त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्ववियु निर्वाचन सोमबार (चैत १८) गते हुने भएको छ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो। उक्त विवादमा हिजो (शुक्रबार) अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको छ।
सो पश्चात् निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गर्दै एक सूचना जारी गरी यसबारे जानकारी दिएको छ।
मतदान स्थल त्रिवि कीर्तिपुरको शिक्षाशास्त्र केन्द्रीय विभागमा रहने निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्योपानेले जानकारी दिए। उनका अनुसार निर्वाचन सोमबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म हुने छ।

प्रकाशित: १६ चैत्र २०८१ २१:२० शनिबार