कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले भीडभाड र ओहोरदोहोर पूर्ण निषेध गरेको बेला बिहिबार जात्रा मनाउने नाममा पुल्चोकमा ठूलो हुल निस्कियो। उनीहरुले अघिल्लो दिन दबाब मुलुक कार्यक्रम मात्रै गर्ने भनेर प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले सामान्य ठान्यो। प्रहरीले १५ जनाभन्दा बढी भेला नहुन भन्यो। तर, बिहिबार विहान १० बजेपछि पुल्चोकमा निकै भीडभाड हुन थाल्यो। दबाबमुलक कार्यक्रम भन्ने वहानामा रथ नै तान्ने तयारी स्थानीय युवाहरुले गरेका रहेछन्।
प्रहरीको उपस्थिति नहुँदै निस्किएको भीडले एकाएक रथमा डोरी बाध्यो र रथ तान्न सुरु भयो। स्थानीय युवाहरु जात्रामा एकाएक भेला भएपछि महानगरीय प्रहरी प्रभाग पुल्चोक र सानेपा प्रभागबाट प्रहरी आयो। कोरोना महामारीको बेला कुनै सावधानी अपनाइएको थिएन। धेरै युवाहरुले मास्कधरी लगाएका थिएनन्। उनीहरुले कोरोना भन्दा ठूलो जात्रा भएकाले जसरी पनि तान्ने भन्दै प्रहरीलाई दवाब दिन थाले। प्रहरीले प्रशासनले रोक्न आदेश दिएको भन्दै युवाहरुलाई सम्झाउन खोज्यो। तर, युवाहरुले मानेनन्। प्रहरीमाथि नै जाइलाग्न थाले। प्रहरीले केही समय छाडिदियो। भीडभाड झन् बढ्यो। स्थानीयले डोरी बाधेर सामान्य अवस्थामा जस्तै रथ तान्न थाले। पाटन क्षेत्रका अधिकांश स्थानीय पुल्चोक क्षेत्रमा भेला भए। पुल्चोकमा भीडभाड बढ्यो। पुल्चोकको प्रहरीले रोक्न नसक्ने स्थित नभएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरमा जानकारी गरायो। रथ तान्ने विषयमा प्रशासनले कुनै निर्णय भने गरेको थिएन। तर, एकाएक आफूखुशी युवाहरु आएर रथ तान्न सुरु गरेपछि प्रहरीले जात्रा रोक्न खोज्यो। आफूहरुको संस्कृतिमाथि प्रहरीले दमन गरेको भन्दै युवाहरु चिच्याउन थालेपछि प्रहरीले अश्रुग्यास, टियरग्याँस र पानीको फोहरा हान्यो। त्यति गरेपछि भीड तितरबितर भयो। त्यतिबेला रथ गावहाल लैजाने क्रममा महानगरपालिकातर्फ तानिँदै थियो। करिब १० मिटर वरसम्म रथ स्थानीयले तानिरहेको थिए। युवाहरुले प्रहरीमाथि ढुंगामुढा समेत गरे। एक ट्राफिक प्रहरीलाई उनीहरुले मरणासन्न हुनेगरी कुटपिट समेत गरेका छन्।
महामारीको बेला सरकारले निषेधाज्ञा गरेको बेला रथ तानेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले रोक्न खोज्दा पनि भिड जम्मा भएपछि प्रहरीले कडाई गरेको ललितपुर प्ररिसर प्रमुख एसएसपी टेक प्रसाद राईले बताए। उनले यस्तो बेलामा रथ तान्न नदिइने बताए। ‘अचानक आएर रथ तान्न सुरु गरे, त्यसबारेमा हामीलाई थाहा नै थिएन, प्रशासनको अनुमति बिना भीडभाड बढेपछि हामीले कडाई गरेका छौं,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रशासनको अनुमति बिना रथ तानेपछि प्रहरी प्रशासनलाई रोक्न निर्देशन दिइएको थियो। उनले भने, ‘यसबारेमा हामीले पनि निर्णय गर्छौं, अहिले रथयात्रा गर्ने स्थिति छैन, संक्रमण कम भएपछि तान्ने भएर छलफल हुँदैथियो, गुठी संस्थाले हामीले ठोस रुपमा जानकारी दिएको थिएन, त्यसकारण रोकियो।’
गुठी संस्थान ललितपुर शाखा प्रमुख राजन भुजुले रथ तान्ने निर्णय हाललाई नगरिएको बताए। उनले प्रशासनलाई कसैले पनि जानकारी नगराएको बताए। ‘यसबारेमा केही स्थानीयसँग छलफल भएको थियो, तर तान्ने मिति चाँहि तय भएको होइन, यसबारेमा मलाई जानकारी छैन,’ उनले भने।
तर, स्थानीय युवाहरुले प्रहरी प्रशासनसँग जानकारी दिँदा पनि वास्ता नगरेपछि जर्बजस्ती रथ तान्न जुटेको बताए। उनीहरुले प्रहरीले रोक्ने भएपछि एकाएक भेला भएको बताए। ‘सरोकारवालालाई बिन्ति बिसाउँदा पनि वास्ता नगरेपछि यस्तै हुन्छ,’ पाटनका स्थानीय सुमेश महर्जनले भने। अर्का स्थानीय श्यामकाजी महर्जनले आफुहरुले प्रशासनलाई जानकारी गराउँदा रोक्ने भएपछि बिना जानकारी रथ तान्न जुटेको बताए। उनले भने, ‘हामीले सबैसँग रथ तान्छौं भनेर माग गरेका थियौं, सबैतिरबाट रोक्ने कुरा आयो त्यसपछि युवाहरु जुटेर रथ तान्न थालेका थियौं, प्रहरीले दमन गर्योउ।’
रातो मच्छिन्द्रनाथको रथजात्रा नेपालकै लामो जात्रा मानिन्छ। वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मन्छिन्द्रनाथको रथजात्रा उपत्यकावासीको ठूलो पर्व हो। यसपटक कारोना भाइरसका कारण जात्रा प्रभावित बन्न पुगेको छ। कोरोना महामारी नभएको भए भदौंको पहिलो साता रथ जावलाखेलमा पुगिसक्थ्यो। तर, कोरोना महामारीका कारण पुल्चोकमा रथ निर्माण र रातो मच्छिन्द्रनाथ देवतालाई रथमा राखेपनि रथ गुडाउन सकिएको छैन। रथलाई तिथिमिति हेरेर पुल्चोक, गावहाल, मंगलबजार, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलमा लगिन्छ। त्यहाँ लगेपछि भोटो देखाएपछि जात्रा सकिने परम्परा छ। भोटो देखाउने जात्रामा राष्ट्रप्रमुखको सहभागिता रहँदै आएको छ। प्रहरीले रथ रोकपछि त्यसबारेमा छलफल गर्नको लागि गुठि संस्थान, प्रहरी प्रशासन, जिल्ला प्रशासनलगायतको बैठक चलिरहेको छ।
प्रकाशित: १८ भाद्र २०७७ १०:३८ बिहीबार