६ चैत्र २०८० मंगलबार
समाज

गोरखा–आरुघाट सडकमा कोदो रोप्दै जनप्रतिनिधि

सडकमा कोदो रोप्दै जनप्रतिनिधि। तस्बिर: नागरिक

गोरखा–आरुघाट सडक खण्डको ढुङ्गागाढे खण्डमा सवारी साधन घण्टौँ हिलोमा फस्ने गरेको छ। स्तरोन्नतीको जिम्मा लिएको निर्माण कम्पनीले सडक मर्मत नगर्दा दैनिक सयौँ सवारी साधन बिचैमा रोकिने गरेको यातायात व्यवसायी बताउँछन्।  

‘बसलाई एक्साभेटरले तानेर हिलो सडक पार गराउनुपरेको छ’ दरौँदी यातायात सेवा प्रालीका सदस्य अन्जनबाबु खत्रीले भने ‘सवारी साधनलाई पनि मार परेको छ, यात्रुले पनि दुःख पाएका छन्।’ अत्याधिक हिलो र खाल्डो भएका कारण बस सहजै चल्न नसकेपछि एक्साभेटरले तानेर बसलाई पार गर्ने गरिएको छ।

२०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको बानियाँ निर्माण सेवाले सडक निर्माण कार्य ढिला गर्दा पुरै खण्ड हिलाम्य छ। अहिले उक्त सडकमा दिनहुँ मोटरसाईकलमा सवार यात्रु दुर्घटनामा पर्ने गरेका छन्।

 गोरखा आरुघाट सड खण्डको ढुङ्गागाढेमा फसेका सवारी साधन।

बिहिवार उक्त सडक तत्कला सहज बनाउन माग गर्दै जनप्रतिनिधि, स्थानीय र यातायात ब्यवशायीले बिरोध जनाए। ढुङ्गागाढे चोकमा भेला भएका उनीहरुले सडकमा कोदोको बिउ समेत रोपे। ‘ठेकेदारले काम गरेनन्, बिरोध स्वरुप कोदोको बिउ रोपेका हौँ’ गोरखा नगरपालिका ४ का अध्यक्ष रामशरण अधिकारीले भने ‘बिहिवार बेलुकी सम्म ग्राबेल राखेर सहज नबनाउने हो भने शुक्रवार जिल्ला प्रशासनमा धर्ना दिन्छौँ।’ पटक–पटक सडक स्तोन्नतीको माग गर्दा समेत निर्माण कम्पनीले काममा चासो नदिएको र सरोकारवाला निकायले पनि ध्यान निदिएको गुनासो स्थानीयको छ।  ‘म हरेक दिन यहाँ केही घण्टा गाडी फसेर बस्नुपर्छ’ चालक निरज पाण्डेले भने ‘गाडी बिग्रिने डर उत्तिकै हुन्छ।’ सडकमा यात्रा सहज नभएपछि यात्रुले पनि सास्ती भोग्न बाध्य छन्। आरुघाट १ मान्बु हिँडेका नबिन लामा उक्त बाटो भएर आउँदा जाँदा नै सास्ती भएको बताउँछन्। 

गाडी फसेपछि पैदल हिड्दै यात्रु। 

 फिनामदेखि घ्याम्पेशाल खण्ड कालोपत्रे भएको छ। तर सदरमुकामदेखि कालोपत्रे सडकसम्म पुग्न सास्ती भोग्नुपर्छ। निर्माण जिम्मा लिने कम्पनीले सडक खण्ड निर्माण पुरा नहुँदा सम्म पनि उक्त खण्डमा नियमित सवारी चल्ने बनाउनुपर्छ। तर ब्यवशायीले हेलचेक्राई गरेका छन्। सडक वरपर घर भएकाहरुले पनि हिलाम्य सडकको कारण दुःख भोग्नु परेको बताएका छन्। पैदल यात्रुलाई पनि बाटो हिड्न सास्ती छ।

गोरखा सदरमुकाम भएर आरुघाट, घ्याम्पेशाल, बुङ्कोट, बोर्लाङ, सोती, माछाखोला, ताकुकोट लगायत ठाउँमा सवारी साधन आउजाउ गर्छन। ग्रामिण भेगको मूख्य ब्यापारीक केन्द्र आरुघाट जाने उक्त सडक खण्डमा सवारी साधन आउजाउ बाक्लो हुन्छ। 

गोरखा आरुघाट सडकको ढुङ्गागाढे खण्डमा हिलोमा फसेपछि एक्साभेटरले यात्रुबाहक बस तानिँदै।

 चार दशमलव ६ किलोमिटर सडक दुई वर्ष भित्र निर्माण सक्ने गरी ८ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो। सडकमा अहिले काम गर्ने मान्छे खासै देखिँदैनन्। ‘सडक नियमित सहज रुपमा सुचारु बनाउन निर्माण ब्यवशायीको दायित्व हो’ पूर्वाधार कार्यालयका प्रमुख दयाराम अधिकारीले भने। समय अवधी अझै बाँकी रहेको र वर्षातको कारण देखाउँदै अहिले काम नगरेको उनले बताए। ‘समय सम्म काम नगरेको भए कारवाही गर्न मिल्थ्यो, अझै समय एक वर्ष बाँकी छ’ उनले भने।  

निर्माण  व्यवसायीका साईड इन्चार्ज दिपेश खड्काले पहिले काम गरिएको र अहिले वर्षातका कारण काम प्रभावित भएको बताए। ‘ग्राबेल निकाल्न संभव नहुदा स्तरोन्नती गर्न नसकिएको बताउँदै उनले तत्काल सवारी चल्न सक्ने बनाउने बताए। ‘अहिले ३० प्रतिशत जति काम सकिएको छ’ उनले भने कालोपत्रेको काम वर्षात लागेकाले गर्न सकिएन, वर्षात रोकिएपछि सुरु हुन्छ।’

प्रकाशित: १४ श्रावण २०७८ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App