कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेर पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले शीर्ष नेतृत्वलाई सन्यास लिन अनुरोध गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा एक लामो स्टाटस राख्दै उनले यस्तो अपिल गरेका हुन्। शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाललाई तुरुन्त राजनीतिबाट संन्यास लिन उनको अनुरोध छ।
उनले फेसबुकमा लेखेका छन्, ‘शेरबहादुर ज्यू, केपी ओली ज्यू र प्रचण्ड ज्यू, पत्रकार सम्मेलन गरेर आजै आत्मसमीक्षा सहित राजनीतिबाट संन्यास लिनुस्। मार्क्स र लेलिनको होइन, बुद्धको सन्तान भएको परिचय दिनुस्। नेपालमा नेपाली भएर बाँच्न दिनुस्। ढिलो नगर्नुस्।’ उनले गत चुनावमा यी नेताहरूले जनताको आवेग र असन्तुष्टि नरोकेको र भ्रष्टाचार नगरेको भए आज आन्दोलन नहुने दाबी गरेका छन्।
‘हजुरहरू तिनै जनाले राजनीतिबाट विश्राम लिएको भए यो आन्दोलन हुने थिएन। म जस्ता स्वतन्त्र नेपालीहरूलाई हजुरहरूले मिलेर लुटेको पैसाले नहराएको भए यो दिन देख्नुपर्ने थिएन,’ उनले लेखे। उनले आफूजस्ता युवाहरूलाई फुल्न र फक्रिन नदिएको र गणतन्त्रप्रति जनताको विश्वास टुटेको भनेका छन्। ‘अर्को चुनावसम्म कुर्न नसक्ने अवस्था हजुरहरूले बनाएको हो,’ उनले थपे।
ढकालले कार्यकर्ताले जनतालाई श्वास फेर्न नदिएको आरोप पनि लगाए। ‘बिरालो सानो भए पनि बन्द कोठामा थुनेर आक्रमण गर्दा ज्यान लिन सक्छ। अहिले त्यस्तै हो। हजुरका कार्यकर्ताले नेपालमा नेपाली भएर बाँच्न दिएनन्, श्वास फेर्न दिएनन्। त्यसैले जनताले मर्नुभन्दा बहुलाउनु बेस ठानेर बहुलाउने बाटो अँगालेका हुन्,’ उनले थपे।
ढकालले विश्वविद्यालय, कर्मचारी, न्यायालय र पत्रकारितामा रहेका ‘गुण्डाहरू’ लाई जनताको रगत चुस्न बन्द गर्न आग्रह समेत गरेका छन्। ‘नेपाली बन, पार्टी र कार्यकर्ताभन्दा देश र जनता माथि राख्न भन्नुस्। सकेको छिटो संन्यास लिनुस्, राजीनामा दिनुस्। यो राजतन्त्रको आवाज आफैँ हराउँछ,’ उनले लेखे। ‘हजुरहरूले जनतालाई जति जिस्क्याउनुहुन्छ, त्यति पतन नजिक छ। ४७/४८ पछि लुटेको पैसा फिर्ता गर्नुस्, असन्तुष्टि हराउँछ,’ उनले थपे।
‘गणतन्त्र राजाले ल्याएका हुन्, राजतन्त्र हजुरहरू तिनै जनाले ल्याउने हो। गणतन्त्र जोगाउन मन छ भने आजै राजीनामा दिनुस्। रगत लतपतिएको कुहिएको अनुहार देखाउन बन्द गर्नुस्। मुख हेर्दा घिन लाग्छ, वाकवाकी आउँछ,’ उनले कडा शब्दमा भने, ‘होइन भने हजुरहरूलाई लतारेर टुकुचामै राजनीति अन्त्य गर्न धेरै बेर छैन। यो सिस्टमले काम गर्छ भन्ने आशा सिद्धिन समय बाँकी छैन।’
यस्तो छ सागरको स्टाटस,
शेर बहादुर ज्यू, केपी वली ज्यू र प्रचण्ड ज्यू पत्रकार सम्मलेन गरेर आजै आफ्नो आत्म समीक्षा सहित राजाले राजगद्दी छोडे भन्दा सजिलो गरी राजनीतिबाट संन्यास लिनुस् * मार्क्स र लेलिनको होइन बुद्धको सन्तान भएको परिचय दिनुस् *नेपालमा नेपाली भएर बाँच्न दिनुस् * ढिलो नगर्नुस्।
गएको चुनावमा हजुरहरूले जनताको आवेग असन्तुष्टि नरोकेको भए, राजतन्त्र भन्दा पनि चरम भ्रष्टाचारी नभएको भए र हजुरहरू तिनै जनाले राजनीतिबाट विश्राम लिएको भए, आज यो आन्दोलन हुने थिएन। म जस्तो केही पार्टी नभएको स्वतन्त्र नेपालीहरूलाई हजुरहरू तिनै जना मिलेर लुटेको पैसाले नहराएको भए आज यो दिन देख्नु पर्थेन। कम्तीमा म जस्ता देशभरिका युवाहरूलाई नरोकेर फुल्न र फक्रिन दिएको भए, जनतालाई गणतन्त्रले र चुनावले काम गर्छ भन्ने विश्वास गर्थे र अर्को चुनावसम्म कुरेर बस्थे । विडम्बना अब अर्को चुनावसम्म कुर्न नसक्ने हजुरहरूले बनाउनुभएको हो। बिरालो सानो भए पनि बन्द कोठामा थुनेर आक्रमण गर्दा बिरालोले हजुरको ज्यान लिन सक्छ। अहिले त्यस्तै हो- हजुरका कार्यकर्ताले नेपालमा नेपाली भएर बाँच्न दिएनन् , श्वास फेर्न दिएनन् ,त्यही भएर निरीह जनताले मर्नु भन्दा बहुलाउनु बेस भनेर उपाय हराएर बहुलाउने बाटो अङ्गालेका हुन्। अरु धेरै बहुलाउन नदिनुस् , बन्द कोठाका झ्यालहरू खोलिदिनुस्, नेपाली स्वास फेर्न दिनुस्। आफ्ना विश्वविद्यालय , कर्मचारी, न्यायलयमा, पत्रकारिता लगायतका क्षेत्रमा भएका गुण्डाहरूलाई जनताको रगत चुस्न सकेको छिटो बन्द गर्न भन्नुस्। नेपाली बन , पार्टी र कार्यकर्ता भन्दा माथि देश र जनता राख भन्नुस्।
हजुरहरू तिनै जनाले सकेको छिटो सन्यास लिनुस्, राजीनामा दिनुस्। यो राजतन्त्रको आवाज लामो समय आफै धकेलिन्छ। हजुरहरूले जनतालाई जति जिस्क्याउनु हुन्छ त्यति तपाईँहरूको पतन नजिक छ। हजुरका सम्पूर्ण कार्यकर्ताहरूलाई गुन्डा बनेर जनतालाई लुट्न बन्द गर्न भन्नुस्, ४७/४८ पछि लुटेको पैसा फिर्ता गर्नुस्, जनताको असन्तुष्टि आफै हराउँछ। गणतन्त्र राजाले आफै ल्याएका हुन् र राजतन्त्र हजुरहरू तिनै जनाले ल्याउने हो। गणतन्त्र जोगाउन मन छ भने आजै राजीनामा दिनुस् ।
नेपालीहरू मारेर रगत लतपतिएको त्यो कुहिएको अनुहार नेपाली जनतालाई देखाउन बन्द गर्नुस्। मुख हेर्दा पनि घिन लाग्ने भइसक्यो, वाकवाकी आउने भइसक्यो। होइन भने तपाईँहरूलाई लतारेर हजुरहरुको राजनीति टुकुचामै अन्त्येष्टि गर्न धेरै बेर छैन। अब जनतालाई यो सिस्टमले काम गर्छ भन्ने झिनो आशा पनि सिद्धिन धेरै समय बाँकी छैन। बेलैमा पशुपतिनाथले हजुरहरूलाई कृपा गरुन् , बुद्धि फेरिदिउन्, राजा भन्दा त्यागी बनाइदिउन र बाँकी निरीह जनताको श्वास जोगाइदिउन्। हरि 🕉️🕉️
प्रकाशित: १६ चैत्र २०८१ ०७:४९ शनिबार