२० चैत्र २०८१ बुधबार
image/svg+xml ४:९ पूर्वाह्न
समाज

भवनभित्र कसरी फसे सुरेश ?

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

एभिन्युज टिभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख सुरेश रजक १० वर्षदेखि त्यहाँ कार्यरत थिए।

मूल घर काठमाडौं ताहाचल भए पनि चन्द्रागिरि नगरपालिकामा बस्दै आएका ३३ वर्षीय सुरेश रावादीहरूले शुक्रबार तिनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शनको भिडियो खिच्न अन्य सहकर्मी पारस श्रेष्ठ र अनिल रायमाझीसँगै त्यहाँ खटिए।

शान्तिपूर्ण भनिएको प्रदर्शन सुरु भएको केही समयमै अराजक बन्दै गयो। प्रदर्शनकारीले निजी र सरकारी सम्पत्तीमाथि तोडफोड, आगजनी गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको थियो।

सुरेशले त्यहाँका गतिविधिका लाइभ भिडियो खिचिरहेका थिए भने पारस र अनिलले उनलाई साथ दिइरहेका थिए। त्यतिबेलासम्म दिउँसोको झन्डै २ बज्न लागेको थियो। सोहीक्रममा त्यहाँ रहेको मार्बल हाउस भवन नजिक हुलदंगा सुरु भयो।

भवनको माथिल्लो तला (छत) बाट प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको थियो। त्यसपछि उक्त भवन प्रदर्शनकारीको निसानामा पर्‍यो। भवनको सटर केही प्रर्दशनकारीले तोडफोड गरे।

सटर खुलेपछि एक्सक्लुसिभ फुटेज खिच्न सहकर्मी अनिललाई छाडेर भवनभित्र पसे सुरेश। उनीसँगै अन्य सञ्चारकर्मी पनि भित्र पसेका थिए। एक्सक्लुसिभ फुटेज खिच्न र राम्रो समाचार दिन हरेक सञ्चारकर्मी तल्लीन हुन्छन्। ‘त्यसैका लागि सर (सुरेश) यतिछिटो भवनको माथि उक्लनुभयो, मैले थप कुरा गर्न पाइनँ,’ अनिलले भने।

अघिअघि प्रदर्शनकारी पनि भवनको माथिल्लो तलामा गएकाले उनीहरूले कागजात र अन्य सामग्री फाल्न थाले। सोहीक्रममा तल रहेका प्रदर्शनकारीले भवनमा आगो लगाउन थालेका थिए।

तल आगो बल्न थालेपछि सहकर्मी पारस र अनिल दुवैले सुरेशलाई फोन गरे। ‘तर उनको फोन उठेन,’ पारेस भन्छन्। आगो दन्कदै पहिलो तलामो पुग्यो। समाचार संकलनका लागि भवनभित्र पसेका अन्य सञ्चारकर्मी बाहिर निस्के। तर सुरेशले तेस्रो तलामा भिडियो खिचिरहेको उनीहरूले देखेका थिए।

समाचार संकलनका लागि सँगै गएका सहकर्मीको फोन नउठाए पनि सुरेश पहिलो तलामा आगो पुग्दासम्म कार्यालयको स्टुडियोसँग सम्पर्कमा रहेको अनिल बताउँछन्।

अवस्था थप अराजक बन्दै गएपछि सुरक्षामा खटिएका प्रहरीले अश्रुग्यास प्रहार गरे। अनिल र पारस केही पर गए। तर सुरेश सम्पर्कमा आएनन्। उनी त्यही फसेको आशंका उनीहरुले गरे।

अनिल र पारसले सुरेशलाई खोज्न सुरक्षामा खटिएका प्रहरीसँग हारगुहार गरे। प्रदर्शनकारीको दबाबमा रहेका सुरक्षाकर्मीले त्यसप्रति ध्यान दिन सकेनन्। त्यहीबेलामा काठमाडौं महानगरपालिकाको एउटा दमकल आगो निभाउन त्यहाँ पुग्यो।

प्रदर्शनकारीको ढुंगामुढाका कारण दम्कल त्यसै फिर्ता भयो। आगो नियन्त्रणमा लिन प्रहरीले चासो नदेखाएको सुरेशका सहकर्मीहरुको गुनासो छ। आफूले आफ्नो साथी भवनभित्र फसेकाले उद्धार गर्न सुरक्षाकर्मीलाई पटकपटक भन्दा पनि चासो नदिएको र दमकल बोलाउन भन्दा पनि अहिले नसकिने जवाफ दिएको अनिल सुनाउँछन्।

सुरेशको फोन साढे तीन बजेसम्म लागिरहेको जनाउँदै उनले भने, ‘प्रदर्शनकारी त अराजक थिए तर राज्यका निकायले पनि चासो देखाएनन्, जुन दुखद भयो।’

अनिल र पारसले भवनभित्र आफ्नो साथी फसेकाले निकाल्न सहयोग गर्न प्रदर्शनकारीलाई पनि अनुरोध गरेको बताए। केही समयपछि उक्त भवन आसपास भीड केही कम भयो। सशस्त्र प्रहरी बलको दमकल त्यहाँ पुग्यो। आगो केही कम भयो तर निभेको थिएन।

सशस्त्र प्रहरीले त्यहाँ कुनै व्यक्ति नपरेको बताए। त्यसपछि अनिल र पारसले आसपासका अस्पतालमा सम्पर्क गरे, कार्यालयमा पनि अवस्थाको जानकारी गराए। सुरेशको कुनै पत्तो लागेन।

साँझ प्रहरीले भवनमा लागेको आगो नियन्त्रणमा लिग्यो। त्यसपछि आधा जलेको अवस्थामा सुरेश त्यहीं भेटिए। सरकार र राज्यको निकायहरुको कमजोरी र अराज प्रदर्शनकारीका कारण सुरेशले बित्थ्यामा ज्यान गुमाए।

जोखिम उठाउन सिपालु सुरेशको त्यही आत्मविश्वासले आगोशको मुस्लोमा उनी फके वा कोठाभित्र नै राखेर बाहिर ताल्चा लगाएर विभत्स हत्या गरियो त्यो प्रहरी अनुसन्धानले मात्र खुलाउनसक्ने छ। उनका सहकर्मीहरू यति मात्र भन्नसक्छन् ‘हाम्रो आग्रह अनुसार सुरक्षाकर्मी परिचालित भइदिएको सुरेशलाई गुमाउनु पर्ने थिएन।’

यसै विषयमा थप जानकारी लिन शनिबार गृहमन्त्री रमेश लखेक एभिन्युज टिभीको कार्यालय पुगेका थिए। त्यसक्रममा एभिन्युज टिभी र सुरेशका परिवारले उनलाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तीन बुँदे माग राखेका छन्।

माग पूरा नहुँदासम्म सुरेशको शव नबुझ्ने उनीहरूले बताएका छन्।

प्रकाशित: १६ चैत्र २०८१ २१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App