१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णाली प्रदेशले प्रांगारिक कृषि दिवस मनाउने

अर्गानिक कृषिको आधार खडा गरी अर्गानिक प्रदेश बनाउने योजनालाई सघाउ पुर्‍याउन कर्णाली प्रदेश सरकारले आगामी वर्षदेखि हरेक वर्ष प्रांगारिक कृषि दिवस मनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशभरि प्रत्येक फागुन ६ गते प्रांगारिक कृषि दिवस मनाउने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ‘अर्गानिक कृषिको आधार खडा गरी रैथाने बाली वस्तुको संरक्षण गर्ने’ निर्णय गरेको थियो। त्यसयता कर्णालीलाई अर्गानिक प्रदेश बनाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। अर्गानिक कृषि प्रणालीको माध्यमबाट कृषि पेसालाई व्यावसायिक र प्रतिस्पर्धी बनाइ कृषकहरूको जीवनस्तरमा सुधार गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ।

 सरकारले कर्णाली प्रदेश अर्गानिक कृषि विधेयक–२०७५ समेत प्रदेशसभाबाट पारित गरिसकेको छ। अर्गानिक कृषिलाई जोड दिन प्रथम पञ्चवर्षीय योजनाको आधारपत्रसमेत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको छ। उक्त आधारपत्रमा स्वस्थ, अर्गानिक कृषि उत्पादन वृद्धि र आर्थिक समुन्नतिको आधार तयार पार्ने सोच लिइएको छ। 

‘अर्गानिक कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषकको आय बढाउँछौं,’ प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘रैथाने बाली र जैविक विविधताको संरक्षण र सम्बद्र्धन गरी वातावरणमैत्री कृषि प्रबद्र्धन र तुलनात्मक लाभका कृषिउपज प्रवद्र्धन गरी कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउने छौं।’

अर्गानिक कृषिको माध्यमबाट स्वच्छ स्वस्थ पोषणयुक्त खाद्य र बहुउपयोगी कृषि उपजको उत्पादन वृद्धि गरी आयआर्जन र रोजगारी सिर्जना गरी समृद्ध कर्णाली खुसी कर्णालीवासी प्रत्याभूति दिने उनको भनाइ छ। मन्त्रालयले आफ्नो सांगठनिक संरचनामा अर्गानिक खेती प्रबद्र्धन तथा जैविक विविधता शाखाको समेत व्यवस्था गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।  

उक्त मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि ‘अर्गानिक खेतीमा वृद्धि कर्णलीको समृद्धि’ भन्ने नारासहित कर्णालीका १० जिल्लाका एक/एक स्थानीय तहमा अर्गानिक कृषि नमुना कार्यक्रम सञ्चालन गरिएको छ। यी सबै काम गर्दा प्रांगारिक कृषि दिवस मनाउने प्रदेश सरकारको निर्णयप्रति किसान खुसी भएका छन्। ‘सरकारले प्रांगारिक कृषि खेतीलाई अझ संस्थागत गर्दै दिएको छ,’ किसान मोतिराम शर्माले भने, ‘यो निर्णयले खुसी दिएको छ।’  

उक्त दिवसमा प्रांगारिक कृषि खेती गर्ने उत्कृष्ट किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। कर्णालीमा प्रांगारिक कृषिको राम्रो सम्भावना भएको भन्दै उनले भने, ‘सरकारले प्रांगारिक खेतीका लागि बजारीकरणको सुनिश्चितता गर्नुपर्छ।’ प्रांगारिक कृषि खेतीमा लागेका किसानले दिवस मनाउने विषयले हौसला प्रदान गरेको किसानहरूको भनाइ छ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App