६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीको पुरानै अडानः निर्मला कुर्मीको हत्या होइन, मृत्यु हो

नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको अपहरण, बेपत्ता, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा प्रहरी पुरानो अडानमा देखिएको छ। फितलो अनसुन्धान गरेको ओरोप लागिरहेका बेला प्रहरीले निर्मलाको कर्तव्य ज्यान नभइ प्राकृतिक मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

कर्तव्य ज्यान भएको कुनै प्रमाण नभेटिएको र प्राकृतिक कारणले मृत्यु भएको विभिन्न प्रमाणहरु भेटिएको प्रहरीले जनाएको छ। २०७३ चैत १४ गते निर्मलाको प्राकृतिक कारणले भारतमा मृत्यु भएको मृत्यु दर्ताको प्रमाणपत्र समेत प्रहरीले फेला पारेको छ। निर्मलाको भारतमा मृत्यु भइसकेको प्रारम्भिक अनुन्धानबाट खुलेको प्रहरीले जनाएको छ। भारतमा दोस्रो विवाह भएको विवाह दर्ता, उतै मृत्यु भइसकेको फोटो र मृत्यु दर्ता प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार निर्मलाको नेपाल–भारत सीमा क्षेत्र रुपैडियाबाट १५ किलोमिटर टाढा रहेको जगन्नाथपुरको बलहामा दोस्रो विवाह भएको थियो। निर्मलाको मृत्यु भएको विवरणको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले नेपाल प्रहरीलाई पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बताए । ‘प्रहरीले गरेको अनुसन्धानले उनको मृत्यु स्वाभाविक भएको देखिएको छ,’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं।’

निर्मलाको दाहसंस्कार गर्न लागेका तस्विरहरु संकलन भएको भन्दै उनले भने, ‘निर्मलाको प्राकृतिक कारणबाहेक कर्तव्य ज्यान गरेको कुनै प्रमाण भेटिँदैन।’ कुर्मीले २०६९–७० सालतिर भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पहिलाका श्रीमान महलु कुर्मी र दुई छोराको मृत्यु भएपछि निर्मलाले भारतीय नागरिकसँग विवाह गरेको प्रमाण प्रहरीले फेला पारेको डिएसपी न्यौपाने बताउँछन्।

यद्यपि साविक परस्पुर–९ का ओमकार कुर्मीले २०६८ कात्तिक १७मा अपुताली भएको दाबी गर्दै निर्मलाका पति महलुको सम्पूर्ण जग्गा सार्वजनिक गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका बेला निर्मलाले भारतमा दोस्रो विवाह गरेको कागज फर्जी भएको प्रशासनले प्रमाणित गरेको थियो।

सो घटनामा जिल्ला प्रशासन कार्यालय बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले निर्मलाको भारतमा बिहे नभएको र भारतमा कसैसँग कुनै सम्बन्ध नरहेको निर्णय सुनाएका थिए। तत्कालीन प्रजिअ घिमिरेको आदेशपत्रमा निर्मलाले आफूमाथि जग्गाकै कारण कुटपिट भएको र असुरक्षित महसुस भएको भनी निवेदन दिएको उल्लेख छ। आदेशपत्रअनुसार निर्मलाले २०६८ असोज ३० मा जीउधनको सुरक्षा गरिपाऊँ भनी निवेदन दिएकी थिइन्।

‘भारतीय नागरिक अर्जुनको पारिवारिक रजिस्टर र मतदाता सूचीमा निर्मलाको नाम छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका न्यौपानेले भने, ‘उनीहरूको विवाह दर्ता पनि छ। मृत्यु दर्ता पनि छ।’ कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २०७७ चैत २० गते ८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो। प्रहरीले त्यतिबेलै निर्मलाको प्राकृतिक कारणले मृत्यु भएको र कर्तव्य ज्यान भएको प्रमाण नभेटिएको बताएको थियो। कर्तव्य ज्यान भएको प्रमाण नदेखिँदा प्रहरीले यस विषयलाई चासोसमेत देखाएको थिएन।  

प्रहरीले यसलाई गम्भीरतापूर्व नलिँदा महिला अधिकारकर्मीहरु र पीडित परिवारले न्यायका लागि नेपालगन्ज–काठमाडौं पैदल यात्रा गरेपछि सरकारले उक्त विषयमा अनुसन्धान गर्न छानबिन समिति बनाएको थियो। एकसातासम्म छानबिन गरेको उक्त समितिले आरोपित ८ जनालार्ई पक्राउ गरेर घटनाको सुरुदेखि अनुसन्धान गर्न प्रतिवेदन सरकारलाई बुझाएको थियो।

त्यसपछि अनुसन्धान गरिरहेको प्रहरीले पुरानै अडान प्रस्तुत गरेपछि महिला अधिकारकर्मीहरुले थप आन्दोलन गर्नेसमेत चेतावनी दिइसकेका छन्। अधिकारकर्मीहरुको आरोपपत्रमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद बादशाह कुर्मीलगायतले निर्मलाको करोडौंको सम्पत्ति हडप्न निर्मलाको अपहरण गरी बेपत्ता बनाइ शरीर बन्धक हुँदै कर्तव्य ज्यान गरेको उल्लेख छ।

प्रकाशित: २६ कार्तिक २०७८ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App