१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, २४ जना अझै बेपत्ता

सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ भने २४ जना अझै बेपत्ता रहेका छन्। साथै बाढीपहिराेमा परेर १६ जना घाइते भएका छन्। बाढीपहिरोले डोटीमा १५ जना, बझाङमा ८ जना, बैतडीमा ४ जना, डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्।

मृत्यु हुनेमा डोटी सायल गाउँपालिका ६ मेल्लेखका १४ वर्षीय सागर कुन्जेडा, ११ वर्षीय आशिष कुन्जेडा रहेका छन्। यसैगरि डोटी जोरायल ३ नवलपुर वस्ने ६३ वर्षीय जोगी सार्की र उनकी ५५ वर्षीया पत्नी झुपरी सार्कीको मृत्यु भएको छ। जोरायल ४ सईगडामा ४३ वर्षीय शेरबहादुर वि.क., १८ वर्षीय मोहन वि.क.,१३ वर्षीया पवित्रा वि.क, १६ वर्षीय रविन वि.क, १५ वर्षीय रविन बि.क.को पहिरोले घर पुरिँदा ज्यान गएको छ।

यसैगरि शिखर नगरपालिका ११ बस्ने ३६ वर्षीय मन्धरा वलायरको मृत्यु भएको छ। पहिरोमा परेर सायल गाउँपालिका ५ डुग्रीका ५८ वर्षीय हिरुवा लुहार, ५७ वर्षीय लहरे लुहार र ७५ वर्षीय देव डुंगेलको मृत्यु भएको छ। सायल गाउँपालिका १ का ७४ वर्षीय विरे रोकायको मृत्यु भएको छ। बडिकेदार गाउँपालिका ५ की ५० वर्षीया चनरा देवी नेपालीको पहिरोमा परेर मृत्यु भएको छ।

यसैगरि बझाङमा पहिरोमा परेर खप्तडछान्ना गाउँपालिका ६ पातल बस्ने ७३ वर्षीय धनराज जोशी, खप्तड छान्ना गाउँपालिका ४ धर्म रोकाय र उनकी पत्नी जयसरा रोकायको मृत्यु भएको छ। यसैगरि बझाङ खप्तडछान्ना गाउँपालिका ५ मा पहिरोले पुरिएर बिरु गिरि र उनको पत्नी चन्द्रा गिरीको ज्यान गएको छ। खप्तड छान्ना ६ का कोरने आग्रीको पहिरोले पुरिएर मृत्यु भएको छ। यसैगरि बझाङ थलहरा गाउँपालिका ४ डिक्ला सितलका ६ वर्षीय आयुस पार्की र ७ विकास सार्कीको मृत्यु भएको छ। डिक्ला सितलमा पहिरोले घर बगाउँदा दुई परिवारका बेपत्ता भएका २३ मध्य आयुस र विकासको शव फेला परेको प्रहरीले जनाएको छ।

यसैगरि बैतडी शिवनाथ गाउँपालिका, ६ वसेडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ। १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय देवन पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरि बैतडी सुर्नया ५ मा घर भत्कँदा ७१ वर्षीय परुदेवी महराको मृत्यु भएको छ।

त्यस्तै, गत सोमबार राती माथिबाट आएको पहिरोले घर पुरिँदा डडेल्धृुरा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ भने डडेल्धुरा गन्यापधुरा गाउँपालिका ३ का ६५ वर्षीय नरपता शाहीको खोलाले बगाएर मृत्यु भएको छ।

यसैगरि कैलाली टीकापुर नगरपालिका ८ कर्मीडाडा वस्ने ८६ वर्षीय करविरे ढोलीको मंगलबार कर्णाली नदीमा पानीको बहाव बढेर घर डुबानमा पर्दा मृत्यु भएको छ।

यसैगरि १७ जना घाइते भएका छन्। डोटीमा बिरबहादुर कुन्जेडा, बासुदेवी कुन्जेडा र बिन्दु कुन्जेडा, रमेश लुहार, भीम लुहार, करी डुंगेल, जोडेनी नेपाली, सनम नेपाली,सरस्वती नेपाली, देवी वि.क., लक्ष्मण वि.क घाइते भएका छन् भने डडेल्धुरामा देवकी रावल र बृष रावल घाइते भएका छन्। यस्तै, बैतडीमा सरस्वती बिष्ट र माया बिष्ट घाइते भएका छन्। बझाङमा पदमा जोशी घाइते भएकी छन्।सुदूरपश्चिममा आइतबारदेखि मंगलबार रातीसम्म आएको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो धनजनको क्षति गरेको हो।

बझाङ थलारा गाउँपालिका डिक्लाको सितलमा मंगलबार बिहान ५ बजेतिर पहिराेले घर पुरिँदा बेपत्ता भएका २३ मध्य २१ जना अझै फेला परेका छैनन्। बेपत्ता हुनेमा हर्क सार्की, धनगिरी सार्की, सीता सार्की, प्रभास सार्की, भुमिका सार्की, ईश्वरा सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, निकेस सार्की, मदन सार्की, कलदेवी सार्की, एलिसा सार्की, पम्मा सार्की, सविना सार्की, सरोज सार्की, सिरिन्जवी सार्की रहेको प्रहरीले जनाएको छ। गगने सार्की बरोजगारीको शिलशिलामा भारतमा रहेका छन् भने उनका माईला छोरा काले सार्की सकुशल छन्। यसैगरि बेपत्ता हुनेमा उजली पार्की, हासुदेवी पार्की, सिमा पार्की र हिमा पार्की रहेका छन्। पहिरोले ७ घर बगाएको प्रहरीले जनाएको छ।

बेपत्ताहरुको उद्धार खोजीका नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गर्न सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। खाद्य सामग्री, औषधिसहित सुरक्षाकर्मी घटनास्थलमा पुगेको सुदूर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले बताएका छन्।

यसैगरि कैलाली गोदावरी नगरपालिका ८ का ३० वर्षीय गणेश आउजी खुटिया नदीमा बगेर बेपत्ता भएको प्रहरीले बताएको छ। यस्तै, बैतडी डिगलासैनी गाउँपालिका ५ का २९ वर्षीय गोपाल ओड माछा मार्ने क्रममा बेपत्ता भएका छन्। डोटी सायल गाउँपालिका ४ का ३२ वर्षीय जंगबहादुर बिष्ट पहिरोले घर पुरिँदा बेपत्ता भएको प्रहरीले बताएको छ।

प्रकाशित: ४ कार्तिक २०७८ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App