२ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडामा सैन्य अभ्यासका क्रममा ठुलो दुर्घटना : चार सैनिकको मृ`त्यु, ३९ घाइते, प्रधानमन्त्रीले के भने ?

क्यानडाको अल्बर्टास्थित वेनराइट सैन्य तालिम केन्द्रमा शनिबार भएको घटनामा चार सैनिकको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। 

घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। यसअघि स्थानीय सञ्चारमाध्यमले सात जनाले ज्यान गुमाएको रिपोर्ट गरेका थिए। 

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनालाई देशको सेनाले शान्तिकालमा भोगेका सबैभन्दा गम्भीर घटनामध्ये एक बताएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै संघीय सरकारी भवनमा राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन्। घाइते सैनिक र उनीहरूका परिवारलाई सरकारले सहयोग गर्ने पनि उनले बताए।

सैनिकहरू प्रत्यक्ष गोली चलाएर लडाइँको अभ्यास गरिरहेका बेला सैन्य तालिम क्षेत्रमा लागेको घाँसे डढेलो तीव्र हावाका कारण फैलिएको थियो। सैन्य अधिकारी मेजर जनरल वेड रटल्याण्डका अनुसार आगो सुरुमा सैनिकहरूबाट करिब एक किलोमिटर टाढा थियो। तर हावाको दिशा परिवर्तन भएपछि ३६ सेकेन्डमै एक किलोमिटर फैलिएको हो।

मृत्यु हुनेमा सार्जेन्ट मोर्गन वोङ तथा सैनिक शन फारेल, एडन गोल्डिङ र हेडेन लिक्केमार्क रहेका छन्। चारै जना एडमन्टनस्थित सैन्य बटालियनमा कार्यरत थिए।

उक्त अभ्यासमा करिब ८४ सैनिक सहभागी थिए। उनीहरूलाई ग्रेनेड प्रहार गर्ने अभ्यास र नक्कली शत्रु रहेको स्थानमा आक्रमण गर्ने अभ्यासका लागि छुट्टाछुट्टै समूहमा विभाजन गरिएको थियो। आगो तीव्र गतिमा फैलिएपछि सैनिकहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

घाइतेहरूलाई एडमन्टन, क्यालगरी र रेड डियरका चार अस्पतालमा उपचारका लागि लगिएको छ। उद्धारका लागि २२ वटा एम्बुलेन्स, छ वटा विमान र दुई हेलिकप्टर परिचालन गरिएको थियो। केही सैनिक गम्भीर रूपमा जलेका कारण उनीहरूलाई हप्ता वा महिनासम्म उपचार आवश्यक पर्न सक्ने अधिकारीहरूले बताएका छन्।

क्यानडाको सेनाका अनुसार आगो कसरी सुरु भयो र तालिमका क्रममा अपनाइएका सुरक्षा नियम पर्याप्त थिए कि थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि आवश्यक परे सुरक्षा नियममा परिवर्तन गरिने सैन्य अधिकारीहरूले बताएका छन्। एजेन्सी

प्रकाशित: २ कार्तिक २०८३ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App