षणरत छ। आर्चरीको पनि पोखरामै प्रशिक्षणमा व्यस्त रहेको छ। पोखरामा भएको बन्द प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अनुगमन गरेर फर्किएका थिए। 

प्रकाशित: ९ श्रावण २०८० ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App