सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागमा गत आर्थिक वर्ष २०८१/८२मा दरबन्दी अनुसार खटाइएका कर्मचारीले भन्दा निमित्त इन्जिनियरले जिम्मेवारी सम्हालेका आयोजना कार्यालयहरूको प्रगति राम्रो देखिएको छ।
विभाग मातहतका चार वटा आयोजना कार्यालयहरूमा निमित्त कर्मचारीले नेतृत्व सम्हालेका छन् तर उनीहरूले सम्हालेका आयोजना कार्यालयहरूले हासिल गरेको भौतिक प्रगति दरबन्दी अनुसारका कर्मचारीले सम्हालेका कार्यालयको भन्दा राम्रो देखिएको छ। कतिसम्म भने निमित्त (शाखा अधिकृत) ले सम्हालेका आयोजना कार्यालयभन्दा सहसचिवले नेतृत्व गरेका आयोजना कार्यालयको प्रगति कमजोर देखिएको छ।
सहरी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा भवन विभागको समग्र प्रगति ५९ प्रतिशत र मन्त्रालयले ५८ प्रतिशत प्रगति गरेको छ। भवन विभागले गरेको यो प्रगति इतिहासमै सबैभन्दा कमजोर प्रगति हो।
आयोजना कार्यालयमध्ये सबैभन्दा बढी प्रगति सुर्खेत आयोजना कार्यालयले गरेको छ। उक्त कार्यालयले ८५.३२ प्रतिशत गरेको छ। हाल उक्त आयोजना कार्यालयको नेतृत्व कमल दर्लामीले गरेका छन्। उनी निमित्त आयोजना प्रमुख हुन्।
यसैगरी धनुषा आयोजना कार्यालयले गत आवमा ८३.४३ प्रतिशत प्रगति गरेको छ। यस आयोजना कार्यालयको नेतृत्व विनोद यादवले गरेका छन्। उनी पनि निमित्त आयोजना प्रमुख हुन्। यसैगरी धनकुटा आयोजना कार्यालयले गत आवमा ७६.२८ प्रतिशत प्रगति गरेको छ। यस आयोजना कार्यालयका प्रमुख सुमन मिश्र हुन्। उनी पनि निमित्त आयोजना प्रमुख हुन्।
सहसचिव सरहका वरिष्ठ इञ्जिनियरले नेतृत्व गरेको काठमाडौं आयोजना कार्यालयको प्रगति गत आवमा निराशाजनक छ। उक्त आयोजनाले गत आवमा ५४.४४ प्रतिशत मात्र प्रगति गरेको छ। सहसचिवले नेतृत्व सम्हालेका काठमाडौ आयोजना कार्यालय एक मात्र आयोजना कार्यालय हो।
संगठन तथा व्यवस्थापन (ओएनएम) मा काठमाडौं आयोजना कार्यालयमा सहसचिव र अन्य आयोजना कार्यालयहरूमा उपसचिव सरहका इन्जिनियरले नेतृत्व सम्हाल्ने व्यवस्था छ। उपसचिवले नेतृत्व गरेको आयोजना कार्यालयहरूको प्रगति पनि निमित्तले सम्हालेका आयोजना कार्यालयहरूको प्रगतिभन्दा कमजोर देखिएको छ।
पर्सा आयोजना कार्यालयको प्रगति ४६ प्रतिशत मात्र छ। यस आयोजनाको नेतृत्व पनि उपसचिवले सम्हालेका छन्। यसैगरी चितवन आयोजना कार्यालयले ६६.९४, कास्कीको ६६.९०, जुम्लामा ५७.१० प्रगति देखिएको छ। ‘निमित्त भनेर प्रचार गरियो तर निमित्तले गरेको कार्यसम्पादन राम्रो देखियो’ मन्त्रालयका एक कर्मचारीले भने।
हाल भवन विभाग मातहतमा २१ वटा आयोजना कार्यालयहरू छन्। मन्त्रालयले गरेको ओएनएम अनुसार विभाग मातहतमा अरु पाँच वटा नयाँ स्थानमा आयोजना कार्यालय थपिएका छन्।
आव २०८०/८१ मा विभागको प्रगति ७०.२८ प्रतिशत थियो। यसैगरी आव २०७९/८० मा ५९ प्रतिशत, आव २०७८/७९ मा ६९.७६ तथा आव २०७७/७८ मा विभागको प्रगति ७८.७१ प्रतिशत पुगेको थियो। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले भवन विभागको प्रगति बढाउन सुरुदेखि नै चासो राखेका थिए।
यस विषयमा उनले मन्त्रालयमा उच्चपदस्थ कर्मचारीहरूसँग पटक–पटक बैठक गरेका थिए। विभागको प्रगति नभएकोमा उनले कर्मचारीहरूसँग आक्रोश पोखेका थिए। गत जेठको पहिलो साता उच्च पदस्थ कर्मचारीहरूसँग भेट गरी तीन दिनभित्र प्रगति बढाउने गरी कार्ययोजना पेस गर्न सिंहले विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए।
प्रकाशित: ५ भाद्र २०८२ ०७:४७ बिहीबार





