२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

वार्डेनमाथि छात्रा यौन दुर्व्यवहारको आरोप

जेठ १० गते चाबहिलको सेन्ट लरेन्स कलेजमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएको थियो। त्यसको दुई साता नबित्दै शनिबार राजधानीमा यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ।

काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयको होस्टेलमा बस्दै आएका छात्राहरू वार्डेनबाटै यौन दुर्व्यवहारमा पर्ने गरेको आरोप बाहिरिएको हो। होस्टेलका वार्डेन रामजी बस्नेतले छात्राबासमा बस्ने ८ जना छात्रामाथि विगत ६/७ महिनादेखि यौन दुर्व्यवहार गर्ने गरेको आरोप पीडित छात्राले लगाए।

‘तिम्रो वेट (तौल) कति छ भनेर सोध्ने, सही भन्दा होइन होला म आफैं चेक गर्छु भन्ने, एक्लै भेटेमा संवेदनशील अंगमा छुने गरेको एक पीडित छात्राले बताइन्। उनले भनिन्, ‘काखमा बस भन्ने, नमाने बलजफ्ती काखमा राखेर जथाभावी छुने काम गरिराख्ने।’ यसरी ६ महिनायता लगातार यस्तै गतिविधि हुँदै आएको ती छात्राले सुनाइन्।

बुझ्दै जाँदा अन्य साथीलाई पनि त्यस्तै गर्ने गरेको पाइएको उनको भनाइ छ। ‘साथीहरूसँग कुरा गर्दा अरूसँग पनि त्यस्तै भएको रहेछ। तर, हामीले डरले अरू कसैलाई भन्न सकेनौं’, उनले भनिन्। अति भएपछि बिहीबार छात्राहरूले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र शिक्षिकालाई भेटेर घटनाबारे जानकारी गराएका थिए। प्रिन्सिपलबाट कुनै पहलकदमी भएन।

शिक्षिकाहरूले यो कुरा बाहिर ल्याए विद्यालयको बेइज्जत हुन्छ। विद्यालयको बेइज्जत हुनु भनेको तिमीहरूको पनि बेइज्जत हुनु हो भनेर आफूहरूलाई चुपचाप राख्न कोसिस गरेको पीडित छात्रा बताउँछन्। यति भएपछि अभियुक्त वार्डेन बस्नेतलाई कारबाही हुनु त परै जाओस्, उल्टै धम्क्याउन थालेको छात्राहरूले बताए। राति कोठामा आएर ‘यो कुरा अभिभावकलाई भने वा बाहिर कसैलाई भने तिमीहरूको बद्नाम गर्दिन्छु। रेस्टिकेट गर्दिन्छु’ भनेर धम्क्याएको पीडित छात्राको आरोप छ।

त्यही कुरालाई लिएर अनेक बहाना बनाई फलामको पाइपले कुटपिटसमेत गरेको एक छात्राले बताइन्। विद्यालयबाट कुनै प्रतिक्रिया नआएपछि पीडित छात्राले घरमा अभिभावकलाई सुनाएका थिए। त्यसपछि अभिभावकले प्रिन्सिपल शिवाकोटीसँग कुरा राख्दा पनि उनले राम्रो ‘रेस्पोन्स’ नगरेपछि विरोधमा उत्रिएको पीडित छात्राका आफन्त बताउँछन्।

यसरी आक्रोशित आफन्तले शनिबार विद्यालयमा नाराबाजी गरेर अभियुक्तलाई कारबाहीको माग गरेका थिए। त्यसक्रममा दिउँसो विद्यालय क्षेत्रको माहोल तातिएको थियो। ‘चार वर्ष भयो भान्जीलाई यहाँ भर्ना गरेको। प्रिन्सिपल आफन्त भएकाले यहाँ भर्ना गर्‍यौं’, एक पीडित छात्राका मामाले भने, ‘डेढ वर्षअघि यहाँ बस्दैनौं भनेर भनेकी थिइन्। हामीले हुँदैन भनेर कर गरेर यही राख्यौं, कारण बुझ्ने कोसिस गरेनौं, तर समस्या यस्तो रहेछ।’ भान्जीले पनि समस्याबारे आफूलाई केही नभनेको उनले बताए।

‘धेरै भएपछि आज दिदीलाई भनेकी रहिछन्। त्यो थाहा पाएपछि यहाँ आयौं’, उनले भने। उनका अनुसार ती बालिका प्रिन्सिपल शिवाकोटीकी नातिनी पर्छिन्। घटना बुझ्दै जाँदा त्यहाँ ३ देखि १० कक्षासम्म पढ्ने ८ जना बालिका वार्डेनको यौन दुर्व्यवहारको सिकार भएको उनले बताए, जसमा ९ देखि १४ वर्ष समूहका छात्रा छन्।

अर्का पीडित बालिकाका अभिभावकले वार्डेन बस्नेत विदेशमा अभिभावक रहेका, अभिभावकसँग पातलो भेटघाट सम्बन्ध रहेका बालिकालाई छानीछानी दुव्र्यवहार गर्ने गरेको बुझिएको बताउँछन्। ‘जसको अभिभावक विदेशतिर छन्, जसको यहाँ कोही छैन, पत्ता लगाएर खोजीखोजी उसैलाई टार्गेट गर्दाे रहेछ’, उनले भने।

उनले यसमा प्रिन्सिपलसमेत दोषी रहेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘बालिकाले त्यत्रो कुरा आँट गरेर भन्दा समेत उल्टै धम्क्याउने र दोषी वार्डेनलाई बचाउने काम गर्नु भनेको उनको पनि संलग्नता छ भन्ने हो। नत्र किन ढाकछोप गर्छन्?’

शिक्षालयमा तनाव उत्पन्न भएपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट टोली गएको थियो। टोलीले स्थलगत रूपमा घटना बुझेपछि तत्काल स्थितिलाई नियन्त्रणमा लिन र आवश्यक सोधपुछ गर्न प्रिन्सिपल शिवाकोटी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो।

‘सोधपुछ र सुरक्षा व्यवस्थाका लागि उहाँहरूलाई नियन्त्रणमा लिएका हौं’, प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले भने, ‘अहिले जाहेरी पनि आउने क्रममा छ।’ उनका अनुसार यो समाचार तयार पार्दा तीनजना बालिकाले जाहेरी दिने तयारी गर्दै थिए।

उता आरोपित बस्नेत भने शिक्षालयमा आन्दोलन हुँदा फरार भएका थिए। उनलाई उनको घर रहेको जिल्ला रामेछापबाट रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिसकिएको डिएसपी न्यौपानेले बताए।

प्रकाशित: २२ जेष्ठ २०७९ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App