२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

अच्युत रेग्मी

वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात् स्वदेशी तथा विदेशी आरोहीहरूका लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दै छन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरू तोड्दै नयाँ कीर्तिमानहरू राख्न आतुर देखिन्छन् । नेपाल पर्यटन बोर्डले ६ हजार ५०० मिटरभन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ भने नेपाल पर्वतारोहण संघ (एनएमए) ले भने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाललाई आरोहण अनुमति दिँदै आएको छ ।

यसपटक सेभेन समिट ट्रेक्सबाट मात्र ८५ जनाले सगरमाथा आरोहण गर्दै छन् । सगरमाथा आरोहणका लागि ४६४ जनाले अनुमति लिएकोमा सेभेन समिटबाट मात्र ८५ जना रहेको यसका सञ्चालक मिङ्मा शेर्पा बताउँछन् । सेभेन समिटले लामो समयदेखि विभिन्न देशका आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएको छ । यसबाहेक इलाइट एक्सिपिडिसन, ट्याग नेपाल, इम्याजिङ नेपाल एक्सिपिडिसन, हिमालयन गाइड एक्सिपिडिसन, आठ के एक्सिपिडिसन लगायतले विदेशी आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएका छन् ।

प्राकृतिक सम्पदाले धनी देश नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेकोमा नेपालमा मात्र आठ वटा पर्छन् । हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौं आरोही आउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन् ।  

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् २०२६ को मार्च १ देखि आजसम्म ७९ देशका एक हजार ७२ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा आठ सय ११ पुरुष र दुई सय ६१ महिला छन् । हिमाल आरोहण अनुमति लिने संख्या अझै थपिन सक्ने विभागले जनाएको छ । गत वर्ष वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक हजार एक सय ४० जना आरोहीले आरोहण अनुमति लिएका थिए । उक्त आरोहण अनुमति दिएबापत नेपालले ७९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै सन् २०२४ मा ९९१ जनाले हिमाल आरोहण अनुमति लिएका थिए ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामा कोरोना महामारीपछि नेपालको हिमाल आरोहणका लागि विदेशी आरोहीको आकर्षण बढेको बताउँछन् । एनएमएले अनुमति प्रदान गर्ने पाँच हजार ८०० देखि ६ हजार ५०० उचाइका २७ हिमाल आरोहणका लागि पनि विदेशी आरोहीको हुटहुटी बढेको उनको भनाइ छ ।  

महासचिव लामाका अनुसार संघले सन् २०२४ को जुलाईदेखि २०२५ को जुलाईसम्म दुई हजार २०४ परमिट जारी गरेको छ । जसबाट एनएमएले १६ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गरेको छ । यस्तै सन् २०२५ को जुलाईदेखि हालसम्म दुई हजार २५ जनालाई परमिट जारी गरेको छ । उक्त परमिट जारी गरेबापत एनएमएले २० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

यस वर्ष वसन्त ऋतुका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथा आरोहणका लागि मात्र हालसम्म ५५ देशका ४६४ आरोहीले अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिइन् । सगरमाथा आरोहणका लागि अनुमति लिनेमा ३६४ पुरुष र १०० महिला छन् । विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनियाँ छन् ।  

चीनबाट मात्र १३९ आरोहीले आरोहण अनुमति लिएको निर्देशक राउतले बताइन् । यसबाहेक अमेरिकाबाट १३२, भारतबाट पाँच, बेलायतबाट ७२, जर्मनीबाट ६९, रुसबाट ६, क्यानडाबाट ३९, जापानबाट ३५, फ्रान्सबाट २६, अस्ट्रेलिया २४ र युक्रेनबाट २३ जनाले अनुमति लिएका छन् । यस्तै पोल्यान्डबाट ३१, नेपालबाट १७, अर्जेन्टिनाबाट १३, आयरल्यान्डबाट १४, चेक रिपब्लिकबाट १७, इक्वेडरबाट १०, ब्राजिलबाट नौ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

सरकारले सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २९ हिमाल तथा चुली आरोहणका लागि अनुमति दिएको हो । विभागका निर्देशक राउतका अनुसार सगरमाथाका लागि ४६४, ल्होत्से १११, आमदब्लम १०४, अन्नपूर्ण चार १३, धौलागिरी ३०, सरीबुङ १८, अन्नपूर्ण–१ का लागि २७, थोराङ पिक १४, मकालु ७२, नप्तसे ५२, हिमलुङ हिमाल ४६, कञ्चनजंगा ३६, बरुण १२ जनाले अनमुति लिएका छन् ।  

पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको भए पनि हिमाल आरोहणका लागि भने उत्साहजनक सहभागीता देखिएको छ । यस वर्षको हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट विभागले एक अर्ब १७ करोड ५५ लाख नौ हजार २५९ राजस्व संकलन गरेको छ । विभागले सबैभन्दा धेरै सगरमाथाबाट एक अर्ब एक करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै ल्होत्सेबाट चार करोड ९७ लाख ७१ हजार ६५०, मकालुबाट तीन करोड १७ लाख ८५ हजार ८००, आम दब्लमबाट एक करोड ५५ लाख ४५ हजार ५५०, धौलागिरी–१ बाट एक करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण–१ बाट एक करोड २० लाख ४९ हजार १७५, कञ्चनजंगाबाट एक करोड ६० लाख ८१ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ । विभिन्न हिमाल आरोहणका लागि आरोहीहरू गन्तव्यतर्फ लाग्ने क्रम सुरु भएको छ ।  

कतिपय आरोही भने हाल सगरमाथा आधार शिविरमा पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि अहिले डोरी टाँग्ने काम भइरहेको छ । सगरमाथा आरोहणलाई सहज बनाउन अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिले बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्म डोरी टाँग्ने काम गरिरहेको छ । समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा सगरमाथा बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्मको बाटो बनाउने काम सम्पन्न भइसकेको बताउँछन् ।

यस्तै क्याम्प दुईदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम भने पर्वतारोहण सञ्चालक संघ नेपालले गर्दै आएको छ । संघ नेपालका अध्यक्ष डम्बर पराजुली अहिले क्याम्प–३ सम्म डोरी टाँग्ने काम सम्पन्न भइसकेको बताउँछन् । ‘मौसमका कारण क्याम्प तीनदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्न समस्या भइरहेको छ,’ अध्यक्ष पराजुली भन्छन् । अध्यक्ष पराजुली मौसम राम्रो भए अबको चार/पाँच दिनमा सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम सकिने बताउँछन् । मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम केही ढिला भएको उनको भनाइ छ । अझै क्याम्प–४ हुँदै सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम बाँकी नै रहेको अध्यक्ष पराजुली बताउँछन् ।

हिमाल आरोहणका लागि आएका आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि हिमालयन उद्धार संघले सगरमाथा आधार शिविर र फेरिचेमा चिकित्सकको टोली खटाइसकेको छ । हिमालय उद्धार संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्याल हिमाल आरोहण गर्न जाने आरोही र तीनका सहयोगीको स्वास्थ्यजाँचका लागि तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सगरमाथा क्षेत्रमा परिचालन गरिसकेको बताउँछन् । आरोहीको स्वास्थ्य जाँचका लागि सगरमाथा आधार शिविरमा अस्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक पिन्स सिंह र सहयोगीका रूपमा लाक्पा नोर्बु शेर्पा खटिएका छन् । यस्तै फेरिचे स्वास्थ्य चौकीमा अस्ट्रेलियाली चिकित्सक रेबेका एलेन कार्पेन्टर, अमेरिकाका डा. केटलिन ब्रुक हार्पर, नेपाली चिकित्सक आकृति सिंह र सहयोगीका रूपमा आङदावा शेर्पा र थानेश्वर भण्डारी खटिएको सिइओ बस्याल बताउँछन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण २०० जेठ १६ (सन् १९५३ मे २९) मा सुरु भएको हो । सगरमाथाको पहिलो आरोही न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा हुन् । उहाँहरुले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेको दिनलाई सगरमाथा दिवसका रूपमा मनाइँदै आइएको छ ।

प्रकाशित: २५ वैशाख २०८३ १९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App