१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

शिक्षामन्त्रीमा पन्त

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार रघुजी पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका छन् भने ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलन समाधान गर्न सहयोग नगरेको भन्दै विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन्।

एमालेको कोटामा परेको शिक्षा मन्त्रालयमा भट्टराईपछि एमालेकै पन्तले यो जिम्मेवारी पाएका हुन्। कांग्रेसको भागमा परेको ऊर्जा मन्त्रीमा दीपक खड्का छन् भने ऊर्जा मन्त्रालयकै राज्यमन्त्री कांग्रेसका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले पदबाट हटाएका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका हुन्। शिक्षामन्त्रीमा नियुक्त पन्त कुनै बेला ओलीका आलोचक थिए। पन्तले बिहीबार पद तथा गोपनीयताको शपथ लिनेछन्।

नेपाली कांग्रेसको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिँदै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले साउन १८ गते तामाङसहित तीनजनालाई राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए।

 नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयमा तामाङले असन्तुष्टि व्यक्त गरेका थिए। उक्त प्रकरणमा तामाङले आफूलाई घिसिङको पक्षमा उभ्याएका थिए। यसबाट प्रधानमन्त्री ओली तामाङसँग असन्तुष्ट बनेका थिए। सरकारमा बसेर सरकारकै निर्णयको विरोध गरेका तामाङसँग ओली रुष्ट थिए।

घिसिङका पक्षमा उभिएकै कारण प्रधानमन्त्री ओलीले आफूलाई राज्यमन्त्रीबाट हटाएको तामाङको बुझाइ छ। तर तामाङ जोडिएको अर्को एउटा घटना पनि छ। उनले ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। उनी राज्यमन्त्रीबाट हट्नुमा कर्मचारीले स्पष्टीकरणको विषयलाई पनि जोडेका छन्।

गत चैत २५ गते ललितपुरको जावलाखेलमा सिँचाइ विभागले एउटा कार्यक्रम गरेको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि तामाङ थिए। त्यस कार्यक्रममा सचिव आचार्य सहभागी हुन गएका थिए। तर राज्यमन्त्री तामाङ प्रमुख अतिथि भएको थाहा पाएपछि आचार्य कार्यक्रम छाडेर हिँडेका थिए। ‘मञ्चमा राज्यमन्त्रीज्यू पहिले नै बस्नुभएको थियो। सचिवज्यू मञ्चमा आउनुभयो। प्रमुख अतिथि को हो भनी सोध्नुभयो। राज्यमन्त्री तामाङ प्रमुख अतिथि भएको थाहा पाएपछि उहाँ त्यहाँबाट हिंड्नुभयो,’ सिँचाइ विभागका एक कर्मचारीले भने।

 आफू प्रमुख अतिथि भएको कार्यक्रम सचिवले बहिष्कार गरेको भन्दै तामाङ रुष्ट भए। उनले चैत २८ गते आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधे। तर आचार्यले २४ घण्टाभित्र स्पष्टीकरण दिएनन्। उनले सात दिनसम्म पनि स्पष्टीकरण नदिएपछि वैशाख ५ गते तामाङले दोस्रो पटक स्पष्टीकरण सोध्न बताएका थिए। तर दोस्रो स्पष्टीकरणको पत्र काट्न नपाउँदै तामाङ बर्खास्तीमा परे।

आफू बर्खास्तीमा परेको विषय र आचार्यलाई स्पष्टीकरण सोधिएको विषय फरकफरक भएको तामाङको भनाइ छ। तामाङका अनुसार बुधबार अपराह्न पौने ५ बजेतिर उनलाई गृहमन्त्री रमेश लेखकले फोन गरेर राजीनामा दिन आग्रह गरेका थिए। ‘गृहमन्त्रीज्यूले राजीनामा दिनुपर्‍यो भन्नुभयो।

मैले राजीनामा दिन मिल्दैन। मलाई केपी शर्मा ओलीले राज्यमन्त्री बनाउनुभएको होइन, पार्टीले बनाएको हो। पार्टीले राजीनामा दिन भने दिन्छु नभए दिन्न भनेर मैले भनको हुँ,’ तामाङले भने। आफूलाई बर्खास्त गरिएकोमा आक्रोश व्यक्त गर्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूले उहाँलाई कसैले सिधा आँखाले हे¥यो भने पनि कारबाही गर्नुहुन्छ।’

तामाङका अनुसार पराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिले नै प्रधानमन्त्री ओलीसँग माफी माग्न तामाङलाई आग्रह गरेकी थिइन्। ‘उहाँ (आरजु) ले तपाईसँग प्रधानमन्त्री रिसाउनु भएको छ। तपाईंले माफी माग्नुपर्‍यो भन्नुभएको थियो। मैले माफी माग्दिनँ भनेँ। मलाई उहाँले मन्त्री बनाउनुभएको होइन। म पनि उहाँले जस्तै चुनाव जितेर आएको हुँ। प्रधानमन्त्रीसँग माफी मागेर मन्त्री खान्नँ भनको थिएँ,’ उनले भने। घिसिङलाई साथ दिएकै कारण ओलीले आफूलाई हटाएको तामाङको दाबी छ।

तामाङ कांग्रेसमा सभापति शेरबहादुर देउवासँग निकट मानिन्छन्। घिसिङलाई प्राधिकरणबाट हटाउने विषयमा ऊर्जामन्त्री खड्कासँग तामाङ सहमत थिएनन्। कुलमान र पूर्णबहादुर तामाङ एउटै जिल्लाका हुन्।

प्रकाशित: ११ वैशाख २०८२ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App