एघारौं राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को ३४औं वर्षमा प्रवेश गरेको अवसरमा सम्मेलन आयोजना गरिएको हो। चैत २८ देखि तीन दिनसम्म चल्ने सम्मेलनमा एक सय विदेशी वैज्ञानिक र एक हजार नेपाली वैज्ञानिक सहभागी हुनेछन्। बेलायत, अमेरिका, चीन, स्विट्जरल्यान्ड, जर्मन, भारत, अमेरिकालगायतका वैज्ञानिकले भाग लिँदैछन्।
यो वर्ष विश्वभर नयाँ समस्याका रूपमा देखा परेको जलवायु परिवर्तनको कारण, स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुन सक्ने चुनौती, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका विषयमा सम्मेलन केन्द्रित हुने परिषद्ले जनाएको छ। यसका साथै स्वास्थ्य बिमा, सरुवा रोग, नसर्ने रोग, मानसिक रोग र अनुसन्धान नियमनका विषयमा छलफल हुनेछ। सम्मेलनका लागि एक सय ४६ वटा मौखिक, एक सय ३० वटा पोस्टर प्रस्तुतीकरण गरी दुई सय ७६ वटा प्रस्तुति हुनेछन्।
सम्मेलनमा विदेशमा रहेका नेपाली वैज्ञानिक वातावरण, कृषि र स्वास्थ्यसँग सम्बन्धित वैज्ञानिक विज्ञले पनि प्रस्तुति दिने कार्यक्रम रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. प्रमोद जोशीले बताए।
सम्मेलनले स्वास्थ्य क्षेत्रलाई मात्र हैन, ‘जलवायु परिवर्तनले कृषि क्षेत्रलाई कसरी असर पारेको छ, स्वास्थ्यमा कसरी असर पारेको छ भन्ने विषयलाई सँगसँगै छलफल गर्दैछौं’, उनले भने। सबै मन्त्रालयलाई समेत झक्झकाउने र राष्ट्रिय योजना आयोगलाई समेत सहभागी बनाएर छलफल हुने र छलफलबाट आएको निष्कर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजना निर्माणमा प्रभाव पर्ने जोशीले बताए।
सोही क्रममा परिषद्कै अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले जनसंख्यामा आएको परिवर्तनका विषयमा पनि प्रस्तुति रहने बताए। ‘हाल बसाइँसराइका कारण ठाउँठाउँमा जनसंख्या घटबढ हुने क्रम जारी छ, जसको कारण स्वास्थ्य कार्यक्रमले सम्बोधन गर्न अप्ठेरो परेको विषयमा पनि छलफल हुनेछ’, उनले भने।
सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माणको पूर्वाधार बनाउँदै दिगो र उत्थानशील स्वास्थ्य सेवा सुनिश्चित गर्ने भूमिका खेल्ने अपेक्षा परिषद्ले लिएको छ।
सम्मेलनमा विभिन्न क्षेत्रमा वैज्ञानिक खोज अनुसन्धान गर्न सफल वैज्ञानिक तथा विज्ञहरूलाई पुरस्कृत गरिने छ। यसमा हेल्थ रिसर्च अवार्ड, योङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड, हेल्थ जर्नालिस्ट अवार्ड, गोपालप्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड वितरण हुनेछ। परिषद्ले यो वर्ष हेल्थ जर्नालिस्ट अवार्ड र गोपालप्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड थप पुरस्कारअन्तर्गत रहेका छन्।
प्रकाशित: २८ चैत्र २०८१ ०७:१० बिहीबार





