१२ मंसिर २०७७ शुक्रबार
समाज

अमेरिकालाई महाशक्ति बनाउने भाइरस

इतिहास

एन्जेल बर्मुडेज/बिबिसी

महामारीले संसारको राजनीतिक नक्सा बदल्छ । यो कुरा इतिहासमा कयौँ पटक प्रमाणित भएका छन् । यस पटकको कोरोनाभाइरस महामारीले के अहिलेको भूराजनीतिक दिशालाई केही परिवर्तन गर्ला ? अहिले यसबारे छलफल चलिरहेको छ । तर के इतिहासमा यस्ता महामारीले देशको नक्सा नै परिवर्तन गरेका छन् त ?  

इतिहासकारहरु भन्छन्, ‘यो सम्भव छ किनभने इतिहासमा महामारीपछि राजनीतिक अवस्था उस्तै रहिरहन सकेको छैन ।’

यहाँ एउटा त्यस्तै एउटा महामारीको चर्चा गरिएको छ, जसको प्रभाव सदियौँसम्म संसारकै भूराजनीतिलाई नै परिवर्तन गरिदिएको छ ।

सन् १८०१ को अन्त्यमा नेपोलियन बोनापार्टलले क्यारेबियन देश हैटीलाई कब्जा गर्न फ्रान्सको इतिहासकै सबैभन्दा ठूलो सेना पठाए । तर फ्रान्सको जल सेना र स्थल सेना जाबो एउटा मच्छडका कारण लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

येल्लो फिभरको महामारीको चपेटामा परेर हजारौँ फ्रान्सेली सैनिक मारिए । क्यारेबियन क्षेत्रमा यत्तिका सेना मारिएको यो कीर्तिमान तीन सय वर्षयता कुनै पनि छैन ।

यस महामारीका कारण वेस्ट इन्डिज कब्जा गर्ने नेपोलियनको त्यो योजना नै छिन्नभिन्न भयो, जसको केन्द्रबिन्दु हैटी थियो ।

यस विफलताका लागि एउटा सम्पन्न तर युवा देश बन्नका लागि परिस्थिति अझ राम्रो भयो, जसको उदय आउँदा दिनमा शताब्दी नै परिवर्तन गर्दै थियो ।

तर प्रश्न छ, नेपोलियनलाई हैटीमा कसरी अचानक रुचि बढ्यो ?

चिनी र कफीको साम्राज्य

फ्रान्सले स्पिानिओलाको पश्चिमी भागमा अनौपचारिक रुपमा आफूलाई स्थापित गरेपछि यहाँ डोमिनिकन गणराज्य र हैटी कब्जा भएका क्षेत्रमा एक तिहाई भाग सन् १६९७ मा स्पेन अधिनस्थ पार्न सक्षम भयो । यसका लागि एउटा सन्धि पनि गरियो । सेन्टो डमिन्डो चाँडै नै फ्रान्सको सबैभन्दा महत्वपूर्ण ठाउँ बन्यो । यसको कारण त्यहाँ उत्पादन हुने कफी र चिनीको उत्पादन थियो । यहाँ उत्पादन हुने चिनी र कफी मुख्य गरी युरोपमा निर्यात हुन्थ्यो । यसबाट फ्रान्सले निकै ठूलो आम्दानी गर्ने गथ्र्यो ।

सन् १७८० को सुरुमा यस कोलोनीबाट उत्पादनको सामान लैजानका लागि ७०० भन्दा बढी जहाज आउने गर्थे । त्यो बेला विदेशमा फ्रान्सको दुई तिहाई लगानीको अंश थियो तर यो सारा सम्पत्ति मुख्य रुपमा अफ्रिकी मूलका मानिसहरुलाई दास बनाएर गरिएको आम्दानी थियो ।

त्यो बेला मृत्युदर निकै बढी हुने हुनाले मानिसहरु कम पैसामा नै गुजारा चलाउन राजी थिए । पैसाको त्यत्ति बढी आवश्यकता पनि पर्दैनथ्यो । उनीहरुको जीवनस्तर ज्यादै नराम्रो भएका कारण हैटी पु¥याइएका दासहरु पहिलो वर्षमै ज्यान गुमाएका थिए ।

यस घटनाले भने अफ्रिकाबाट गुलाम ल्याउने चलन अझ बढ्यो । हरेक वर्ष हजारौँ दासहरुको व्यापार हुन थाल्यो । ल्याइएका दासहरु पीत ज्वर (येल्लो फिभर) लगायतका व्याधिका कारण वर्षेनी ज्यान गुमाउँथे । तिनको ठाउँ भर्नका लागि भए पनि नयाँ दास भर्ती गर्नु जरुरी हुन्थ्यो ।

त्यो बेलाको नश्लीय भेद अर्थात् काला र गोराबीचको विभेद निकै चर्को थियो ।  

फ्रान्सेली इतिहासकार पल फ्रेगोसी यस विभेदलाई गहिरो गरी हेर्नेमध्येका मानिन्छन् । उनी भन्छन्, ‘गरिब श्वेतले धनी श्वेतलाई देखिसहँदैनथ्यो । धनी श्वेत गरिब श्वेतलाई तुच्छ ठान्थे । मध्यमवर्गको जीवन बाँचिरहेका गोराहरु सधैँ ईष्र्यामा बाँचिरहेका थिए ।’

‘यी तीनका बीचमा अर्को वर्ग पनि थियो, जसलाई मुलटोस भनिन्छ । मुलटोसहरुले भने काला जातिलाई पुनः अस्तित्वमा ल्याउने कार्य गरे । उनीहरुले काला जातिलाई एक किसिमले भन्ने हो भने पुनः आफ्नो अस्तित्वतर्फ फर्कन, आफ्नो अधिकारका लागि संघर्ष गर्ने बाटो खुला गरे । यसले काला जातिले गोराप्रति घृणा र तिस्कारको बाटो अँगाले ।’

यही कारण सन् १७९१ मा दासहरुले विद्रोहको बिगुल फुके । यस विद्रोहका कारण गृहयुद्ध हुन थाल्यो र जातिजातिबीच लडाइँ हुन थाल्यो ।

यो विद्रोहले तीन वर्षभित्रै सबै क्यारेबियन उपनिवेसमा दास प्रथा अन्त्य गर्न बाध्य भयो ।  

शान्ति स्थापना गर्नका लागि त्यहाँ सेना पठाउनुपर्ने अवस्था थियो । त्यसैले नेपोलियनले सन् १८०१ को सुरुमा सेना पठाउन थालियो र १८०२ को जनवरीमा नै सुरुवाती चरणमा पठाइएका सेना सेन्टो डामिन्गो पुग्यो । विशेषज्ञहरु भन्छन्, सेन्टो डोमिन्गोमा करिब ६० हजारदेखि ८५ हजारसम्म सेना थिए ।

सेना प्रमुखलाई मिसनका बारेमा गोप्य निर्देश दिइएको थियो ।  

अमेरिकी इतिहासकार जेआर म्याक्निल ‘मस्किटो एम्पायर्सः इकोलजी एन्ड वार इन द ग्रेटर क्यारेबियन, १६२०–१९१४’ पुस्तकमा लेख्छन्, ‘नेपोलियनले सेना प्रमुख जनरल भिक्टर इम्यानुएल चाल्र्स लेक्लेर्कलाई सेन्टो डोमिन्गोमा फ्रान्सको कब्जालाई स्थायित्व राखिराख्नू र अर्थव्यवस्थालाई आफ्नो बागडोरभन्दा फुत्किन नदिनू । यसो गर्न सकिएन भने विद्रोहले हामी सबैलाई अप्ठेरोमा पार्नेछ ।’

नेपोलियन चाहन्थे, भर्खरै उन्मूलन भएको दास प्रथालाई पुनः सुरु गरियोस् । त्यसका लागि काला जातिलाई पूर्ण रुपमा निरस्त्र गर्न सकिन्थ्यो र तिनका नेतालाई फ्रान्सका जेलमा कोचिन्थ्यो । यस्तो कार्य पूरापूर गोप्यताका साथ गर्न जरुरी हुन्थ्यो ।

नेपोलियन बोनापार्टले लेक्लेर्कले त्यो बेलाका विद्रोही टस्सेन्टलाई बुद्धिमतापूर्ण ढंगले व्यवहार गर्न, उसप्रति सम्मान देखाउन र जब टस्सेन्टले आफ्नो सुरक्षामा कमजोरी देखाउँछ, त्यसलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।  

फ्रान्सबाट जुन नयाँ सेना क्यारेबियन आएका थिए ती स्थानीय लडाकुका तुलनामा तालिमप्राप्त थिए । उनीहरुका सामु स्थानीय लडाकुसँग न त तालिमको अनुभव थियो न त आधुनिक हतियार नै । त्यसैले पनि सन् १८०२ को मे महिनाको अन्त्यसम्म उनीहरुले निकै ठाउँमा विजय हासिल गरे । यसपछि लेक्लेर्कले हैटीका नेतासँग सन्धि गरे र टस्सेन्ट फ्रान्स फर्कन राजी भयो ।  

यसको एक महिनापछि टस्सेन्ट बेफिक्रीका साथ लेक्लेर्कसँग भेटका लागि गयो, जहाँ उसलाई योजना मुताबिक पक्राउ गरियो । यसपछि उसलाई फ्रान्स पठाइयो, जहाँको एक कालकोठरीमा एक वर्षपछि उसको मृत्यु भयो ।

खतरनाक शत्रु

केही इतिहासकाहरुको मत छ, टन्सेन्टको गिरफ्तारी हतारोमा गरियो । किनभने औपनिवेसिक शक्तिहरुलाई थाहा थियो– टेस्सेन्ट गर्मीयामको प्रतीक्षामा थियो । येल्लो फिभर फैलिने प्रतीक्षाका लागि ऊ आनन्दले समय कटाइरहेको थियो ।  

चिकित्सा क्षेत्रको इतिहास लेख्ने जोन एस मार र जोन टी क्याथी भन्छन्, ‘टस्सेन्टलाई चिकित्सा क्षेत्रको ज्ञान थियो र उसलाई यो ज्वरोले कुन बेला कहाँ दुस्मनमाथि आक्रमण गर्छ भन्ने पनि थाहा थियो । यदि वर्षायाममा गोराहरुलाई बन्दरगाह र तल्लो क्षेत्रमा लैजान सकियो भने उनीहरुको पूरै समूह नामेट हुन्छन् भन्ने उसले बुझेको थियो ।’

यस रणनीतिकको झलक टस्सेन्टले ज्याक्सन डेसालाइन्सलाई लेखेको एउटा पत्रमा पनि देखिन्छ, जो पछि टेन्सेन्टको उत्तराधिकारी पनि थिए र औपनिवेसिकताको जञ्जिर तोडेर स्वतन्त्र हैटीको पहिलो राष्ट्रपति बन्नेवाला थिए ।

टेस्सेन्टले पत्रमा डेसालाइन्सलाई भन्छन्, ‘तिमीले त्यो बन्दरगाह जलाइदिनू, जहाँ फ्रान्सेलीहरुले अड्डा जमाएर बसेका छन् । वर्षाले हाम्रो शत्रुबाट मुक्त गराउनेछ । उनीहरुलाई अप्ठेरोमा पारेकै बेला हामीले तिनको हतियार नष्ट गर्नुका साथै तोडफोड पनि गर्नु जरुरी हुन्छ ।’

टेस्सेन्टको गणना एकदम सटिक थियो । सन् १८०२ को वर्षा मौसम सुरु भएपछि फ्रान्सेली सेनामाथि एम्स एइग्यप्टी प्रजातिको लामखुट्टेले आक्रमण गर्न थाले ।  

लेक्लेर्कले यो समस्यामा केन्द्रित रही रक्षामन्त्री डेनिस डेस्क्रेसलाई पत्र पठाएका थिए । पत्रमा लेक्लेर्क लेख्छन्, ‘यहाँ मच्छडका कारण सबैको ज्यान जोखिममा छ । आफ्नो ज्यान जोखिममा नराखी, विनामिहिनेत कसैले पनि काम गर्न सक्तैन । मेरा लागि यहाँ छ महिनाभन्दा बढी बस्नु सम्भव छैन । मेरो स्वास्थ्य निकै खराब भइसक्यो । ६ महिनासम्म म बाँचे भने त्यो पनि खुसीकै कुरा हुनेछ । यहाँ पीतज्वरका सेनाका कयौँ जवानको ज्यान गइसक्यो । 

यसका कारण बाँकीका केटाहरु पनि निकै डराएका छन् । २६ हजार जवानमध्ये अब जम्मा १२ हजार मात्र बाँकी रहेका छन् । यतिबेला सैन्य अस्पतालमा ३६ सयभन्दा बढी जवानहरु भर्ती भएका छन् । हरेक रात तीसदेखि पचास सैनिक गुमाउनु परेको अवस्था छ । ज्वरोका कारण हरेक दिन अस्पतालमा दुई सयदेखि पाँच सयसम्म सैनिक भर्ती गर्नुपरेको छ भने तीमध्ये मुस्किलले ५० जना मात्र बाँच्ने गरेका छन् ।’  

फ्रान्सेली सेना जुन किसिमको भीडभाडयुक्त बन्दरगाह र जहाजमा बसेका थिए, ती मच्छडका लागि उर्वरयुक्त थलो थियो । त्यसमाथि जो युरोपबाट त्यहाँ पुगेका नयाँ व्यक्ति थिए, तिनमा रोग प्रतिरोधक क्षमता कम थियो वा क्षमता नै थिएन । यो द्वीपमा पहिले नै बसेका स्थानीयहरुमा भने यी लामखुट्टेको टोकाईले खासै असर गर्दैनथ्यो ।  

यस कारण लेक्लेर्कको सैन्य टुकडी येल्लो फिभरका कारण छोटिँदै जान थाल्यो ।  

मेक्निलका अनुसार हैटी पठाइएका फ्रान्सेली सेनामध्ये ८० देखि ८५ प्रतिशत त फर्कन सकेनन् । तीमध्ये अधिकांश रोगका कारण र केही भने युद्धका दौरान मारिएका थिए ।  

यसरी जोन एस मार र जोन टी. क्याथीको गणनामा निकै ठूलो संख्यामा फ्रान्सेली सेनाको मृत्यु भएको हुनुपर्ने आँकलन गरेका छन् ।

यो महामारीका कारण स्वयं लेक्लेर्कको पनि मृत्यु भएको थियो । उनी सन् १८०२ को नोभेम्बरमा उनको मृत्यु भएको थियो । यसको एक वर्षपछि अन्ततः फ्रान्सेली सेना सो द्वीपबाट फिर्ता फ्रान्स फर्कन बाध्य भयो । यति मात्र होइन, यो द्वीप कब्जा गर्ने फ्रान्सेली सपना र खासगरी नेपोलियनको योजना योजनामै सीमित हुन पुग्यो ।

यो हारका लागि केही रणनीतिक गल्ती देखिन्छ । खासगरी टस्सेन्टलाई गिरफ्तार गर्नु, नेपोलियनको ग्वाडलुपे द्वीपमा दास व्यवस्थालाई पुनः सुरु गर्ने निर्णय लिइनु, लेक्लेर्कका उत्तराधिकारी जनरल डोनेसियन रोचाम्बियुले बर्बर युद्ध अभियान चलाउनु आदि । यी रणनीतिक गल्तीका कारण फ्रान्सका काला र मुलाटुस समुदायका तर्फबाट निकै ठूलो विरोध सहनु प¥यो ।  

तर तीमध्ये कुनै एक कारणले मात्र पनि फ्रान्सेली सेनाले हार बेहोरेको थिएन । यी सबैमध्ये सबैभन्दा ठूलो कारण चाहिँ येल्लो फिभर थियो ।

महाशक्तिको उदय

नेपोलियन बोनापार्टका तर्फबााट सेन्ट डोमिनग्वेमा नियन्त्रण स्थापित गर्ने प्रयासपछि अर्को शक्तिले यस ठाउँमा आफ्नो कदम बढाउन थाल्यो । तर सेन्ट डोमिनग्वेले बढिरहेको रुझान एउटा नयाँ र विकासशील देशका लागि चिन्ताको कारण बनिरहेको थियो । यो नयाँ र विकासशील देश थियो– अमेरिका ।

सन् १८०० को अन्त्यमा स्पेनले एउटा गोप्य सम्झौताका आडमा फ्रान्सलाई लुजियानाको एउटा कोलोनी उपहारमा दियो । यस कोलोनीमा फ्रान्सले अमेरिकाको जुन जमिन हात पार्‍यो, त्यो अहिलेको अमेरिकाको अर्कान्सास, आइओवा, मिश्री, केन्सस, ओक्लाहोमा, नेब्रास्का, मिनेसोटाका केही ठाउँ, न्यु मेक्सिको, साउथ डकोटा, टेक्सस, व्योमिङ, मोन्टाना र कोलोराडो राज्य पर्छन् ।

यसका साथै फ्रान्सले क्यानडाअन्तर्गतका अलबर्टा र सास्काचेवान पनि हात पार्‍यो ।  

अमेरिकाका थोमस जेफरसनको सरकार यस कुरालाई लिएर चिन्तित थियो कि वास्तवमा अमेरिकामा नेपोलियनले एउटा ठूलो जमिन हात पारेको थियो । यी जमिन हात पारेपछि कतै भर्खरै जन्मिएको अमेरिकाको नियन्त्रणमा रहेको मिसिसिपी नदी, न्यु ओर्लिन्स बन्दरगाहमा जुन बेरोकटोक व्यापार भइरहेको थियो, त्यसलाई कतै फ्रान्सले अप्ठेरोमा पारिदिने हो कि भन्ने चिन्ता थपिएको थियो ।  

यसका अतिरिक्त यो भाग जसको नियन्त्रणमा पुगेको थियो, नेपोलियनजस्तो सशक्त नेतृत्वको हातमा पुगेको थियो । फ्रान्स यस हिसाबले निकै सम्भावनायुक्त विश्वशक्ति बन्दै थियो । त्यसो हुनु भनेको अमेरिकाको उन्नतिमा बाधा पुग्नु थयो ।

सन् १८०२ मा लुजियाना सम्झौता भएको थाहा पाएपछि राष्ट्रपति जेफरसनले लेखेका थिए, ‘यस किसिमको सम्झौताले अमेरिकामा सबै राजनीतिक सम्बन्धलाई परिवर्तन गरिदिनेछ । यसपछि राजनीतिक घटनाको एउटा नयाँ युगको सुरुवात हुनेछ ।’

इतिहासकार जोन मिचम भन्छन्, ‘जेफरसनले आफ्नो जीवनीमा लेखेका छन्– स्पेनले यी क्षेत्रलाई आफूसँगै राख्न सक्थ्यो । यसलाई फ्रान्सको हातमा दिने अपेक्षा नै गरिएको थिएन । फ्रान्सको स्वभाव, ऊर्जा र कहिल्यै नथाक्ने चरित्रका कारण हामीले सधैँ संघर्ष गरिरहनुपर्ने अवस्थामा पुर्‍याउनेछ । यस्तो अवस्थामा फ्रान्स र अमेरिका सधैँ साथी नै बनिरहलान् भन्ने कुरामा शंका उत्पन्न हुनेछ ।’

यो समस्या जन्मनुअघि नै किन नतुहाउने भन्ने विचारका साथ जेफरसनले जेम्स मुकरोलाई पेरिस पठाए । नेपोलियनसँग उनले न्यु ओर्लियनस किन्ने प्रस्ताव राखेका थिए । यसो गर्दा फ्रान्सलाई परै राख्न सकिन्थ्यो ।

मुनरोले जेफरसनको काम त गरिदिए तर यसका साथै जेफरसनले एउटा विशेष कुरा पनि हात पारे ।

के भयो भने मुनरो जब न्यु ओर्लियन्सको कुरा गर्न जाँदा नेपोलियनले त त्यो मात्र किन, तिमीहरु चाहन्छौ भने लुजियाना कोलोनी नै जिम्मा लिओ भनेर प्रस्ताव राखे ।

तर नेपोलियनले यो कदम किन उठाए त ?

इतिहासकार मिचम भन्छन्, ‘फ्रान्सका लागि युरोपभन्दा यति टाढाको क्षेत्र नियन्त्रित गर्नु निकै महँगो सावित भइरहेको थियो । सधैँ समस्याले ग्रस्त भइरहने यी टाढाका क्षेत्रभन्दा उनका लागि नजिकका युरोपेली क्षेत्र कब्जा जमाउनु नै श्रेयस्कर लागेको हुन सक्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा सेन्ट डोमिग्वामा दास सेनाबाट उनको हारले उनलाई अप्ठेरोमा पारेको थियो । यस्तोमा नेपोलियनले आफ्ना सारा संशाधन फ्रान्सकै नजिकका क्षेत्रमा केन्द्रित गर्ने अभियानमा खर्च गर्न उचित ठाने ।’

यसरी सन् १८०३ अप्रिल ३० मा अमेरिका र फ्रान्सका बीच सम्झौतामा हस्ताक्षर भयो ।

अमेरिकाले मात्र १५ मिलियन अमेरिकी डलर (अहिलेको गणनामा ३४० मिलियन अमेरिकी डलर) मा फ्रान्सलाई त्यहाँबाट धपाए । यसरी अमेरिकाले निकै थोरै रकममा आफ्नो सीमालाई दोब्बर बढाउन सफल भयो ।

बब कोर्बेटजस्ता इतिहासकार सेन्ट डोमिन्ग्वाको क्षति र त्यहाँका मच्छडले नयाँ इतिहास बनाउन मद्दत गरेको ठान्छन् । मच्छडका कारण नेपोलियनको एउटा ठूलो महत्वाकांक्षालाई समाप्त पारिदियो ।

लुजियाना किनेपछि पश्चिमतर्फको सीमा बढाउने बाटो अमेरिकालाई खुल्यो । बाटो खुलेपछि अब मेक्सिको र अमेरिकाबीच द्वन्द्वको अवस्था सिर्जना भयो । यस द्वन्द्वले अमेरिकाले टेक्सस र क्यालिफोर्नियासमेत रियो ग्रान्डेका उत्तरी भेगमा कब्जा जमायो ।

यसरी भूभाग कब्जा र विस्तार गर्दै अमेरिका संसारकै चौथो ठूलो देश बन्न पुग्यो । यसका साथै युद्धका कारण सीमावर्ती देशको संख्या कम हुन पुग्यो भने प्रशान्त महासागर र एटलान्टिक महासागर अमेरिका जोगाउने ढाल बन्न पुगे । यस कारण अमेरिका लामो समयसम्म आक्रमणहरुबाट बचिरह्यो । युद्धमा भाग नलिनु र आक्रमणबाट जोगिनु भनेको पर्याप्त विकास गर्ने अवसर पनि हो । यही अवसरलाई अमेरिकाले भरपुर उपयोग गर्‍यो र आधारभूत विकास र अर्थव्यवस्था निर्माणमा उसले समय सदुपयोग गर्न कुनै कसर छाडेन ।

त्यो बेला येल्लो फिभरको महामारीका कारण हजारौँ फ्रान्सेली सैनिकले ज्यान नगुमाएको भए, इतिहासको पाना शायद अर्कै तरिकाले लेखिन्थ्यो कि ?

इतिहासका शोधार्थी एर्विन एकेरनेक्ट भन्छन्, ‘त्यो महामारी नै इतिहासको सम्भवतः सबैभन्दा महत्वपूर्ण महामारीमध्ये एक हो ।’

प्रकाशित: २२ श्रावण २०७७ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App