८ वैशाख २०८१ शनिबार
समाज

ऐसेलुखर्क बजारमा छाडा कुकुरको बिगबिगी

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा कुकुरको बिगबिगी बढेको छ। ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा पर्ने ऐसेलुखर्कबजार तथा प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा छाडा कुकुरका कारण बिरामी, विद्यार्थी, वृद्धवृद्धा र रातको समयमा आवत–जावत गर्ने बिरामी, बिरामीका कुरुवा र स्वास्थ्यकर्मी त्रसित बनेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा कुकुरको आक्रमणका कारण कतिपय स्थानीय घाइते बनेको गाउँपालिकाले जनाएको छ। रातका समयमा बजार क्षेत्रमा भेला भएका कुकुरले झम्टने गरेको छ। जथाभावी छाडिएका कुकुरका कारण बजार तथा प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्रमा हिँडडुल गर्न कठिन भएपछि गाउँपालिकाले बुधबार सूचना जारी गर्दै जथाभावी कुकुर नछाड्न आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जारी गरेको सूचनामा कुकुर पालन गरिरहेका घरधनीलाई आ–आफ्नो कुकुर नियन्त्रणमा लिएर बाँधेर घरमा राख्न अनुरोध गरिएको छ।

गाउँपालिकाको सूचना उल्लंघन गर्ने कुकुर पालक घर धनीलाई कुकुरबाट भएको क्षति बेहोराउने भनिएको छ। ‘बिरामी, विद्यार्थी, वृद्धवृद्धा र रातको समयमा बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई आवत–जावत तथा हिँड्डुल गर्न समस्या सिर्जना हुनुका साथै केही मानिसलाई घाइते समेत बनाएको र भविष्यमा समेत त्यस्ता कुकुरले समस्या सिर्जना गर्न सक्ने हुँदा आ–आफ्नो कुकुरलाई बाँधेर राख्न अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘यस सूचनाको उल्लंघन गरी कुकुर जथाभावी छाडेमा कुकुरबाट हुन गएको क्षती सम्वन्धित घरधनीले बेहोर्नुपर्ने जानकारी गराइन्छ।’  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा समेत छाडा कुकुरको बिगबिगी छ। रातका समयमा दिक्तेलबजारमा हुल बनेको कुकुरले आक्रमण गर्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता छ। 

प्रकाशित: ९ भाद्र २०७८ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App