६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

खडेरीले बालीनाली सखाप, किसान चिन्तित

जुम्ला तिला गाउँपालिका ९ का मुनबहादुर बुढा खडेरीले बालीनाली सुकेपछि निकै चिन्तित छन्। उनले यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौँ र गहुँ छरेका थिए। हिउँदे बाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती सुरु गरेका उनको खडेरीले सबै बालीनाली सखाप बनायो।  

अहिले बाली सुकेर सोत्तर बनेपछि आगो लगाउनुको विकल्प छैन। मुनबहादुरले भने,‘जाैं पाक्ने बेला भइसक्यो। पानी परेको छैन। जमिनमा चिस्यान नहुँदा नपाक्दै बालीनाली सोत्तर बनेको छ।’

अहिले हरियाली हुनु पर्ने डाँडाकाडाँ सुख्खा छन्। जताततै डढेलो सुरु भइसकेको छ। धुलो धुँवाले जनजीवन पनि अस्तव्यस्त छ, मुनबहादुरले भने,‘बालीनाली बारीमै सुक्दा भोकमरी पर्ने निश्चित छ।’

यो वर्ष जुम्लामा हिउँदमा हिउँ नपर्दा खडेरी परेको छ। हिउँदमा हिउँ परेन। वर्षामा राम्रो संग बर्षा हुन सकेन। अर्का किसान धनबहादुर बुढाले थपे,‘खडेरीको सबैभन्दा बढी मार किसानमा परेको छ। किसान सुकेर सोत्तर भएको बालीनालीमा आगो लगाउनु बाहेक विकल्प देखिंदैन। अग्लो स्थानमा सिचाइँ सुविधा छैन। आकाशे भरमा खेती गर्नुपर्छ।’  

लामो समयको खडेरीका कारण जुम्लाको बालीनाली र फलफूल खेती नराम्ररी प्रभावित भएको छ। फल लाग्नको लागि फुलेका स्याउका बगैँचामा चिचिला नलाग्दै फुल झरिरहेका छन्। पानी नपर्दा खेरि मकै खेती सुरु भएको छैन। जमिनमा चिस्यान छैन। हलो जोतेर मकै रोप्न सकिएको छैन, स्थानीय पदमबहादुर बुढा भोकमरी लाग्ने चिन्ताले त्रासिद छौँ।’

खडेरीले खानेपानीका मुहान समेत सुक्न थालेका छन्। जसका कारण अधिकांस जुम्लावासी खोलाको दुषित पानी पिउन विवश छन्। बारीको बाली बारीमै सुकेको देखेपछि खेतीपाती गर्न किसानलाई जोश जागर आउँदैन।  

खडेरी प्रभावित क्षेत्र पहिचान गरेर सरकारले राहतका प्याकेज ल्याउनु पर्ने स्थानीय बताउँछन्। बनभरी आगो लागेर सकिसकेको छ। बारीमा बाली सुकेको छ। घरमा बसेर किसानको मन जलिरहेको छ। सिचाइँ सुविधा भएको क्षेत्रमा सामान्य रुपमा बालीनाली सप्रिएपति उच्चक्षेत्रमा बालनाली खडेरीले सुकेको छ।  

अधिकांँस किसान सुकेको जौँ, गहुँ बालीमा आगो लगाएर मकै लगाउने तयारी छ। वर्षभरी मेहनत गरेर लगाएको खेतीपाती खडेरीको चपेटामा परेपछि किसानको मन जलिरहेको छ। ८ महिनादेखि जुम्लामा पानी परेको छैन। यो हिउँदमा न हिउँ पर्यो, नत आवश्यक मात्रमा बर्षा नै भयो, उनले भने,‘जमिन सुख्खा छ। बाली सुकेको छ। जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा खडेरीका कारण बालीनाली सुकेको छ।

प्रकाशित: १ वैशाख २०७८ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App