नेपाल बार एसोसिएसनको केन्द्रीय समितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता विजयकुमार मिश्र नेतृत्वको समूहले जित्ने सुनिश्चित भएको छ। मतगणना भइरहेको छ। गणनामा मिश्र समूहका उम्मेदवार दोब्बरभन्दा बढी मतले अगाडि छन्।
बुधबार बेलुकीसम्मको गणनामा अध्यक्ष पदका उम्मेदवार मिश्रले ४ हजार २७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १ हजार ८४३ मत प्राप्त गरेका छन्।
मतगणनाको तेस्रो दिन बुधबार बेलुकीसम्म ललितपुर जिल्लाबाहेक सबै मत गनिसकिएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिए। ललितपुरका ५६० मत मात्र गन्न बाँकी रहेको बताइएको छ।
त्यसैगरी महासचिवका उम्मेदवार केदारप्रसाद कोइरालाले ४ हजार ६० मतले अग्रता लिइरहेका छन्। महासचिवका प्रतिस्पर्धी उम्मेदवार यज्ञमणि न्यौपानेले १ हजार ७०५ मत प्राप्त गरेका छन्। कोइराला मिश्र र न्यौपानै श्रेष्ठ समूहका हुन्।
‘बुधबारसम्म ललितपुरबाहेक सबै मत गणना सकिएको छ,’ मुख्य निर्वाचन अधिकृत निरालाले भने, ‘बिहीबारसम्म मत गणना सकिएर परिणाम घोषणा गरिनेछ।’ उनका अनुसार मिश्र समूहका सबै पदाधिकारी दोब्बर मतले अगाडि छन्।
बार केन्द्रीय समिति चयनका लागि शनिबार प्रत्यक्ष निर्वाचन भएको थियो। देशभरका विभिन्न एकाइबाट मतपेटिका काठमाडौं ल्याएपछि नेपाल बारको भवनमा गन्न थालिएको थियो। मिश्र सत्ता गठबन्धन निकट कानुन व्यवसायीका साझा उम्मेदवार हुन्।
श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल निकट कानुन व्यवसायीका साझा उम्मेदवार हुन्। अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका थिए। अध्यक्ष पदका अन्य उम्मेदवार राजु कैती, उज्वल घिमिरे, आशीष पौडेलको मत सय पनि कट्न सकेको छैन।
बारमा अध्यक्षसहित २५ पदका लागि ५७ जनाको उम्मेदवारी दर्ता भएको थियो। केन्द्रीय कार्यकारिणी समिति बारका सबै सदस्यले प्रत्यक्ष मतदानद्वारा चुन्ने व्यवस्था छ।
प्रत्यक्ष चुनावबाट अध्यक्ष, महासचिव, कोषाध्यक्षमा एकएकजना निर्वाचित हुँदैछन्। सातवटै प्रदेश र खुला क्षेत्रबाट गरी ८ जना उपाध्यक्ष चुनिँदैछन्। सदस्यमा १४ जना निर्वाचित हुनेछन्। सदस्यमा दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, महिला, खुला क्षेत्रबाट गरी निर्वाचित हुनेछन्।
जिल्ला अदालत बार, उच्च अदालत बार गरी देशका ३६ वटा जिल्लामा मतदान केन्द्र तोकिएका थिए। देशभर नेपाल बारका ९० वटा एकाइ रहेको बताइएको छ। बार निर्वाचनमा ९ हजार ९९६ जना मतदाता थिए। निर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो।
प्रकाशित: २८ चैत्र २०८१ ०७:२० बिहीबार





