१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सवारी दुर्घटनाको छानविन विषयमा एमाले रौतहट दुई खेमामा विभाजित

सवारी दुर्घटनामा परी गत हप्ता दुई जनाको मृत्यु भएको विषयलाई लिएर नेकपा एमाले रौतहट दुई खेमामा विभाजित भएको छ। नेकपा एमालेको रौतहट जिल्ला समितिले निर्दोेषलाई फसाउन खोजेको भन्दै निष्पक्ष छानविनको माग गर्दै आन्दोलन गरिरहेको छ भने प्रतिनिधि सभाका एकजना सदस्यले पार्टीको नीतिविपरीत रहेको भन्दै विरोध गरिएको विज्ञप्ति आएको छ।

गत चैत २ गते राति साढे ८ बजे रौतहटको वृन्दावन नगरपालिका ६ हर्षाहा चोकमा एउटा स्कारपिओले ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुका साथै दुई प्रहरी घाइते भएका थिए। सवारी दुर्घटना भएपछि सवारी चालकको विषयलाई लिएर विवाद देखिएको हो।

सवारी मालिक मौलापुर नगरपालिकाको मौलापुरका नागेन्द्र साहले नै सवारी चलाएको र अर्को चालकले चलाएको भन्ने विषय विवादास्पद बनेको छ। सवारी मालिक नागेन्द्र साहको पक्षले मौलापुर नगरपालिकामा तीन वर्षदेखि गाडी भाडामा दिएको र मौलापुर नगरपालिकाको कर्मचारीलाई महोत्तरी पुर्‍याएर फर्किने क्रममा हर्षाहामा सवारी दुर्घटना भएको जिकिर रहेको छ।

सवारी चालकले सवारी चलाएको र दुर्घटनाको लगत्तै स्थानीयबासीले सवारी चालकलाई समातेर प्रहरी चौकीमा बुझाएको दलिल दिँदै सवारी धनी नागेन्द्र साहलाई फसाउन खोजिएको भन्दै नेकपा एमालेको जिल्ला कार्य समितिको लेटर–प्याडमा विज्ञप्ति निकालेर आन्दोलनको चेतावनी दिइएको थियो।

नेकपा एमालेले आन्दोलनको चेतावनी दिएसँगै मंगलबार रौतहटको गरुडामा प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन पनि गरेको छ। नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा गरुडामा मंगलबार प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानविनको माग गरिएको छ।

गाडीमा हुँदै नभएको मानिसलाई जबर्जस्ती फसाउन खोजिएको आरोप एमालेको रहेको छ।

यसै बिच एमाले सांसद् रेखाकुमारी झाले मंगलबार विज्ञप्ति निकाल्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै एमालेको नाममा आन्दोलन भइरहेकोमा विरोध गरेकी छन्। आन्दोलनको नाममा दुर्घटनाको निष्पक्ष छानविनलाई राजनीतिक दबाबले प्रभावित गर्न खोजेको आरोप लगाउँदै सांसद् झाले आन्दोलन गर्ने निर्णय एमालेको नभएको र एमालेका कार्यकर्तालाई आन्दोलनमा नजान आग्रह गरेकी छन्।

सवारी दुर्घटनाको विषयलाई लिएर नेकपा एमाले दुई खेमामा विभाजित भएपछि सर्वसाधारण एमाले कार्यकर्ताहरू अन्योलमा परेका छन्।

प्रकाशित: ९ चैत्र २०७८ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App