ग्रासरुटका खेलाडीलाई प्रोत्साहित गर्न नेपाली राष्ट्रिय कराते टोलीसँग प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ।
राष्ट्रिय टोलीसँग नयाँ खेलाडीको सम्बन्ध बढाउने र उनीहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले शनिबार कराते सेमिनार भएको हो। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आठ भन्दा बढी खेलाडी एकैपल्ट सेमिनारमा सहभागी भए। नेपाली राष्ट्रिय कराते टोलीको आयोजनामा यो कार्यक्रम पछिल्लो ९ हप्तादेखि सुरु भएको हो।
राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकले उपत्यकाका तीन जिल्लामा रहेका डोजो र विद्यालयका क्याडेट, जुनियर र सिनियर खेलाडीले प्रशिक्षण दिए। राष्ट्रिय टोलीका प्रशिक्षकद्वय कुशल श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ र नेपाली करातेकी सफल खेलाडी एरिका गुरुङले उनीहरूलाई प्रशिक्षण दिएका थिए।
प्रशिक्षक मण्डेकाजीले राष्ट्रिय टिमले डोजोमा खेल्ने खेलाडीहरूलाई पनि आफूले सिकेको ज्ञान प्रदान गरुन भन्ने उद्देश्यले यो सेमिनार गरिएको बताए।
बिदाको समयमा डोजो र विद्यालयका खेलाडीले खेल्ने अवसर पाउने उद्देश्यले शनिबार सेमिनार आयोजना गरिएको उनको भनाइ छ। धेरै संख्यामा जुनियर कराते खेलाडी सेमिनारमा सहभागी भएको पहिलोपल्ट हो। यसअघि हरेक हप्ता पालैपालो एक जना राष्ट्रिय टोलीका खेलाडीले प्रशिक्षण गराउँदै आएका थिए। यसपल्ट भने राष्ट्रिय टिमका सबै खेलाडीले एकैपल्ट उनीहरूलाई प्रशिक्षण दिएका हुन्।
प्रशिक्षक कुशल श्रेष्ठले यो कार्यक्रमबाट राष्ट्रिय टिमसँग डोजोका खेलाडीबीचको अन्तर घटाउने र ग्रासरुटसम्म क्षमता अभिवृद्धि गराउने लक्ष्य रहेको बताए। यो सेमिनारबाट एरिका गुरुङजस्ता धेरै खेलाडी आउने वातावरण बनोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ।
प्रकाशित: १३ पुस २०८२ ०९:१४ आइतबार




